बाँसुरीवादक विक्रमको यस्तो अठोट

बाँसुरीवादक विक्रमको यस्तो अठोट


Bikram Pacchai

सानो उमेरदेखि नै बाँसुरीवादनप्रति अभिरुचि जागेपछि उक्त सोख हुर्काउँदै अन्तत: त्यसैलाई पेसा बनाएका र यसक्रममा कैयन लोकदोहोरी तथा आधुनिक गीत एवम् स्टेज प्रोग्रामहरूमा बाँसुरीवादनको मनमोहक कला प्रस्तुत गरिसकेका प्रखर एवम् प्रतिभाशाली बाँसुरीवादक हुन्– विक्रम पछाई । ०४२ सालमा रिमुवा–७, गुल्मीमा जन्मिएका विक्रममा बाँसुरी बजाउने रहर कसरी जागृत भयो भन्ने हेक्का उनी स्वयम्लाई नभए पनि त्यतिबेला मनोरञ्जनको साधनको रूपमा रहेको रेडियो सुन्ने र गीत गुन्गुनाउने आदत भने विक्रममा बाल्यकालदेखि नै रहेको थियो । रेडियोमा बज्ने गीतमा बाँसुरीको धुन सुनेर उनी लट्ठ पर्थे । यही क्रममा आफैँले बाँसुरी बनाएर बजाउने गर्न थालेका हुन् विक्रमले ।

यसै क्रममा ०६१ मा अध्ययनको सिलसिलामा उनी राजधानी प्रवेश गरे । काठमाडौं आएपछि मात्रै उनले बुझे कि बाँसुरीवादन पनि सङ्गीतको एउटा महत्त्वपूर्ण पाटो हो र यसको गहिराइमा पुग्नका लागि प्रशिक्षणको आवश्यकता पर्दछ । अनि उनी प्रशिक्षार्थीको रूपमा प्रवेश गरे सुनकोसी कलाकेन्द्रमा । रेडियो नेपालका स्थापित बाँसुरीवादक सुशील विश्वकर्मासँग ६ महिना प्रशिक्षण लिइसकेपछि विक्रमको प्रतिभामा बेग्लै निखार आइसकेको थियो । व्यावसायिक रूपमै बाँसुरीवादन गर्न सक्ने हैसियत उनले बनाए । व्यावसायिक रूपले सुगम सङ्गीतमा बाँसुरीवादन गर्न सिकाउने रायमाझी र क्लासिकल गुरु जीवन आलेको नाम लिँदै विक्रम भन्छन्, ‘बाँसुरीवादनमा राम्रो स्कोप छ, तर बाँसुरीवादकहरूको ठूलो अभाव छ यहाँ । जे–जति धानिएको छ, त्यो पुराना कलाकारहरूकै भरमा चलेको छ ।’

Bikram

त्यसो त मिहिनेती स्वभावका युवा विक्रम काठमाडौंमा सानोतिनो फेन्सी स्टोर चलाउँछन्, तर राजधानीजस्तो महँगो सहरमा आफ्नो परिवारको जीविकोपार्जनको मूल माध्यमचाहिँ बाँसुरीवादन नै रहेको खुलासा गर्छन् । बेलुका गजल तथा दोहोरी रेस्टुरेन्टमा व्यावसायिक बाँसुरीवादकको रूपमा काम गर्दै आएका उनले पाँच सयभन्दा बढी गीतका लागि बाँसुरीधुन प्रदान गरिसकेका छन् भने विभिन्न महोत्सवहरूमा पनि उनको सहभागिता रहने गर्दछ । यति मात्र होइन, उनले ०६८ मै ‘तिम्रो नाममा’ नामको गीति एल्बमसमेत निकालिसकेका छन् । साथीहरूको आग्रहमा केही लोकदोहोरी गीतमा मोडलको भूमिकासमेत निर्वाह गरिसकेका विक्रम अझै आफू सिक्ने क्रममै रहेको बताउन हिच्किचाउँदैनन् । जीवनभर कलाकर्मी रहने बताउने उनी मूलत: बाँसुरीवादनका नयाँ–नयाँ आयाम सिक्दै, सिकाउँदै र सोख एवम् व्यावसायिक रूपले कला प्रस्तुत गर्दै अघि बढ्ने अठोट व्यक्त गर्छन् । आफ्नो बाँच्ने आधार नै बाँसुरीवादन रहेको दोहोर्‍याउँदै विक्रम भन्छन्, ‘मेरो चिनारी नै यसैले दिलाएको छ, यसरी गहिरिएर लाग्दा पनि आफू पछि परेको हुँ कि भन्ने भाव यदाकदा आए पनि बाँसुरीवादनले मलाई आर्थिक र मानसिक रूपले समेत निकै सन्तोष दिएको छ । एक न एक दिन एक अब्बल बाँसुरीवादकको रूपमा आफूलाई उभ्याएरै छोड्ने लक्ष्य मैले लिएको छु ।’