कर्मचारीतन्त्र ‘नेसेसरी इभिल’ हो

कर्मचारीतन्त्र ‘नेसेसरी इभिल’ हो


नेपाल सरकारद्वारा मुलुकभर ७२ वटा नगरपालिका घोषणा गर्ने क्रममा ०७१ वैशाख २५ गते अर्घाखाँची जिल्लाका विभिन्न सात गाविसलाई समेटेर सन्धिखर्क नगरपालिकाको स्थापना भएको थियो । हालसम्म मुलुकमा महानगरपालिका, उपमहानगरपालिका र नगरपालिका गरी जम्मा दुई सय १७ वटा रहेका छन् । जनप्रतिनिधि र पर्याप्त जनशक्तिको अभावमै पहाडी जिल्ला सन्धिखर्क नगरपालिका अर्घाखाँचीले आफ्नो दोस्रो वार्षिक उत्सव मनाएको छ । यस सन्दर्भमा नगरपालिकाले आफ्नो नियमित कार्ययोजना कसरी अघि बढाइरहेको छ भन्ने जिज्ञासा मेटाउन सन्धिखर्क नपाका कार्यकारी अधिकृत रामजी जोशीसँग गरिएको कुराकानी :

Ramji Joshi

० तपार्इं निजामती सेवातर्फ आकर्षित हुनुको विशेष कारण के हो ?
– निजामती सेवालाई राज्यले नागरिकमा सेवा प्रवाह गर्ने र विकास व्यवस्थापनलगायत राज्यले निर्धारण गरेको नीति, निर्माण गरेका कानुन–नियम आदिको कार्यान्वयनका लागि व्यवस्था गरेको सरकारी संयन्त्र भनी चिनिन्छ । राज्यको स्थायी सरकारको रूपमा स्थापित निजामती सेवा बहुप्रतिष्ठित र संविधान तथा कानुनद्वारा स्थापित हुन्छ । निजामती सेवा मात्र यस्तो सेवा हो जसले प्रत्यक्ष र परोक्ष रूपमा पनि नागरिकलाई सेवा प्रवाह गर्दछ, नागरिकका दिनानुदिनका समस्या, सुख–दु:खसँग बढी सम्बन्धित रहने सेवा भएकाले देश र समाजमा शासनको प्रत्याभूति प्रदान गर्दछ भन्ने गरिन्छ । शासन व्यवस्थाको प्रतिविम्ब निजामती सेवामा पर्दछ । यसो पनि भन्ने गरिन्छ, ‘नो गभर्मेन्ट क्यान बी मच बेटर देन इट्स सिभिल सर्भिस’ । कुनै पनि नागरिक निजामती सेवाप्रति आकर्षित हुनुको प्रमुख कारण उल्लिखित पृष्ठभूमि हो र म पनि यही कारण यता आकर्षित भएको हुँ ।

० राष्ट्रसेवक कर्मचारीको रूपमा आफूलाई कत्तिको गौरवशाली महसुस गर्नुभएको छ ?
– निजामती सेवाका कर्मचारीलाई अर्को शब्दमा भन्दा राष्ट्रसेवक भनिन्छ । यस सेवाको मुल मर्म राष्ट्रको सेवा गर्नु नै हो । यस अर्थमा राष्ट्रसेवक निजामती कर्मचारीको भूमिकामा रहनु आफैँमा गौरवको विषय हो । देशका विभिन्न भू–भागमा गएर राज्यको तर्फबाट नागरिकलाई सेवा प्रदान गर्न पाउनु तथा राष्ट्रको विभिन्न स्थानको सामाजिक, सांस्कृतिक, ऐतिहासिक तथा विविध क्षेत्रको फरक–फरक विषयमा अध्ययन र मनन गर्न पाइने भएकाले आफूलाई गौरवशाली महसुस गरेको छु ।

० सन्धिखर्क नगरपालिकाको प्रमुख कार्यकारीको जिम्मेवारी निर्वाह गर्ने अवसर पाउँदा कस्तो महसुस गर्नुभएको छ ?
– स्थानीय निकाय जनप्रतिनिधिमूलक निकाय हुन् । जनताका प्रतिनिधिमार्फत यस्ता निकाय सञ्चालन हुने गर्दछन् । यस्तो निकायमध्ये सन्धिखर्क नगरपालिका कार्यालय पनि एक हो । देशभर रहेका स्थानीय निकायमा रहेको जटिलता हाम्रो यस सन्धिखर्क नगरपालिका कार्यालयमा पनि रहेका छन् । चुनौतीपूर्ण समयमा नगरपालिका कार्यालयको कार्यकारी अधिकृतको जिम्मेवारी ग्रहण गर्न पाउँदा एक किसिमले गौरवान्वित भएको छु ।

० मुलुकका अधिकांश सरकारी कर्मचारी सेवाग्राहीमैत्री छैनन् भन्ने आरोप लगाइन्छ, तपार्इं कुन कोटिमा पर्नुहुन्छ ?
– सरकारी सेवा वा कर्मचारीको व्यवस्था राज्य वा सरकारद्वारा जनतालाई सेवा प्रवाह गर्नका लागि स्थापना गरिन्छ । जनतालाई सेवा प्रवाह गर्नु सरकारी कर्मचारीको प्रमुख ध्येय हो, निजामती सेवाका कर्मचारीहरू ‘३६०ं’को उत्तरदायित्वभित्र रहेर काम गर्नुपर्ने हुन्छ । आफूले प्रदान गरेको सेवाप्रति उत्तरदायित्व र जवाफदेहिता वहन गर्नुपर्ने हुन्छ । यस्तो सेवाका कर्मचारी सेवाग्राहीमैत्री बन्नुपर्छ र आफूलाई सोही कोटिमा राख्न चाहन्छु ।

० यो देश पछि पर्नुमा कर्मचारीतन्त्र पनि एक प्रमुख कारक हो भनिन्छ, यो आरोप हो कि सत्य ?
– कर्मचारीतन्त्र अनिर्वाचित विज्ञहरूको प्रशासनिक संयन्त्र हो जसको गठन संविधान, ऐनकानुनको व्यवस्थाअनुसार हुन्छ र सरकारी नीति निर्माणको संयन्त्र हो । राज्यले जनताको हितमा कर्मचारीतन्त्रको परिचालन गर्छ । कर्मचारीतन्त्र जटिल बन्यो, अप्रभावकारी भयो, नियम र कानुनका प्रावधनमा आधारित रह्यो, प्रक्रियामुखी, आदेशात्मक प्रकृतिको रह्यो भनेर यसको आलोचना हुने गरे तापनि यसलाई ‘नेसेसरी इभिल’को रूपमा लिइन्छ । समग्रमा देश पछाडि पर्नुमा कर्मचारीतन्त्रलाई प्रधान तत्त्व मान्न हुँदैन भन्ने मेरो मान्यता छ । केही हदसम्म यस सवालमा सहभागी भएजस्तो देखिए तापनि कर्मचारीतन्त्रले त राज्यका नीति, नियम, निर्देशन तथा यससम्बन्धी विषयको कार्यान्वयन गर्ने मात्र भएकोले देश पछि पर्नुमा कर्मचारीतन्त्र नै मूल कारक भन्न मिल्दैन ।

० तपाईं खासै धेरै नबोल्ने र पूरै समय कार्यालयमै बसी काम गर्ने स्वभावको भएको राष्ट्रसेवकका रूपमा चिनिनुहुन्छ, यस्तो स्वभावले घर–परिवारसँगको सम्बन्ध र शारीरिक स्वास्थ्यमा के–कस्तो असर गर्दोरहेछ ?
– हामी निजामती कर्मचारीले धेरै बोल्नेभन्दा छिटो–छरितो रूपमा राज्य वा राष्ट्रले अङ्गीकार गरेको नीति–नियम आदिको आधारमा सेवा प्रवाह गर्नु हो । मेरो प्रमुख ध्येय पनि त्यही हो । आफ्नो प्रवृत्तिलाई कार्यमुखी तुल्याउनु मेरो चुनौती रहेको छ । त्यसैले नेपाल सरकार सङ्घीय मामिला तथा स्थानीय विकास मन्त्रालयले समय–समयमा आयोजना गर्ने तालिम, गोष्ठी आदिमा सहभागी हुन जिल्लाबाहिर जानेबाहेक अधिकांश समय कार्यालयमा व्यतीत गर्ने गरेको छु । घरपरिवारबाट टाढा रहेर मन्त्रालयले खटाएको दुर्गम स्थानमा कार्यरत रहनु निजामती कर्मचारीको एउटा पक्ष रहेको छ र यसलाई मैले सहज रूपमा लिएको छु । यसले मेरो व्यक्तिगत स्वास्थ्य र घरपरिवारको सम्बन्धमा कुनै नकारात्मक असर पारेको अनुभूति भएको छैन ।

Ramji Joshi 2

० आफूमातहतका कर्मचारीको खासै विश्वास नगर्ने र राजनीतिक दलहरूसँग पनि समन्वय नगर्ने अप्ठ्यारो स्वभावको व्यक्तित्वको रूपमा तपाईंलाई चित्रित गर्नेहरू पनि भेटिन्छन्, तपाईं आफैँले भन्नुपर्दा तपाईं कस्तो स्वभावको व्यक्ति हो ?
– सन्धिखर्क नगरपालिका कार्यालयमा आवश्यक मात्रामा कर्मचारीहरू नभएको अवस्था विधमान छ । थोरै कर्मचारीको माध्यमबाट सेवा प्रवाह गर्नुपर्ने बाध्यात्मक अवस्थाले गर्दा आफूमातहतका कर्मचारीलाई कार्यालयको काममा विश्वासमा लिएर टिम वर्क वा ग्रुप वर्कको माध्यमबाट कार्य गर्नुपर्ने अवस्था छ । कार्यरत कर्मचारीहरूबाट अथक रूपमा सहयोग प्राप्त गरेको मैले अनुभव गरेको छु । नगरपालिका कार्यालयमा कार्यरत जनशक्तिले मात्र सेवा प्रवाह गर्न नसक्ने भएपछि दक्षता र विज्ञताका आधारमा साक्षेदार संस्थाको सहमतिमा सामाजिक परिचालक तथा संस्थाका कार्यक्रम संयोजकले सेवा प्रवाहमा ठूलो योगदान पुर्‍याउनुभएको छ । जसमा आफ्नो सामाजिक परिचालनको कार्यसँगै नगरपालिका कार्यालयको सिफारिस सफ्टवेयर चलाएर कृष्णा भुसालबाट गुणात्मक सेवा प्रवाहमा स्वयम्सेवाको भावनाले थप सहयोग प्राप्त भएको र सम्पूर्ण कर्मचारीहरू सेवा प्रवाहका लागि कटिबद्ध तथा प्रतिबद्ध भएर लागेको पाएको छु । यतिबेला स्थानीय निकायहरूमा जनप्रतिनिधिको रिक्तता छ । परिणामस्वरूप राजनीतिक सहमतिमा यी निकायका निर्णयहरू सम्पादन हुन्छन् । राजनीतिक समन्वय र समझदारीका कार्यहरूले रूप धारण गरी कार्यान्वयनमा जान्छन् । हाम्रो नगरपालिका कार्यालयमा उल्लेखित विषयहरूलाई मूलमन्त्रको रूपमा ग्रहण गरी राजनीतिक सहमति तथा समझदारी र समन्वयलाई प्रमुखता प्रदान गरिएको छ । म आफूलाई यस मानेमा चित्रित गर्दा उल्लेखित विषयकेन्द्रित समन्वयकर्ताको रूपमा पाउँछु ।

० नगरपालिका प्रमुख भएर अर्घाखाँचीमा प्रवेश गरेपछि उल्लेख्य के–कस्ता काम गर्नुभयो ?
– नगरपालिका कार्यालयको प्रमुख भएदेखि सन्धिखर्क नगरपालिका कार्यालयको श्रीवृद्धिका लागि निरन्तर प्रयासरत रहेको छु । आठ महिनाको अवधिमा सम्पादन गरेका सबै कार्य यहाँ उल्लेख गर्न सम्भव नभए पनि मूलत: सम्बन्धित वडाहरूको केन्द्रमा वडा कार्यालय स्थापना गराई सीमित जनशक्ति परिचालनको व्यवस्था, नगरपालिका कार्यालयमा रहेको ट्रिपरलाई फोहोरमैला व्यवस्थापनको कार्यमा परिचालन, नगरपालिकाको दमकललाई नगर क्षेत्रलगायत नगरबाहिरका गाविसमा अग्नि नियन्त्रणमा परिचालन, उपभोक्ता समिति गठन, सम्बन्धित वडाहरूमा गएर योजना सम्झौता र छिटोछरितो आयोजना व्यवस्थापन विधि अनुसरण गरिएको, नेपाल सरकारका विभिन्न निकायबाट प्राप्त ‘कन्डिसनल’ अनुदानलाई सहरी क्षेत्रभित्र सडकमा ‘ब्याक टप’ विकासमा परिचालन, नगरपालिकाको कार्यालय भवन निर्माण सम्पन्न हुने अवस्थामा पुगेको, नगर पाश्र्वचित्र, आवधिक योजना तथा अन्य क्षेत्रगत योजना निर्माणमा कार्यथालनी गरिएको, नगरपालिका भवन निर्माण सम्पन्नसँगै नगरसूचना केन्द्र स्थापना गर्ने नीति लिइएको, योजना बैंकक निर्माण गरिएको र सुशासन प्रवद्र्धनमा ‘सूचनाको हक’को क्षेत्रमा आवश्यक सहयोगलगायत काम गर्न भ्याएको छु ।

० सदरमुकाम सन्धिखर्कवरपर सडकको अवस्था दयनीय रहेको देखिन्छ यसको सुधारका लागि के–कस्तो कार्ययोजना बनाउनुभएको छ नि ?
– सदरमुकामका सडकको अवस्था अत्यन्त दयनीय छ । खडेरीको समयमा धुलो उड्ने तथा वर्षात्मा हिलो हुने अवस्था छ । नगरपालिका भइसकेपछि यस्ता समस्याको व्यवस्थापन गर्नु नगरपालिकाको प्रमुख दायित्व हो । यस सन्दर्भमा नगरपालिकासँग रहेको वित्तीय क्षमतालाई परिचान गरी सडकको स्तरोन्नति गर्नु तथा वातावरणमैत्री तुल्याउन नगरपालिका कार्यालय प्रयासरत छ ।

० अर्घाखाँचीमा व्यापक रूपमा आगजनी हुँदा सन्धिखर्क नगरपालिकाले खासै सक्रियता नदेखाएको आरोप पनि छ नि, के अनुभूति गर्दै हुनुहुन्छ ?
– सन्धिखर्क नगरपालिका कार्यालयसँग एक मात्र दमकल रहे पनि यसले सन्धिखर्क नगरपालिकाभित्रका अलावा जिल्लाका अन्य गाविसमा समेत सेवा प्रवाह गरिरहेको अवस्था छ । न्यून साधनस्रोतका बाबजुद दमकलले प्रदान गर्ने सेवालाई प्रभावकारी तुल्याउने सवालमा नगरपालिका प्रतिबद्ध रहेको छ । नगरपालिका वडा नं. १० भलायडाँडामा आगलागी हुँदा यदि नगरपालिका समयमै सक्रिय हुँदैनथ्यो भने ठूलो मात्रामा जनधनको क्षति हुने परिस्थिति थियो । नपा क्षेत्रका ४–५ स्थानमा आगलागी हुँदा जिल्लाकै एक मात्र यो दमकलले प्रभावकारी भूमिका पुर्‍याएको छ । साधनले भ्याएसम्म गरिएको छ, सक्रियता नदेखाएको कुरा तथ्यसङ्गत होइन ।

० आफ्ना कर्मचारीबाट कत्तिको साथ–सहयोग मिलेको अनुभूति भएको छ तपाईंलाई ?
– यस नगरपालिका कार्यालयमा जनशक्तिको अभाव छ । वडासचिवदेखि प्राविधिक जनशक्तिको पूर्ति हुन सकिराखेको छैन । यस सवालमा नगरपालिका निरन्तर क्रियाशील रहेको छ । विद्यमान जनशक्तिलाई परिचालन गरेर सेवा–प्रवाहलाई व्यवस्थित तुल्याउने ध्येयका साथ नगरपालिका कार्यालय क्रियाशील रहेको छ । टिम वर्क, ग्रुप वर्कको मान्यतालाई अवलम्बन गरेर निरन्तर सुधारको माध्यमबाट कार्य प्रक्रिया अगाडि बढाइएको छ । कार्यरत कर्मचारीहरूबाट सकारात्मक सहयोग, समन्वय र निरन्तर क्रियाशीलता प्राप्त भएको छ । व्यक्तिका सीमित ज्ञान, सीप, दक्षता र क्षमतालाई सङ्गठनात्मक लक्ष्य–उद्देश्यसँग तादात्म्यता कायम गरी तोकिएको कार्य, प्रक्रिया आदिको माध्यमबाट सीमित जनशक्ति परिचालन गर्नु चुनौतीको विषय रहेको छ ।

० नगरपालिकाभित्र गठन भएका टोलसुधार समितिहरू सक्रिय नहुँदा फोहोर व्यवस्थापन हुन नसकेको बुझिन्छ, यस्तै हो त ?
– नगरपालिका क्षेत्रमा फोहोरमैलाको व्यवस्थापन चुनौतीको विषय रहेको छ । सर्वप्रथमत: फोहोरमैलाको दिगो व्यवस्थापन लागि स्वव्यवस्थापन विधि अनुसरण गर्नुपर्ने देखिन्छ । समुदायको सहभागितामा फोहोरमैला व्यवस्थापनलाई दिगो स्वरूप प्रदान गर्न सकिन्छ । टोल सुधार संस्थाहरूको सहयोगमा हालसम्म नगरपालिकाले फोहोरमैला व्यवस्थापनको कार्यमा अग्रता हासिल गर्दै आएको छ । यति हुँदा पनि टोल सुधार संस्थाको क्रियाशीलता कायम गरी राख्नु चुनौतीपूर्ण रहेको छ । सीमित साधन–स्रोतलाई परिचालन गर्नुपर्ने बाध्यता र टोल सुधार संस्थालाई नगरपालिकाले अतिरिक्त बजेट प्रदान गर्न नसक्नु टोल सुधार संस्थाको निरन्तरताका लागि उत्प्रेरक बन्न सकेको छैन । नगरपालिका कार्यालय यसप्रति सचेत छ र क्षमताले भ्याएसम्म टोल सुधार संस्थाको विकासमा नगरपालिका कार्यालय कटिबद्ध रहेको छ । सम्पूर्ण नगरवासीलाई विकास निर्माणको कार्यमा एकजुट हुन र कहीँकतै कमी–कमजोरी देखिएमा तत्कालै सुझाव दिनुहुन म हार्दिक अपिल गर्दछु । नागरिकको सुझावलाई उच्च प्राथमिकताका साथ ग्रहण गर्ने प्रतिबद्धता व्यक्त गर्दछु ।

– मुक्तिनाथ भुसाल