युवाहरूबाट के अपेक्षा गर्ने ?

युवाहरूबाट के अपेक्षा गर्ने ?


Babita 5

– बबिता बस्नेत

युवाहरूले मुक्काको होइन भिजनको राजनीति गर्नुपर्छ । अहिले एउटा सङ्गठन चलाउन तँ–तँ र म–म गर्नेले भोलि देश कसरी चलाउने ?

सांस्कृतिक मात्र होइन राजनीतिक रूपले पनि राजधानीमा थरीथरीका जात्रा हुने गर्छन् । सबैभन्दा बढी जात्रा त राजनीतिक या राजनीतिक प्रकार नै हुने गर्छन् । यसपटकको आश्चर्यजनक जात्रा नेपाल विद्यार्थी सङ्घका युवाहरूले गरेका छन् । नेविसङ्घ नेपालको सबैभन्दा ठूलो प्रजातान्त्रिक दल नेपाली काङ्ग्रेससम्बद्ध भ्रातृ सङ्गठन हो । प्रजातान्त्रिक पार्टीको भ्रातृ सङ्गठन हुनुको अर्थमा प्रजातान्त्रिक मूल्य–मान्यताहरूको बाटोमा हिँड्नु यस्ता सङ्गठनहरूको कर्तव्य हुन्छ । आफू मात्र नभई अरूलाई समेत प्रजातान्त्रिक मूल्य–मान्यताहरू सिकाउनुपर्ने हुनाले नेपाली काङ्ग्रेससम्बद्ध भ्रातृ सङ्गठनहरूले गर्ने व्यवहार र अभ्यास फरक हुनु आवश्यक हुन्छ । त्यसमा पनि युवाहरूले दिने भिजन र गर्ने कामले अरूले भन्दा फरक पार्छ । नेपालको राजनीतिमा भिजनबिनाका नेताहरूको बाहुल्य भयो भनेर जनता निराश भइरहेका बेला युवाबाट गर्ने या गरिएको अपेक्षा ठूलो छ । तर, त्यस्तो अपेक्षालाई नेविसङ्घको महाधिवेशनका क्रममा भएको जात्राले ठूलै निराशामा परिणत गरिदिएको छ । यति लामो समयसम्म ठूलो दलको विद्यार्थी सङ्गठनको चुनाव नहुनु आफैँमा आश्चर्यलाग्दो विषय थियो ।

प्रजातन्त्रलाई आत्मसात् गर्नेहरूका लागि निर्वाचन सबैभन्दा महत्त्वपूर्ण कुरा हो । विगतमा नेपाली काङ्ग्रेसका भ्रातृ सङ्गठनका निर्वाचन हुन नसक्नुमा कोइरालाहरूलाई दोष दिइन्थ्यो । स्व. गिरिजाप्रसाद कोइराला हुँदै सुशील कोइरालासम्मलाई निरङ्कुशको आरोप लगाउँदै भ्रातृ सङ्गठनहरूको निर्वाचन नहुनुमा प्रमुख दोषीका रूपमा चित्रित गरिन्थ्यो । यसरी चित्रण गर्नेमा बाहिरको अरू कोही नभएर आफ्नै दलका नेताहरू हुने गर्थे । त्यसमध्ये अग्रपङ्तिमा नेता शेरबहादुर देउवा नै हुनुहुन्थ्यो । भ्रातृ सङ्गठनका चुनावहरूलाई लिएर धेरैपटक उहाँले सार्वजनिक रूपमा कोइरालाहरूको आलोचना गर्नुभएको छ । त्यति मात्र होइन, नेपाली काङ्ग्रेसको महाधिवेशनका बेला उठाइएका चुनावी मुद्दामध्ये एउटा मुद्दा भ्रातृ सङ्गठनहरूको निर्वाचन पनि रहेको थियो ।

प्रजातन्त्र कोइरालाहरूले मुठ्ठीमा लिए भन्ने विगतको आरोप अहिले आएर झुटो साबित भएको छ । प्रजातन्त्रका लागि प्रजातान्त्रिक आचरण महत्त्वपूर्ण कुरा हो । जब प्रजातान्त्रिक अभ्यासलाई प्रवद्र्धन गर्नुपर्ने दलकै भ्रातृ सङ्गठनहरूले लाठी–मुङ्ग्रीको सहारा लिन्छन् भने अरूले परबाट राम राम भन्नुको विकल्प रहँदैन । प्रत्येक तीन वर्षमा हुनुपर्ने नेविसङ्घको निर्वाचन तीनवटा निर्वाचन गर्ने बेला बितिसकेर गर्न लाग्दा पनि जुन प्रकारको अभ्यास देखियो यसले प्रजातन्त्रवादीहरूलाई लज्जित बनाएको छ । यसमा दुईवटा पक्षलाई दोषी मान्नुपर्ने हुन्छ । एउटा नेतृत्व र अर्को युवाहरू स्वयम् । कुनै पनि सङ्घसंस्था या दलको नेतृत्व लिनु भनेको निकै उत्तरदायी कुरा हो । जे पनि हुन्छ–हुन्छ भनेर नेतृत्वको कर्तव्य पूरा हँुदैन । हाम्रो राजनीतिमा नहुने कुरालाई पनि हुन्छ–हुन्छ भन्ने चलन छ । जे पनि हुन्छ, भइहाल्छ नि भनिदिँदाको परिणाम कहिलेकाहीँ त राम्रै होला, तर धेरैजसो दु:खद् नै हुने गरेका अनेक उदाहरण छन् । नेपाली काङ्ग्रेसको महाधिवेशनताका यही ‘हुन्छ…हुन्छ…भइहाल्छ नि…’ भन्नुको परिणाम नेता देउवा अहिले भोगिरहनुभएको छ । उहाँले अहिलेसम्म कार्यसमितिलाई पूर्णता दिन सक्नुभएको छैन । चुनाव हारेका केही नेताबाहेक अरू कसलाई राख्ने कसलाई नराख्नेको दोधारमा निकै समय खर्च भइसकेको छ । आफूले पूरा गर्न सक्ने वचन मात्रै दिनुभएको भए अहिले यस्तो अवस्था आउने थिएन ।

महाधिवेशनपछि नेपाली काङ्ग्रेसले तीव्र गति लिने अनुमान गरिएको थियो । तर, अहिलेसम्म कार्यसमितिले नै पूर्णता नपाउँदा त्यसको दोष पनि नेतृत्वमै जान्छ । नेतृत्वमा भएपछि निर्णयहरू समयमै गर्न सक्नुपर्छ । कहिलेकाहीँ त्यस्ता निर्णयहरू अलोकप्रिय पनि हुन सक्छन् । तर, तिनलाई पुन सम्हाल्दै जानु पनि नेतृत्वकै दायित्व हो । कार्यसमिति मात्र होइन मन्त्रिमण्डलको विस्तारमा पनि काङ्ग्रेसकै तर्फबाट ढिला भयो भनेर प्रधानमन्त्रीले राष्ट्रपतिसम्म जाहेर गर्नुपर्ने अवस्था आयो । पार्टीका सबै नेतालाई मन्त्री बनाउन निश्चय नै सम्भव छैन, तर लाभहानिको बेवास्ता गर्दै एउटा निश्चित आधार बनाएर मन्त्री सिफारिस गर्न यति समय लाउनुपर्ने थिएन । नेविसङ्घको सवालमा पनि सम्बन्धित उम्मेदवारहरूलाई बोलाएर सही निर्देशन दिनुपथ्र्यो न कि कसैलाई काखा र कसैलाई पाखा । हो, उम्मेदवारहरूले एउटा–एउटा नेता पक्रिएका हुन्छन्, तर जितहार जे भए पनि दाजु जय नेपाल भन्दै आउने त फेरि उनीहरू नै हुन् । अरू कुनै दलका युवा आउने होइनन् न त ती युवाहरू नै अन्य दलका नेताहरूसँग सरसल्लाह गर्न पुग्छन् । मिलाएर गर्न सक्यो भने नेविसङ्घ मात्र होइन काङ्ग्रेसका भ्रातृ सङ्गठनहरूको संसार त्यति ठूलो या सम्हाल्नै नसकिने पनि छैन । एक–अर्कालाई उकासेर भिडाउनेभन्दा पनि सही बाटो देखाउने नेतृत्व भए सकारात्मक बाटोबाटै सबै सङ्गठनका नेतृत्व चयनहरू सम्भव छन् । न त राम्रो गर्नेलाई पुरस्कार न नराम्रो गर्नेलाई सजाय भएपछि बेलगाम हुन्छ सङ्गठन । नेपाली काङ्ग्रेसमा अहिले त्यही भएको छ ।

अब युवा आफैँले गर्नुपर्ने कुरातर्फ लागौँ, नेविसङ्घको अधिवेशनमा युवाहरूको झम्टाझम्टीलाई हेर्दा यस्तो लाग्थ्यो मानौँ यो विद्यार्थीहरूको नभएर मुक्केबाजहरूको सङ्गठन हो । जहाँ जसले जे गरे पनि, जे बोले पनि कुनै आचारसंहिता लाग्दैन । मान्छेले कतिपय अवस्थामा आफ्नो जीवनको आचारसंहिता आफैँले निर्धारण गर्नुपर्छ । कहाँ के बोल्ने, कोसँग कस्तो व्यवहार गर्ने, सार्वजनिक स्थानमा कसरी प्रस्तुत हुने ? अझ नेविसङ्घजस्तो सङ्गठनका युवाहरूले त प्रजातान्त्रिक मूल्य–मान्यताहरू स्थापित गर्न सोच्नुपर्ने धेरै कुरा छन् । जुनसुकै राजनीतिक दलसम्बद्ध भए पनि यिनै युवाहरू भविष्यका नेतृत्व तहमा पुग्ने व्यक्ति हुन् । अहिलेको निराश राजनीतिलाई ओजनदार बनाउन युवाहरूसँग मानिसले ठूलो अपेक्षा गरेका छन् । तर, यो अपेक्षामाथि नेविसङ्घको अधिवेशनले तुषरापात गरिदिएको छ । आफूभन्दा ठूलाका राम्रा कुराको सम्मान गर्दै सानालाई सिकाउनु युवाको कर्तव्यमध्येको एक हो । यहाँ त ठूलालाई बेइज्जत गर्ने र सानालाई मिचमाच पार्ने प्रवृत्ति स्थापित हुँदै गएको छ । युवाहरूले मुक्काको होइन भिजनको राजनीति गर्नुपर्छ । अहिले एउटा सङ्गठन चलाउन तँ–तँ र म–म गर्नेले भोलि देश कसरी चलाउने ?