नाचघरका संगीतकार पनि नक्कलीमा मुछिए !

नाचघरका संगीतकार पनि नक्कलीमा मुछिए !


(राष्ट्रिय नाचघर)

नक्कली शैक्षिक प्रमाणपत्रको आधारमा चिकित्सक बनेर नागरिकको जीवनमाथि खेलबाड गर्ने तथाकथित चिकित्सकहरूलाई अपराध अनुसन्धान ब्युरो (नेपाल प्रहरी)ले नङ्ग्याइरहेकै बेला ‘हामी नदीका दुई किनारा हाम्रो संगम असम्भव छ, तापनि मिलनको आशमा जीवन गुमाउन मञ्जुर छ…’ भन्दै प्रेम–विरहको गीत गाएर उहिल्यै चर्चामा आएका गायक सुदेशराज शर्मा अख्तियारको फन्दामा परेका छन् । हाल सांस्कृतिक संस्थान (राष्ट्रिय नाचघर)का वरिष्ठ सङ्गीत प्रबन्धकको जिम्मेवारीमा रहेका शर्माले नियुक्ति प्रयोजनका लागि पेस गरेको शैक्षिक योग्यताको प्रमाणपत्र नक्कली देखिएकाले अख्तियार दुरुपयोग अनुसन्धान आयोगले विशेष अदालतमा मुद्दा दायर गरेको हो ।

आयोगका अनुसार वरिष्ठ सङ्गीत प्रबन्धक शर्माले शुरुको नियुक्ति प्रयोजनका लागि पेस गरेको बिहार इन्टरमिडियट एजुकेसन काउन्सिल भारतबाट सन् १९८७ मा प्रवीणता प्रमाणपत्र तह उत्तीर्ण गरेको भनी पेस गरेको शैक्षिक योग्यताको प्रमाणपत्र नक्कली रहेको पाइएको छ । यसरी नक्कली शैक्षिक योग्यताको प्रमाणपत्र पेस गरी वर्षौंदेखि सरकारी जागिर खाएका शर्माविरुद्ध हदैसम्मको कारबाहीको माग गरिएको छ । स्मरणीय छ, सुप्रसिद्ध सङ्गीतकर्मी चन्द्रराज शर्मा सुदेशराजका पिता हुन् ।