शिल्पामाथि ख्यालख्यालमै आपत् !

शिल्पामाथि ख्यालख्यालमै आपत् !


shilpa

प्रेममा रहेकादेखि वैवाहिक सम्बन्ध नै गाँसिसकेका विभिन्न जोडीबीच लगालग विछोडका घटना घट्न थालेपछि यतिबेला वलिउडमा ‘ब्रेकअप’को मौसम चलेको भन्दै मजाक गर्न थालिएको छ । यस्तैमा एकताकाकी निकै चर्चित नायिका शिल्पा सेट्ठीको घरबारसमेत उजाडिन लागेको सन्दर्भले फिल्मी अखबारका पानामा ठाउँ पाउन थालेका छ । केही वर्षअघि भारतीय मूलका लन्डनवासी व्यवसायी राज कुन्द्रासँग बिहे गरेकी शिल्पाको वैवाहिक सम्बन्ध राम्रै चल्दै आएको देखिन्थ्यो । यसबीच उनले एक छोरालाईसमेत जन्म दिइसकेकी छिन् । तर, पहिलो विवाह अफापपूर्ण भएको भन्दै डिभोर्स दिएर शिल्पालाई दोस्री पत्नी बनाएका राज र शिल्पाबीच पारपाचुके हुन लागेको चर्चाले एकाएक बजार गर्माएपछि राज स्वयम् नै चकित परेका छन् । यस्तो चर्चाको पछाडि शिल्पाकै बढी बोल्ने आदत कारकतत्त्व रहेको ठहरमा उनी पुगेका छन् । राजको कुरा पत्याउने हो भने शिल्पाले आफ्ना साथी–सङ्गीहरूसँग श्रीमान्ले आफूलाई थोप्पै समय दिन छोडेको कुरा गर्न थालेपछि अखबारले डिभोर्सको गसिप उछाल्न थालेका हुन् । ठूलै कमाइ हुने एउटा महत्त्वपूर्ण बिजनेस डिलमा दुई–तीन साता २४ मा २० घन्टा व्यस्त हुनुपर्दा आफू घरमा नुहाउनबाहेक अन्य कामका लागि समय दिनै नसक्ने हालतमा परेको स्वीकार गर्दै राजले भनेका छन्, ‘यही कुरालाई उछालेर शिल्पाले अन्तर्वार्ता दिँदै हिँड्दा डिभोर्स हुन लागेको हल्ला चलेको हो ।’ हुन पनि बोल्ने र हाँस्ने मामलामा शिल्पा सेट्ठी कहलिएकै हिरोइन हुन् । तर, बढ्ता बोल्दा कहिलेकाहीँ साधारण विषयले पनि ठूलै आकार लिन सक्छ भन्ने कुराको हेक्का अब त उनलाई भयो कि ?