अर्चनाको ‘छेस्को’ले अनाथलाई सघाउने

अर्चनाको ‘छेस्को’ले अनाथलाई सघाउने


अभिनय गरेर नभई अङ्गको चर्चा चलाएर चलचित्रमा खुट्टा टेकाउन लागेकी अर्चना पनेरूको फिल्म ‘छेस्को’ प्रदर्शनमा आएको छ । यसअघि कुनै चलचित्र ‘रिलिज’ नभए पनि ठूलै सेलिब्रेटीजत्तिकै चर्चामा आएकी अर्चनाले अभिनय गरेको यस चलचित्रलाई सुरज थापाले लेखन तथा निर्देशन गरेका हुन् । सुरज प्रधानले निर्माण गरेको छेस्कोमा राजन कार्की र करण श्रेष्ठको मुख्य भूमिका रहेको छ । पूजना प्रधान, पवित्रा आचार्य, सृष्टि सेन्चुरी, रविन वैद्यलगायत कलाकारको समेत अभिनय छ । दुर्गा विष्टको प्रस्तुति रहेको यो चलचित्रमा राम कार्कीले सङ्गीत दिएका छन् ।
chhesko
कलिवडमा चर्चा चलेअनुसार पनेरूले ‘खुलेर’ अभिनय गरेको पहिलो चलचित्र ‘जिस्म’ प्रदर्शनमा नआईकनै विवादमा आएकोले ‘छेस्को’लाई पनि चलचित्र सेन्सर बोर्डले पास गर्ने कि नगर्ने द्विविधामा परेर पास गर्न निकै समय खर्चिएको थियो । चलचित्रका वितरकसमेत रहेका नायक श्रेष्ठले अर्चनाको छविका कारण हल्ला जे–जे चले पनि छेस्को मनोरञ्जनात्मक र पूर्ण पारिवारिक कथा बोकेको चलचित्र भएको दाबी गरे । बाबु–आमाले छोराछोरीका हरेक कुरामा ध्यान दिनुपर्छ भन्ने सन्देश यसले दिएको उनको कथन छ । ‘छेस्को भन्नुको अर्थ सानो सिन्को भए पनि यो खुट्टामा बिझाउने घाउ हो, बिझाउनेलाई मात्र थाहा हुन्छ । चलचित्र हेर्नेले यस्तै महसुस गर्नेछन्,’ उनले थपे । छेस्को प्रदर्शनबाट उठेको रकममध्ये १५ प्रतिशत अनाथ बालबालिकालाई सहयोग गरिने श्रेष्ठले जानकारी दिए ।