यसपटक अमेरिकामा

यसपटक अमेरिकामा


Babita 5

– बबिता बस्नेत

कुनै बेला थियो विदेश जाँदा आफू र आफ्नो टिमबाहेक वरिपरि अरू कोही हुँदैनथे । २१ वर्षअघि पहिलोपल्ट अमेरिका पुग्दा नेपाली भाषा बोल्ने मान्छे भेट्न पाए पनि हुन्थ्यो जस्तो लागेको थियो । खाना, भाषा सबै ‘मिस’ हुने । तर, समयक्रममा विभिन्न देशमा नेपालीको सङ्ख्या यसरी बढेको छ कि जहाँ गए पनि आफ्नो मान्छे भेट्न गाह्रो छैन । युरोप, अमेरिका मात्र होइन अफ्रिकाका विभिन्न मुलुकमा समेत नेपालीको बसोबास भए पनि कुन देशमा कति नेपाली छन् भन्ने निश्चित तथ्याङ्क पाउन भने गाह्रो छ । नेपाली राजदूतावास नभएका ठाउँमा कुरै भएन, भएका ठाउँमा पनि नेपाली अभिलेखबद्ध छैनन् । अमेरिकामा मात्र अहिले करिब पाँच लाख नेपाली भएको अनुमान गरिएको छ । जसमा दुई लाखजति विद्यार्थी छन भने अरू विभिन्न पेसा–व्यवसाय गरेर बसेका छन् । कुनै बेला नेपालीजस्तो अनुहार सडकमा देख्दा उत्साहित भइने अमेरिकाका विभिन्न सहरमा अहिले बाटोमा हिँड्दै गर्दा कसैले नामै लिएर बोलायो भने आश्चार्य मान्नुपर्दैन । सबैभन्दा बढी नेपालीको सङ्ख्या टेक्ससमा भएको अनुमान गरिएको छ, त्यसपछि न्युयोर्कमा । तर, अमेरिकामा बस्ने सबै नेपालीको सङ्ख्या कति छ भनेर ठ्याक्कै भन्न सक्ने कुनै संयन्त्र छैन । नेपाली राजदूतावासको वेबसाइटमा ‘रजिस्टर योरसेल्फ’ भनी राखिएको छ, जहाँ ज्यादै कमले आफ्नो नाम दर्ता गर्ने गरेका छन् । शङ्कर शर्मा राजदूत हुँदा नेपालीको दर्ता अनिवार्य गर्न कोसिस गर्नुभएको, तर त्यसपछि त्यो त्यसै सेलाएको भनी भेटघाटका क्रममा साथीहरूले बताए ।

सन् १९९४ मा ६ हप्ताका लागि पहिलोपल्ट न्युयोर्क पुग्दा निसास्सिएको महसुस भएको थियो । विकासशील राष्ट्रका पत्रकारका लागि संयुक्त राष्ट्रसङ्घको मुख्यालयमा भएको एड्भान्स पत्रकारिताको तालिमका क्रममा त्यहाँ पुग्दा ‘होम सिक’ भएपछि साथीहरूले न्युयोर्कस्थित नेपाली मिसन जान सुझाएका थिए । त्यतिबेला आफू पत्रकार भएको र तालिमका लागि न्युयोर्क आएको भनेपछि न्युयोर्क मिसनका तात्कालीन मिसन प्रमुख डा. जयराज आचार्यले तपार्इं पत्रकार भएको के प्रमाण छ, देखाउनुस् त ? भन्दा आँखाबाट बरर्र आँसु झरेको थियो । बुझ्दै जाँदा डा. आचार्य राम्रै मान्छे हुनुहँुदोरहेछ, तर खै किन उहाँले त्यसो भन्नुभयो थाहा भएन । जनताको करबाट नेपाल र नेपालीका नाममा जागिर खान कूटनीतिक निकायमा पुगेकाहरूले राम्रो व्यवहार नगर्दा कस्तो हुन्छ भन्ने कुरा त्यतिबेलादेखि नै महसुस भएको हो । नेपाली हुनुको प्रमाण नै काफी छैन र ? त्यतिबेलाको आत्मविश्वास यति भन्न सक्ने प्रकारको नभएकाले म चुपचाप त्यहाँबाट फर्किएकी थिएँ ।

समयक्रममा कपाल फुल्दै जाँदा आफ्नै क्षेत्रका साथीहरू अमेरिकामा यति धेरै भए कि ‘होम सिक’ त के घर सम्झने फुर्सद पनि मिल्दैन । पत्रकारिता गरेर के पाउनुभयो ? अन्तर्वार्ताका क्रममा कहिलेकाहीँ सोधिने यो प्रश्नको जवाफमा भन्ने गर्थें– नाम र पहिचान । तर, मुलुककै विभिन्न जिल्ला र विदेश भ्रमणका क्रममा पाउने गरेको व्यवहारबाट सो प्रश्नको जवाफमा सम्मान र आफ्नोपन पनि थप्न मन लागेको छ । अगस्ट १५, २०१६ देखि सेप्टेम्बर १ सम्मको यसपटकको अमेरिका भ्रमण यस्तै आफ्नोपनले भरिएको थियो । न्युयोर्कमा कन्सुलेट जनरल कृसु क्षेत्री, साहित्यकार गीता पन्थ, पत्रकारहरू दिवाकर बागचन्द, मच्छे गुरुङ, कल्पना घिमिरे, सच्ची मैनालीले नभेटी कसरी जाने ? भनी देखाएको आत्मीयता बिर्सन नपाउँदै वासिङ्टनडीसीमा पत्रकारहरू गुणराज लुइँटेल, विजय थापा, शारदा सिलवाल, गिरिश गिरी, विष्णु शीतल, रामप्रसाद खनाललगायतको आफ्नोपनले भरिएको भेट र फोनवार्ता । दिवाकर बागचन्दले त ज्याक्सन हाइटस्थित नेपाली रेस्टुरेन्ट मालिङ्गोमा ‘मेरी दिदीको सम्मानमा’ भनी लगातार गीत अफर गरेर अपरिचत त्यो बिरानो जमातमा को मान्छे रहेछ यस्तो भनेर पङ्क्तिकारप्रति जिज्ञासा नै जगाइदिए । यता वासिङ्टननजिक रहनुहुने पूर्वमन्त्री दिदी डा. दुर्गा पोखरेल, भाउजू विनिता बस्नेत, क्यालिफोर्नियाबाट सञ्चारकर्मी बैनी डोल्मा लामा र साथी मनोहरा थापा, टेक्सासमा रहने भावना पाण्डे विष्ट र दिदी सीता कोइरालाको मायाले भरिएको निमन्त्रणा । बस्टनमा रहेका बेला भीमप्रकाश ओलीको सम्मानजनक सन्देश । न्युयोर्कमा आदरपूर्वक खातिरदारी गर्ने भाइ सन्तोष बस्नेत, बुहारी निशा तथा डिसीमा दाइ सरोज खड्का र भाउजु मोतीका लागि धन्यवाद तथा आभार शब्द कम हुन्छन् । साथी लिली थापा नभएकी भए बस्टन सहर त्यति धेरै उज्यालो हुने थिएन । एक्लै बस्दा पनि मुस्कुराइरहुँजस्तो लाग्ने दिदी सुशीला थापा र छोरी रियाँगको घुमघाम त्यत्तिकै अविष्मरणीय रह्यो ।

नितान्त व्यक्तिगत भ्रमणलाई व्यावसायिकझैँ बनाइदिए पत्रकार साथी गुणराज लुइँटेल र भाइ विजय थापाले । समकालीन गुणराज अहिले वासिङ्टनमा सरकारी जागिरे छन् । उनीसँग बसेर पत्रकारिताका सुरुवाती दिनहरूको कुरा गर्दा विगतको सङ्घर्ष झल्झली आँखावरिपरि घुमिरह्यो । इनेप्लिज डटकम सम्बद्ध विजय थापा यस्ता नमुना व्यक्ति हुन् जो नेपालीमा बोल्दा एउटा पनि अङ्ग्रेजी शब्द मिसाउँदैनन् । हिजोआज झर्रो नेपालीमा मात्रै संवाद गर्ने त के लेख्ने पनि मानिसहरू कमै पाइन्छन् । कुराकानीका क्रममै विजयले भने– ‘लेख्दा–लेख्दै कुनै शब्दमा दोधार भयो भने मुहारचित्रमा सन्देश पठाउनुहोला, म बताइहाल्छु ।’ सञ्चारिका समूहकी पूर्व केन्द्रीय सदस्य शारदा सिलवालको आफ्नै संसार छ । प्राविधिक विषयको पढाइसँगै उनी आफू काम गर्ने मात्र होइन कति नेपालीलाई काममा समेत लगाइदिन्छिन् । उनीसँगको विश्वको आश्चर्यजनक स्थलमध्येको एक लुरे गुफाको यात्रा अविष्मरणीय रह्यो ।

रोजीरोटीका लागि गरिने ड्युटी भ्याएर अमेरिकाका नेपाली पत्रकारहरू विश्वभरि छरिएर रहेका नेपालीलाई त्यहाँ भएका गतिविधिबारे सुसूचित गरिरहेका छन् । नेपाल अमेरिका पत्रकार सङ्घमा आबद्ध मात्रै एक सय ६० जना पत्रकार अमेरिकामा छन् । पत्रकारलाई संस्थामार्फत एकजुट बनाउने अवधारणा सन् २००१ मै गिरीष पोखरेलले ल्याएका थिए । अहिले धेरै साथीले यसको नेतृत्व लिइसकेका छन । वरिष्ठ पत्रकार दाइ हरिहर विरही पनि छोरासँगको भेटघाटको क्रममा अमेरिका पुग्नुभएको रहेछ । ‘हरिहर दाइ पनि आउनुभएको रहेछ, उहाँ पनि भोलि नै जाने रे, नेजाले अन्तक्र्रिया गर्छ, दुई दिन थप बस्न मिल्छ कि ?’ पत्रकार विष्णु शीतलजीको आग्रहलाई आत्मसात् गर्न नसकेकोमा दुःख छ । जेहोस्, अमेरिकामा पत्रकारहरू कामको दुःख र पैसाको सुखसँगै गुमनाम हुनुपरेको छैन । इन्टरनेटले उनीहरूको कामलाई विश्वव्यापी बनाइदिएको छ । गत वर्ष न्युयोर्कमा पत्रकार आङछिरिङ शेर्पाले भनेको सम्झन्छु, ‘जहाँ बसे पनि सूचनाको संसारलाई छोड्न सकिएन, आत्मसन्तुष्टि र अस्तित्वको लडाइँ जारी छ दिदी ।’

Teej us