तिर्लान् त यिनले भुवनलाई करोड ?

तिर्लान् त यिनले भुवनलाई करोड ?


ड्रिम्स फिल्म पाइरेसी (चोरी)मा संलग्न दुईजनालाई महानगरीय अपराध महाशाखाले गत साता पक्राउ गरी सार्वजनिक गरेको छ । नेपाल प्रहरीको अपराध महाशाखाले वितरक हाइलाइट्स नेपाल प्रालि र निर्माता सुपर काजोल फिल्मको उजुरीका आधारमा रुपन्देहीका विधान गुरुङ र भक्तपुरका चन्द्र लबाजुलाई पक्राउ गरेको हो । चलचित्र निर्माता र वितरक क्रमश: हाइलाइट्स र सुपर काजोलले चलचित्रको बजार व्यवस्थापनअगावै डिजिटल तथा सिडीमा चलचित्र वितरण गरिएकाले आफूहरूलाई एक करोडबराबर क्षति पुगेको दाबीसहित उजुरी दिएपछि प्रहरीले अनुसन्धान थालेको थियो । आफ्नो फिल्मको पाइरेसी भएको र एक करोड क्षतिपूर्ति भराउनुपर्ने उजुरी सदाबहार नायक भुवन केसीले प्रहरी निकायमा दर्ता गराएको सन्दर्भले गत साता निकै चर्चा पाएको थियो । पक्राउ परेका व्यक्तिबाट प्रहरीले कम्प्युटर दुई थान, मोबाइल एक थान र पेनड्राइभ एक थानसहित गुरुङ र लबाजुलाई पक्राउ गरेको हो ।
Chandra & Bidhan
नेपाल चलचित्र कलाकार सङ्घले समेत गैरकानुनी रूपमा पूरै चलचित्र पाइरेसी हुँदा निर्मातालाई ठूलो आर्थिक घाटा हुनुको साथै समग्र नेपाली चलचित्र क्षेत्रलाई समेत असर पार्ने भन्दै दोषीलाई कारबाही गर्न माग गरेको छ । यता, ‘ड्रिम्स’ पाइरेसी भएपछि तनावमा रहेका भुवनले पाइरेसीकर्ता पक्राउ गर्न सघाउने एसएसपी सवेन्द्र खनाल, विकास वोर्ड अध्यक्ष राजकुमार राई र कलाकार सङ्घका अध्यक्ष रामकेशर बोगटीलाई धन्यवाद त दिए, तर अब प्रश्न उठ्छ– के चलचित्र पाइरेसी गर्ने अवैध धन्दामा संलग्न अभियुक्तले भुवनलाई करोड रकम क्षतिपूर्ति तिर्न सक्लान् ? दोषी पक्राउ परेको तर मागेबमोजिम क्षतिपूर्ति नपाउँदा भुवनले कस्तो कदम चाल्लान् ? के भनी चित्त बुझाउलान् ?