प्रहरीलाई पाठ

प्रहरीलाई पाठ


babita-basnet-1

– बबिता बस्नेत

यतिबेला दाङमा भएको एउटा घटना खुब चर्चामा छ । हामीकहाँ मिडिया धेरै छन्, थरीथरीका मिडियासँगै समाचारका पनि ‘भेराइटी’ हुने नै भए । समाचारअनुसार दाङमा कार्यरत एक प्रहरी उपरीक्षक स्थानीय एक महिलासँग भेटघाटमा गएका बेला कसैले बाहिरबाट चुकुल लगाइदिए । चुकुल र ताल्चा लगाएपछि मानिसहरू जम्मा गराएर रमिता भइरहेको बेला केही प्रहरी जवान आएर ताल्चा खोले । त्यसपछि एक कान दुई कान हुँदै घटना पत्रकारका कानसम्म पुग्यो । डीएसपी र महिला कोठामा थुनिएको समाचार सार्वजनिक भएपछि प्रहरीको क्षेत्रीय कार्यालयले छानबिन समिति गठन ग¥यो । प्रहरी उपरीक्षक र ती महिलालाई ढोका थुनेर चुकुल लाउनेहरू अहिले सम्भवतः ठूलो युद्ध जितेको मानसिकतामा छन् । जिन्दगीमा निकै ठूलो महान् काम गरियो भनेर बडो गर्व गरिरहेका होलान् । यो घटनालाई लिएर रोमाञ्चकारी परिकल्पना गर्दै दाङका चोक र गल्लीमा मात्र होइन, थाहा पाउनेहरू धेरैका बीच चर्चा–परिचर्चा भइरहेको होला । डीएसपीजस्तो मान्छे, को हो को हो महिलाकहाँ किन गयो होला ? पक्कै पनि केही त हुनैपर्छ…त्यसै जान्छ र ? कति जनासँग त्यसप्रकारको सम्बन्ध हुँदो हो यसपटकचाहिँ फस्यो वा फसाएर देखाइदियौँ …त्यो महिला हेर त…अप्ठ्यारै छैन…यस्तै यस्तै चर्चा भइरहेका छन् ।

हामीलाई कसैको व्यक्तिगत जीवनमाथि यति धेरै रुचि छ कि को मान्छे कसकहाँ कतिबेला पुग्यो भन्नेसम्म हेक्का राख्छौँ । आफ्ना परिवारका सदस्य को कहाँ छन्, के गरेर फर्किए या के गरिरहेका होलान् भन्ने कुरा कम प्राथमिकतामा र अरूको दिनचर्या बढी प्राथमिकतामा पर्छ, पर्ने गरेको छ । जस–जसको चियोचर्चो गरे पनि त्यो मान्छे किन गयो होला या कुनै महिला र पुरुष किन भेटे होला, किन आँखा जुधाए होला या सँगै बसेर कुराकानी गरे होला भनेर ठम्याउने दृष्टिकोणचाहिँ प्रायः एउटै हुन्छ । हामी महिला र पुरुषका भेटलाई सीधै यौनिकताको आँखाले हेरिदिन्छौँ । महिला र पुरुषबीच अरू कुनै सम्बन्ध पनि हुन्छ भनेर सोच्नेहरूको सङ्ख्या धेरै कम छ । यदि त्यस्तो हुँदो हो त दाङको त्यो ढोकामा त्यसरी चुकुल लगाउनेहरूले एकपल्ट आफूलाई फर्किएर हेर्न सक्थे । के हो के हो भनेर कुरा काटे पनि चुकुल लगाउन जानेसम्मको धृष्टता गर्ने थिएनन् होला । किनभने कोही मान्छे कसैको घरमा जानु–नजानु, त्यहाँ गएर केही खानु–नखानु, कसैलाई सन्चो–बिसन्चो सोध्नु–नसोध्नु नितान्त व्यक्तिगत कुरा हो । कसैको कोठाभित्रका कार्य निजी हुन् । सार्वजनिक जीवनमै भएका व्यक्तिहरूका पनि आफ्ना व्यक्तिगत अधिकारहरू हुन्छन् । कसैको बेडरुम, किचन, बाथरुम या लिभिङरुममा गएर हस्तक्षेप गर्ने अधिकार कसैलाई पनि छैन । अरूको व्यक्तिगत जीवनमा दखल दिने इच्छा या चाहना कुनै पनि सभ्य मानिसलाई हुँदा पनि हुँदैन । कहिलेकाहीँ नितान्त व्यक्तिगत सम्बन्धहरूमा सोही सम्बन्ध वरिपरि घुम्ने या नजिकका मानिसहरूले चासो राखे पनि सभ्य संसारमा अर्काको व्यक्तिगत जीवनसँग खासै सरोकार राखेको पाइँदैन ।

कोसँग दोस्ती गर्ने, कोसँग नगर्ने, कोसँग सम्बन्ध राख्ने, कोसँग नराख्ने भन्ने कुरा मान्छे आफैँले निर्धारण गर्ने हो । जिन्दगीको आचारसंहिता मानिसले आफैँ बनाउने हो । सोहीअनुरूप मानिसहरूले मूल्याङ्कन पनि गरिरहेकै हुन्छन् । कसैलाई अनैतिक साबित गर्न जबर्जस्ती थुनेर तिमीहरूको यस्तै सम्बन्ध हो भन्नु आफैँमा अनैतिक कुरा हो । समाज, चरित्र र नैतिकताका नाममा कसैले जबर्जस्ती तोकिदिएको सम्बन्ध नै अन्तिम सत्य होइन, हुँदैन । सम्बन्ध भन्ने कुरा कसैले जबर्जस्ती प्रमाणित गर्न खोजेर हुने कुरा पनि होइन ।

यस घटनामा ढोकामा चुकुल लगाउनेहरूले ठूलै बहादुरी गरेझैँ ठानेका हुन सक्छन् (कसले लगाएको हो भन्ने कुरा समाचारमा आएको छैन) तर यसको असर भने धेरैलाई पर्ने प्रकारको छ । ती महिलाको परिवार, वरिपरिका मानिसहरू, सामाजिक प्रतिष्ठा, यता डीएसपीको परिवार, पेसागत परिवेश, सन्तान, नातेदारलगायत धेरैतिर । हाम्रोजस्तो समाजमा कसैलाई अनैतिक सावित गर्न चरित्रको दाग लगाइदिए पुग्छ । जुन कुरा खासै प्रमाणित गरिरहनुपर्दैन । यही घटनालाई नै हेरौँ, महिला र पुरुष दुवैले आफूहरूबीच समाजले सोचेजस्तो अन्तरङ्ग सम्बन्ध स्वीकार गरेका छैनन् । उनीहरूले होइन भन्दाभन्दै पनि हामी भनिरहेका छौँ कि तिनीहरू किन भेटे त ? जब महिला र पुरुष सँगै भेट्छन् भने अरू के हुन्छ र ? पक्कै पनि सम्बन्ध भयो । कतिपय यस्ता मुलुकहरू छन् जहाँ महिला–महिला या पुरुष–पुरुष सँगै हिँड्दा या नियमित भेट्दा शङ्का गरिन्छ । हामीकहाँ त्यो पाटो सुरु नै नभई अन्त्य भइसक्यो । लेस्वियन र गे रिलेसनसिपलाई हामीले कानुनी मान्यता नै दिइसक्यौँ । कसैले शङ्का पनि गर्दैन, गरे पनि मतलबै छैन । यस अर्थमा हामी थुप्रै विकसित मुलुकभन्दा प्रगतिशील छौँ । तर, महिला र पुरुषको मित्रतालाई भने समाजले अहिलेसम्म पनि स्वीकार गर्न सकेको छैन भन्ने कुराको उदाहरणको रूपमा दाङ घटनालाई लिन सकिन्छ ।

ल मानौँ कुनै महिला र पुरुषबीच सम्बन्ध नै भए छ रे । कसैले आफूमाथि अन्याय प¥यो भनेर उजुरी नगरी त्यस्तो सम्बन्धलाई आपराधिक क्रियाकलाप मानिँदैन । जिम्मेवार कुनै पनि नागरिकलाई आफ्नो जीवन बाँच्ने हक छ । कोसँग दोस्ती गर्ने, कोसँग नगर्ने, कोसँग सम्बन्ध राख्ने, कोसँग नराख्ने भन्ने कुरा मान्छे आफैँले निर्धारण गर्ने हो । जिन्दगीको आचारसंहिता मानिसले आफैँ बनाउने हो । सोहीअनुरूप मानिसहरूले मूल्याङ्कन पनि गरिरहेकै हुन्छन् । कसैलाई अनैतिक साबित गर्न जबर्जस्ती थुनेर तिमीहरूको यस्तै सम्बन्ध हो भन्नु आफैँमा अनैतिक कुरा हो । समाज, चरित्र र नैतिकताका नाममा कसैले जबर्जस्ती तोकिदिएको सम्बन्ध नै अन्तिम सत्य होइन, हुँदैन । सम्बन्ध भन्ने कुरा कसैले जबर्जस्ती प्रमाणित गर्न खोजेर हुने कुरा पनि होइन । यो त नितान्त व्यक्तिगत कुरा हो । उनीहरूको कस्तो सम्बन्ध थियो भन्ने कुराको जानकार सम्बन्धित व्यक्तिहरूबाहेक अरू कोही हुनै सक्दैन । त्यसैले यस्ता कुरामा उनीहरूले जे भन्छन् त्यो नै सही हो ।

यो घटनाबाट कसैलाई कुनै पाठ सिकाएको छ भने त्यो नेपाल प्रहरीलाई हुनुपर्छ । नेपाल प्रहरीले विभिन्न रेस्टुरेन्ट, रिसोर्टहरूमा छापा मारेर अर्काको व्यक्तिगत जीवनमाथि जुन रूपले हस्तक्षेप गर्दै आएको थियो र छ त्यो गलत हो । कसैले पूर्ण होस–हवासमा कसैसँग कुनै पनि प्रकारको सहमतिको सम्बन्ध राख्छ भने त्यसलाई अपराधको संज्ञा दिने अधिकार नेपाल प्रहरीलाई पनि छैन । फेरि पनि भन्ने कुराचाहिँ के हो भने कसैले पनि आफ्नो व्यक्तिगत अधिकारको प्रयोग गर्दै गर्दा कर्तव्यबाट टाढा भाग्ने काम भने गर्न हुँदैन । यदि कसैमाथि दुःख या चोट नपु¥याईकन गरिएका कुनै पनि मानिसका व्यक्तिगत सम्बन्धहरू उसका आफ्नै ‘मोरालिटी’सँग मात्रै जोडिएका हुन्छन् । फेरि दोहो¥याऊँ, जिन्दगीको आचारसंहिता मानिस आफैँले तय गर्ने हो ।