पृथ्वीनारायणको गाउँमा -बबिता बस्नेत

पृथ्वीनारायणको गाउँमा -बबिता बस्नेत


‘गोरखा’ राष्ट्रनिर्माता पृथ्वीनारायण शाहलाई जन्म दिने ठाउँ, पृथ्वीनारायण शाह जसले देश निर्माण गरिदिएका कारण आज हामीले नेपाली भनेर आफूलाई विश्वसामु चिनाउन सकेका छौँ । आफ्नो राष्ट्रिय पहिचानमा गर्व गर्न सकेका छौँ । पृथ्वीनारायण शाह त्यस्ता वीर र साहसी राजा हुन् जसले टुकीको उज्यालोको भरमा घरेलु हतियार प्रयोग गरेर राष्ट्र एकीकरण गरे । तिनै साहसी राजाको गाउँलाई अहिले पृथ्वीनारायण नगरपालिकाबाट गोरखा नगरपालिकामा परिणत गरिएको छ । विश्व-इतिहासमा गणतन्त्र त धेरै देशमा आयो तर नेपालका गणतन्त्रवादीले झैं अन्य मुलुकका गणतन्त्रवादीहरूले इतिहास नै मेट्न खोज्ने दुस्साहसपूर्ण कोसिस गरेनन् । विभिन्न मुलुकमा एकदमै निरङ्कुश भनेर चिनिएका तानाशाहहरूका नामबाट सडकहरू छन्, तिनीहरूका सालिक ऐतिहासिक धरोहरका रूपमा संरक्षण गरेर राखिएका छन् । तर, हाम्रो देशको गणतन्त्रमा अरूको त कुरै नगरौँ राष्ट्रनिर्मातालाई समेत अत्यन्त अपमान गरेर उहाँका सालिकहरू तोड्ने काम भयो । देश जसले बनायो उसैको बेइज्जती र अपमान गर्ने ‘महान् जनता’ शायद अन्य मुलुकमा हुँदैनन् पनि होला । त्यसो त, पृथ्वीनारायण शाहको सालिक तोडफोड गर्दा ठूलै उपलब्धि हासिल गर्‍यौँ भनेझैं गरेर केही ‘महान् जनता’ त्यस्तो कार्यमा सहभागी भए पनि ‘सर्वसाधारण जनता’लाई भने असाध्यै चित्त दुखेको हो । आफ्नो देशलाई जन्म दिने व्यक्तित्वको त्यो अपमान उनीहरूलाई ननिको लागे पनि कोही केही बोल्न सकेनन् । हुँदै-हुँदै पृथ्वीनारायण नगरपालिकाका बासिन्दा हुनुमा गर्व गर्नेहरूका सामु यस्तो दिन पनि आयो कि पृथ्वीनारायण नगरपालिकाको नाम नै परिवर्तन गरेर गोरखा नगरपालिका बनाइयो । नेकपा माओवादीका यी प्रस्ताव सरासर पारित भए पनि अहिलेसम्म पनि मानिस पृथ्वीनारायण नगरपालिका भन्नुमै गर्व गर्छन् । नगरपालिकाको बोर्ड फेरिए पनि मानिसको मनमा परेको छाप मेटिन सकेको छैन न त पृथ्वीनारायण शाहप्रतिको आदर र सम्मानमा कमी नै आएको छ । सरकारी कार्यालयका चिठी-पत्र लेख्ने ‘लेटरप्याड’देखि कार्यालयका छापहरूसम्म पनि फेरिएका छैनन् । पुरानो संरचना फेर्ने र नयाँ स्थापित गर्ने नाममा नेकपा माओवादीले केही नाम परिवर्तन गरे पनि ती कुराप्रति जनताले भित्रैबाट आत्मसात् भने गरेको पाइँदैन । यसबीचमा गोरखा दरबार र गोरखकाली मन्दिरमा पनि भइरहेको परम्परालाई हस्तक्षेप गर्ने अनेक प्रयास भए तर ती सफल हुन सकेनन् । केही मानिसले राष्ट्रनिर्माताको अपमान गरे पनि उहाँको सम्मान गर्नेको सङ्ख्या पनि त्यत्तिकै ठूलो छ त्यहाँ । पृथ्वीनारायण शाहकै पालामा गोरखा भित्रिएका कतिपय मुस्लिमहरू अहिले पनि ‘हामी गर्व गर्छौं कि हामी पृथ्वीनारायण शाहबाट झिकाइएर यहाँ आएका हौँ’ भन्दारहेछन् । पहाडी जिल्ला गोरखाका १३ गाविसमा मुस्लिमहरू छरिएर रहेका छन् ।
पृथ्वीनारायण नगरपालिकाजस्तै महेन्द्रनगर पनि गणतन्त्रको सिकार भएको नगरपालिका हो । महेन्द्रनगरको नाम परिवर्तन गरेर भीमदत्त नगरपालिका बनाए पनि मानिसहरू त्यो ठाउँलाई भीमदत्तनगर भन्न त्यति रुचाउँदैनन् । गत महिना महेन्द्रनगर जाँदा त्यहाँका बासिन्दाको भनाइ थियो- नाम मात्र परिवर्तन गरेर के गर्नु, नामले विकास रोकेको थिएन । राजा महेन्द्रलाई सबैभन्दा मन पर्ने ठाउँ भएका कारण यो ठाउँको नाम नै महेन्द्रनगर भएको थियो तर गणतन्त्र आएपछि एकाएक नाम परिवर्तन भयो तर अन्य सबै कुरा उस्तै रहे । राजा महेन्द्रको सपना सहर महेन्द्रनगरलाई भीमदत्त नगरमा परिणत गर्दाको रमाइला प्रसङ्ग पनि केही साथीले सुनाए । महेन्द्रनगरलाई भीमदत्तनगर घोषणा गर्दा नेपाल पत्रकार महासङ्घको क्षेत्रीय भेला महेन्द्रनगरमै भइरहेको रहेछ । त्यतिबेला पत्रकार महासङ्घका अध्यक्ष विष्णु निष्ठुरी हुनुहुन्थ्यो भने महासचिव महेन्द्र विष्ट, केन्द्रीय पदाधिकारीहरू सबै त्यहीँ रहेछन् । महेन्द्रनगर भीमदत्तनगर भएपछि पत्रकार तर्ीथ कोइरालाले प्रस्ताव राख्नुभएछ, ल अब आजदेखि हाम्रो नेपाल पत्रकार महासङ्घका महासचिव महेन्द्र विष्टको नाम भीमदत्त विष्ट । पत्रकार कोइरालाको कुरा
सुनेर अरू सबै हाँसे रे, महेन्द्र विष्टजीले चाहिँ के कुरा गर्नुभएको तर्ीथजीले – कहाँ हुन्छ त्यस्तो – भन्नुभयो रे । जे होस्, राष्ट्रियताको सवालमा राजा महेन्द्रको ठूलो योगदान देख्नेहरूले उहाँको नाममा त्यति एउटा सहरको नाम हुँदैमा लोकतान्त्रिक गणतन्त्रलाई कतैबाट खतरा पुग्दैन भनेर सार्वजनिक रूपमा बोल्न सकेनन् । धन्न वीरेन्द्रनगर नगरपालिका -सर्ुर्खेत) को नाम भने अहिलेसम्म फेरिएको छैन ।
कुरा गोरखाको थियो, माओवादी युद्धमा चार सय ३७ जनाले ज्यान गुमाएको गोरखा जिल्ला मुलुक शान्तिप्रक्रियामा रहँदा पनि कहिल्यै शान्तिपूर्ण हुन सकेन । कहिले शिक्षकले कुटाइ खाए, कहिले विद्यार्थीबीच झडप भयो, कहिले पत्रकारलाई धम्क्याइयो त कहिले सर्वसाधारणमाथि हमला भयो । अहिले पनि माओवादीभन्दा फरक विचार राख्ने शिक्षक करिब विस्थापित अवस्थामा सदरमुकाममा छन् । माओवादी द्वन्द्वकालमा १३०८ जना विस्थापित भएको तथ्याङ्क छ तर अहिलेको विस्थापनका बारेमा त्यति सरोकार कसैले राखेको पाइँदैन । युद्धका बेला बेपत्ता पारिएका २४ जनाका परिवार अहिले पनि हराएका ती आफन्तहरू फर्किएर आउलान् कि भनेर बाटो हेरिरहेकै छन् । द्वन्द्वपीडितका परिवार क्षतिपूर्तिका लागि धाइरहेकै छन् । शान्ति प्रक्रियालाई तलैदेखि मजबुद बनाउने उद्देश्यले सबै जिल्लामा गठन गर्नका लागि शान्ति तथा पुनरि्नर्माण मन्त्रालयबाट स्थानीय शान्ति समितिको अवधारणा लागू गरिए पनि गोरखामा अहिलेसम्म स्थानीय शान्ति समिति गठन हुन सकेको छैन । माओवादी, काङ्ग्रेस, एमाले यी तीन राजनीतिक दलहरूमा भएको मतभेदका कारण स्थानीय शान्ति समिति गठन हुन नसकेको हो । केन्द्रको राजनीतिक खिचातानीको प्रभाव जिल्लामा परेका कारण त्यस्तो भएको हो भन्ने बुझाइ स्थानीय बासिन्दाको छ । जिल्लामा घरेलु हिंसा व्याप्त छ । झुन्डिएर आत्महत्या गर्नेको सङ्ख्या दिन प्रतिदिन बढ्दो छ । हालैका दिनमा २५ दिनमा पाँचजना महिलाले आत्महत्या गरेको तथ्याङ्क जिल्ला प्रहरी कार्यालयमा छ । ती महिलाले किन आत्महत्या गरे होला – त्यस्तो असैह्य पीडा के पर्‍यो जुन उनीहरूले सहन सकेनन् र आत्महत्याको बाटो रोजे – घरेलु हिंसा, विगतको द्वन्द्व या अहिलेको अवस्था के जिम्मेवार छ यसका निम्ति – यदि उनीहरूमाथि ठूलै अन्याय भएको भए न्यायका लागि लड्ने साहस पनि उनीहरूले जुटाउन सकेनन् । कुनैबेला न्याय नपाए गोरखा जानु भनिन्थ्यो र गोरखा पुगेपछि न्याय पाइन्थ्यो पनि रे, त्यतिबेला न्यायनिसाफ दिलाउने स्थानका रूपमा रहेको चौतारो अहिले पनि त्यसको साक्षी छ । तर, गोरखाका धेरै सर्वसाधारण अहिले पनि अन्यायलाई सहेर बसिरहेकै छन् । अन्य जिल्लामा जस्तै यहाँ पनि गाउँमा कुनै प्रकारका परामर्श केन्द्रहरू छैनन्, मानिसलाई मनमा पीर परे त्यसलाई पोख्ने ठाउँ छैन । कहिलेकाहीँ अरूलाई सुनाउँदा पनि आफ्नो पीडा कम भएको महसुस हुन्छ । कम्तीमा प्रत्येक जिल्लामा पीडितहरूका निम्ति एउटा आश्रय स्थल भइदिए आत्महत्यालाई नै एक मात्र विकल्प शायद मानिने थिएन ।