भूकम्पपीडितलाई काम आयो ‘कान्छा निर्देशक’को फिल्म

भूकम्पपीडितलाई काम आयो ‘कान्छा निर्देशक’को फिल्म


saugat-bista

विश्वकै कान्छो निर्देशकद्वारा निर्देशित नेपाली चलचित्र भनी प्रचार गरिएको ‘लभ यु बाबा’ नामक सिनेमाको च्यारिटी शो गरिएको छ । भूकम्पपीडित नागरिकका लागि सहयोग जुटाउने उद्देश्यले दीपशिखा फाउन्डेसनले उक्त चलचित्रको च्यारिटी शो आयोजना गरेको हो । ‘एक घर एक ब्ल्याङ्केट’ भन्ने नारा नै तय गरी गत शुक्रबार साँझ सिटी सेन्टरको हलमा फिल्म प्रदर्शन गरिएको थियो । गत वर्ष गएको विनाशकारी भूकम्पले नेपालमा ठूलो धनजनको क्षति पुगेकाले भूकम्पपीडितको घाउमा केही भए पनि मल्हम लगाउने उद्देश्यले चलचित्रको च्यारिटी शो गरेको दीपशिखा फाउन्डेसनले जनाएको छ ।

सो चलचित्रका निर्देशक सौगात विष्ट हुन्, जो मात्र आठ वर्षका छन् । आफूद्वारा निर्देशित चलचित्र हेर्न नेपाली काङ्ग्रेसकी नेतृ एवम् पूर्वउपप्रधानमन्त्री सुजाता कोइराला उपस्थित भइदिएकोमा सौगात दङ्ग देखिन्थे भने प्रमुख अतिथिको रूपमा निम्त्याइएकी कोइरालाले दीपशिखा फाउन्डेसनले विश्वकै सबैभन्दा कान्छो निर्देशकद्वारा निर्देशित चलचित्रलाई दर्शकसामु देखाएर भूकम्पपीडित जनतालाई सहयोग गर्न लागेको भन्दै फाउन्डेसनलाई धन्यवाद दिइन् ।
दीपशिखा फाउन्डेसनकी अध्यक्ष दीपशिखा खड्का हुन्, जसले भूकम्प गएपछि भूकम्पपीडितलाई केही सहयोग पुर्‍याउने उद्देश्यले संस्था दर्ता गरी भूकम्पपीडित जनताको घरदैलोमा पुगेर विभिन्न सहयोग गरेकी थिइन् । आफ्नो फाउन्डेसनले दोलखा, सिन्धुपाल्चोक, गोरखालगायत जिल्लामा २५ लाखबराबरको सामान भूकम्पपीडितलाई वितरण गरेको उनको दाबी छ । भूकम्पपीडित जनताका १० जना बच्चालाई उनले नि:शुल्क पढाउँदै आएकी छिन् ।