पुन: बौरिँदै एकल विश्व काव्य यात्रा

पुन: बौरिँदै एकल विश्व काव्य यात्रा


8 Poet_Lyricist_BKC

गत वर्ष केही सिथिल रहे पनि उदियमान रोमान्टिक कवि/गीतकार वसन्त चौधरी पुन: एकल विश्व काव्य यात्रालाई निरन्तरता दिन जुर्मुराएका छन् । विनाशकारी महाभूकम्पले निम्त्याएका समस्यासँग जुझ्दै र तिनका पीडामा मल्हम लगाउँदा–लगाउँदै गर्दा आफ्नै पिताको स्वास्थ्य बिग्रिन थालेका कारण उनको साहित्य सिर्जना र प्रस्तुतिमा ह्रास आएको थियो । पाँच महिनापूर्व वसन्तका पिता लिूनकरणदासको निधनपश्चात् त सिर्जनात्मक दृष्टिले साँच्चै उनी सिथिल देखिन पुगेका थिए । तर, यस वर्ष कवि वसन्तका सिर्जनधर्मितामा थप बहार आउने अपेक्षा गरिएको छ । नेपाली भाषा, साहित्य र संस्कृतिलाई प्रथमत: प्रवासी नेपालीबीच जीवन्त राख्दै विश्वमाझ समेत परिचित गराउने उनको अभिप्रायले थप सार्थकता पाउने अनुभूति गराएको छ ।

यस सिलसिलामा यही असार १० गते शुक्रबार अष्ट्रेलियाको सिड्नीमा १० जना अष्ट्रेलियन कविसँग वसन्तले अन्तरक्रिया गर्नेछन् । आफ्ना रचनाहरूमध्ये अङ्ग्रेजीमा अनुदित केहिलाई लिएर अङ्ग्रेजी भाषामै उनले अन्तरक्रिया गर्न लागेका हुन् । साथमा समसामयिक नेपाली साहित्य र संस्कृतिको विश्लेषणात्मक विवेचना गर्दै साहित्यिक अन्तरक्रियालाई बिट पार्ने योजनामा छन् कवि चौधरी ।

बताइएअनुसार कार्यक्रमको दोस्रो दिन सिड्नीस्थित साहित्यप्रेमी प्रवासी नेपालीद्वारा सञ्चालित ‘साताको साहित्य डट कम’को आयोजनामा कवि/गीतकार चौधरीको एकल विश्व काब्य यात्राको १७ औं श्रृङ्खला आयोजित हुनेछ । उक्त कार्यक्रममा स्थानीय नेपाली गायक/गायिकाहरूले चौधरीका चर्चित गीतहरू पस्कने छन् । त्यसरी नै असार १२ गते अष्ट्रेलियाको मेलवर्नस्थित थर्नब्युटी थियटरमा नेपाली सोसाइटी, ल्याङ्ग्वेज एण्ड कल्चरको आयोजनामा उनको विश्व काव्य यात्राको १८ औँ श्रृङ्खला प्रस्तुत गरिने कार्यक्रम तया भएको छ । दुवै कार्यक्रममा कवि चौधरीले आफ्ना नवीनतम् र केही चर्चित पुराना गरी डेढदर्जन काब्यिक बान्की प्रस्तुत गर्नेछन् भने मेलवर्नमा रहेकी स्मृति पोखरेलले कवि चौधरीका चर्चित गीतहरू गाउनेछिन् । सर्जक चौधरीका अनुसार आगामी साउन २२ गते शनिबार बेल्जियमको ब्रसेल्समा र आगामी सेप्टेम्बर/अक्टोबरमा रुसको मस्को तथा जर्मनीको फ्राङ्कफर्टमा उनको एकल विश्व काव्य यात्राका थप श्रृङ्खलाहरू मञ्चित हुने छन् ।