ईश्वरमा त्यस्तो के खराबी छ ?

ईश्वरमा त्यस्तो के खराबी छ ?


babita basnet 15

– बबिता बस्नेत

आफूलाई आस्तिक भन्नेहरू धेरैले जीवनको अन्तिम अवस्थामा ईश्वर नै पुकारेको देखिन्छ । महात्मा गान्धीको सहमतिमा भारत धर्मनिरपेक्ष भयो । तर, नाथुराम गोड्सेको गोली लागेपछि उहाँको मुखबाट यति नै शब्द निस्कियो, हे राम !

दश वर्ष युद्ध र दश वर्ष शान्तिप्रक्रिया, यो २० वर्षको बीचमा अन्य धेरै मानिसजस्तै माओवादी अध्यक्ष तथा प्रधानमन्त्री प्रचण्डको जीवनमा सधैँ खुसियाली छाएन होला । राजनीतिक र व्यक्तिगत जीवनयात्राका क्रममा कति दु:खहरू भए होला, थाक्नुभयो होला… कतिपटक उफ गर्दै ईश्वरलाई सम्झिनु भो होला । प्राय: जिन्दगीका अप्ठ्यारा भोगाइहरूमा मानिसले अनायासै ईश्वरलाई सम्झने गर्छन् । त्यस्तो बेलामा उहाँले पनि हे भगवान् ! या हे ईश्वर ! भन्ने शब्द मुखबाट पक्कै निकाल्नुभयो होला ।

तर, जीवनका अप्ठ्यारा समयमा लिइएको ईश्वरको नाम उहाँले आफ्नो जीवनकालको सबैभन्दा उत्कृष्ट समयमा भने लिन चाहनुभएन । यो मुलुकको दोस्रोपल्ट प्रधानमन्त्री भएपछि शपथ लिँदा उहाँले ईश्वर भन्ने शब्द उच्चारण गर्नुभएन । ईश्वरको नाम नलिँदा उहाँले आफूलाई क्रान्तिकारी, प्रगतिशील वा के ठान्नुभो थाहा भएन, तर सर्वसाधारणको मनमा भने ईश्वरको नाम लिन उहाँ किन हिच्किचाउनुभो ? ईश्वरमा त्यस्तो के खराबी छ ? भन्ने प्रश्न जन्मियो । ईश्वरको नामलाई पन्छाउनुका साथै उहाँले आफ्नो ‘नोमिनेसन फर्म’मा आमाको नाम पनि लेख्नुभएन । आमाको नाम नलेख्नुमा धेरै शङ्का नगरौँ, सधैँ बाबुको मात्र नाम लेखिरहने बानीका कारण ‘ओभर लुक’ भएको हुनसक्छ । तर, मानिस जहाँ पुगे पनि, जति ठूलो भए पनि, जुनसुकै उचाइमा पुगे पनि दु:ख पर्दा सम्झनेचाहिँ आमालाई नै हो । आमा साथमा भए पनि नभए पनि सामान्य ठेस लाग्दा पनि हामी सबैको मुखबाट ‘आमा’ शब्द नै निस्कन्छ । ‘ईश्वर’ र ‘आमा’ शायद हरेक मानिसको मनबाट दु:ख र सुखमा समान रूपमा पुकारिने शब्द हुन् । जीवनमा सफलता प्राप्त गर्दा पनि मानिसले सबैभन्दा पहिला लिने नाम ईश्वर नै हो । यसरी मानिसले दु:खसुखमा विश्वास गर्ने ‘ईश्वर’को नाम लिन प्रधानमन्त्री किन हिचकिचाउनुभो ?

ईश्वर अर्थात् भगवान् भन्नेबित्तिकै उहाँले शायद कुनै मन्दिरमा पुजिने भगवान् सम्झिनुभो, त्यसैले क्रिश्चियनहरू रिसाउलान् भनेर सो शब्द उच्चारण गर्नुभएन भन्ने अर्थ निकाल्नेहरू पनि भेटिए । तर, नेपालीमा भगवान् र ईश्वर तथा अङ्ग्रेजीमा ‘गड’ शब्द विश्वभरिका मानवजातिले पुकार्छन् । नाम फरक होलान्, तर भगवान्सँंग टाढा बस्ने या बस्न चाहने मानिस सायदै होलान् । विश्व शक्तिराष्ट्र अमेरिकाको पैसामै लेखिएको छ, ‘वि ट्रस्ट इन गड’ यसको अर्थ हुन्छ, ‘हामी भगवान्मा विश्वास गर्छौं ।’ राष्ट्रप्रमुख र सरकारप्रमुखहरूको शपथमा ‘ईश्वर’ शब्द उल्लेख हुने नेपाल मात्र होइन, विश्वका अधिकांश मुलुकमा शपथ लिँदा ईश्वर शब्द उच्चारण गरिन्छ । राजसंस्था भएका मुलुकमा प्राय: ‘राजा या राजसंस्था, संविधान र ईश्वरप्रति’ भनिएको हुन्छ । विभिन्न विकसित–अविकसित मुलुक जे–जस्ता भए पनि शपथको अन्त्यमा धेरैले ‘हेल्प मि गड’ अर्थात् ‘मलाई सहयोग गर्नुुस् भगवान्’ भनी उल्लेख गरिएको हुन्छ । छिमेकी मुलुक भारतमा पनि ईश्वरका नाममै शपथ खाइन्छ । इस्लामिक मुलुकहरूले कुरानलाई साक्षी राखेर या ‘आई स्वेर बाइ अल्लाह’ भन्ने उल्लेख गरेका हुन्छन् । जसले जे नाम दिए पनि पुकारिएको त ईश्वरलाई नै हो ।

राज्यका उत्तरदायी ओहोदामा बस्नेहरूलाई शपथ खुवाउने चलन अमेरिकाले बसाएको हो । गृहयुद्धपछिको अमेरिकामा तात्कालीन राष्ट्रपति अब्राहम लिङ्कनले सङ्घीय राज्यहरूलाई एकताबद्ध गर्न पदाधिकारीहरूलाई एकै खालको शपथ खुवाउने अवधारणा ल्याएका थिए । पछि बिस्तारै–बिस्तारै शपथको चलन विश्वव्यापी हुँदै गयो । अन्य मुलुकमा जस्तै नेपालमा पनि समारोहकै आयोजना गरेर शपथ ग्रहण गरिन्छ, तर राष्ट्रका महत्त्वपूर्ण पदमा बस्नेहरूका शपथग्रहणहरू बेलाबेलामा विवादास्पद हुने गरेका छन् । कोही राष्ट्रिय पोसाक नलाएर विवादमा आए, कोही ईश्वरको नाम नभनेर । यो संसारमा ईश्वरको अस्तित्व छ कि छैन ? अहिलेसम्म कसैले पत्ता लगाउन सकेको छैन । ईश्वर भन्ने चिज पत्ता लगाउने या छाम्दा भेटिनेभन्दा पनि अनुभूति गर्ने कुरा हो ।

त्यसो त यत्तिका मन्दिर, मस्जिद, चर्चहरू भौतिक रूपमा खडा भएका छन्, तथापि ईश्वर भन्ने कुरा भौतिक नभएर आध्यात्मिक हो भन्न सकिन्छ । ईश्वरसँगको मानवीय सम्बन्ध शारीरिक नभएर आत्मिक हो । ईश्वर आत्मासँग सम्बन्धित भएकाले मानिस ईश्वरलाई पुकार्दा आत्माबाटै शान्तिको अनुभूति गर्छन् । जतिबेला यो संसारमा कानुन भन्ने थिएन, ईश्वरकै नाममा मानिस बाँधिए । हाम्रै सन्दर्भमा पनि हत्या गर्नु पाप हो देखि लिएर धेरै कुराहरू जोडिएका छन् । त्यतिबेला हत्यारालाई २० वर्ष सजाय या यस्तै कानुनी कुरा थिएन । पाप लाग्छ भनेर नै मानिस नराम्रा काम गर्नबाट रोकिन्थे । ठूलादेखि ससाना कुरासम्म पाप–धर्मसँग जोडिएका थिए, छन् । किताब कुल्चियौँ भने हामी हतारहतार ढोग्छौँ, किन ? किताब टेक्नुहुन्न, टेक्यो भने पाप लाग्छ भनेर हामीलाई सानैमा अभिभावकहरूले भने । किताबको अर्थ ज्ञान, किताब नटेक्नुको अर्थ ज्ञानलाई सम्मान गर भनिएको हो । यस्ता धेरै कुरा छन् जुन पहिला पाप–धर्मका हिसाबले हेरियो, अहिले त्यही कुरा कानुन बन्यो ।

ईश्वरको अस्तित्व धर्मसँग जोडिएको छ । कतिपय अवस्थामा सही या सत्य कुरा भन्नुपर्‍यो भने मनमा धर्म राखेर कुरा गर है या ईश्वरको ख्याल गर है भन्ने गरिन्छ । यसको अर्थ धर्म भन्ने कुरा सत्य र इमानदारीसँग जोडिएको छ । कसैले धर्म या ईश्वर मान्दिनँ भन्नुको अर्थ कि त ढोंग हो कि त ती मानिस सत्यसँग डराउँछन् । इमानदार मानिस कहिल्यै पनि धर्मसँग टाढा हँुदैन, चाहे जुनसुकै धर्मका हुन् । धर्मका नाममा अपराध गर्नेहरूको सङ्ख्या पनि यहाँ धेरै छ । उनीहरू आत्मासँग होइन भौतिक बनावटी मूर्तिहरू अगाडि देखाएर धर्मको आडमा व्यापार गर्छन् । आत्मा, सत्य र इमानदारीसँग उनीहरूको कुनै सम्बन्ध हुँदैन । भगवान्का रूपमा हामी शक्तिको पूजा गर्छौं, मठ–मन्दिर जान्छौँ, आस्थाका कारण गरिने पूजामा खराबी छैन ।

आत्मसन्तुष्टिका लागि या आफ्नो व्यक्तिगत खुसीका लागि आफूलाई लागेको काम गर्न प्रजातान्त्रिक मुलुकमा सबै मानिस स्वतन्त्र छन् । कसैलाई दु:ख नदिई सुखको अनुभूति गर्ने अधिकार सबैलाई छ । यस अर्थमा प्रधानमन्त्री पुष्पकमल दाहालको शपथग्रहणका सवालमा पनि उहाँको नितान्त व्यक्तिगत आत्मसन्तुष्टि भन्न सकिन्थ्यो होला, तर उहाँले प्रधानमन्त्रीका रूपमा परम्परा उल्लङ्घन गर्नुभएकाले यो फरक प्रसङ्ग बन्न पुगेको हो । धर्मनिरपेक्षताको अर्थ ईश्वरको नाम नै उच्चारण नगर्नु होइन । आफूलाई आस्तिक भन्नेहरू धेरैले जीवनको अन्तिम अवस्थामा ईश्वर नै पुकारेको देखिन्छ । महात्मा गान्धीको सहमतिमा भारत धर्मनिरपेक्ष भयो । तर, नाथुराम गोड्सेको गोली लागेपछि उहाँको मुखबाट यति नै शब्द निस्कियो, हे राम ! त्यसैले हाम्रो देशका महान् क्रान्तिकारी भन्नेहरूले पनि भगवान् शब्दसँग डराउनुपर्ने त्यस्तो केही देखिँदैन ।