बाइकप्रेमी अनमोल

बाइकप्रेमी अनमोल


Anmol-kc

पूर्वकुमारीको प्रेम–जीवनलाई प्रमुख विषय बनाइएको चलचित्र ‘गाजलु’ गत शुक्रबारदेखि प्रदर्शनमा आएको छ । उक्त चलचित्रले उठाएको विषय र समावेश गरिएका दृश्याङ्कनप्रति ‘कुमारी घर’को आपत्ति भएको कुरा बाहिर आएकाले चलचित्र ‘गाजलु’ विवादमा परेको थियो, तर कुमारी घरसम्बद्ध पदाधिकारीले चलचित्र हेरेपछि विवाद त त्यसै थामियो नै, उल्टै गाजलु उनीहरूबाटै प्रशंसित चलचित्र बन्न पुग्यो । गाजलुले उठाएको कथावस्तुलाई कुमारी घरका सरोकारवालाले समेत स्वागत गरेपछि यस्तो माहोल खडा हुन पुगेको हो ।

गाजलु यतिबेलाका जल्दाबल्दा नायक अनमोल केसी अभिनीत चलचित्र हो । तर, पूर्वकुमारीको मुख्य भूमिकामा सन् २०१२ की मिस नेपाल सृष्टि श्रेष्ठ रहेकीले उनको पनि उत्तिकै चर्चा भएको छ । किनकि, यस चलचित्रबाट उनले नेपाली फिल्ममा ‘डेब्यु’ गरेकी हुन् । मोसन पिक्चर्सको ब्यानरमा रोहित अधिकारी निर्माता रहेको चलचित्र गाजलुका निर्देशक हेमराज बिसी हुन् भने अनमोल केसी र सृष्टिका अलावा गौरव पहाडी, सलोन बस्नेत, मेनका प्रधान, ऋतिक शाहीलगायत कलाकारको अभिनय यसमा देख्न सकिन्छ । नेपाली समाजको एउटा गम्भीर विषयवस्तुलाई उठाएको भए पनि यो रोमान्टिक प्रेमकथामा आधारित चलचित्र रहेको दाबी निर्माता पक्षको छ ।

चलचित्र गाजलु रिलिज भएसँगै बिकाउ नायकका रूपमा उदाएका अनमोलले आफ्नो पारिश्रमिक २० लाख पुगेको बताएका छन् । तत्काल निर्माण सुरु हुन लागेको ‘कृ’ नामक चलचित्रका लागि आफूले २० लाखमा एग्रिमेन्ट गरेको उनको भनाइ छ । यदि यो साँचो हो भने अनमोल नै हालसम्मका सर्वाधिक पारिश्रमिक बुझ्ने नेपाली नायक हुनेछन् । बाइकप्रेमी अनमोलले यसैबीच २३ लाख मूल्यको ‘डुकाटी’ बाइक खरिद गरेका छन् । कार फेर्न सौखिन पिता भुवनका यी प्यारा पुत्रचाहिँ बाइकमा सवार हुन रुचाउँछन् ।