खड्गप्रसाद ओलीको विकल्प ओली स्वयम् नै खोज्दै छन्

खड्गप्रसाद ओलीको विकल्प ओली स्वयम् नै खोज्दै छन्


shekhar-koirala 2

– डा. शेखर कोइराला

० यतिबेला प्रधानमन्त्री खड्गप्रसाद ओलीसँग नेपाली काङ्ग्रेसको सम्बन्ध कस्तो छ डाक्टरसा’ब ?
– उहाँ देशको प्रधानमन्त्रीको ओहोदामा हुनुहुन्छ, हामी प्रतिपक्षमा छौँ । यस हिसाबले प्रमुख प्रतिपक्षी र सत्ताको वागडोर सम्हालिरहेका प्रधानमन्त्रीबीच जे–जस्तो प्रकृतिको सम्बन्ध हुनुपर्ने हो, त्यस्तै सम्बन्ध छ हामीबीच ।

० सरकारको आलोचना गर्ने पक्षमा हुनुहुन्न कि कसो तपाईंहरू ?
– आलोचनाका लागि आलोचना गर्ने कुरा नेपाली काङ्ग्रेसको निम्ति रुचिको विषय हुन सक्दैन । संविधान कार्यान्वयन गर्ने सवालमा सत्तापक्षसँग सँगसँगै जान पनि सकिन्छ । हाम्रो प्रयास त यसैमा छ । तर, सरकारले सुरुदेखि नै जुन खालका क्रियाकलाप गरिराखेको छ, यसप्रति हामीले स्वस्थ ढङ्गले टीकाटिप्पणी वा आलोचना गरिआएकै छौँ । सरकारका कमी–कमजोरी औँल्याउँदै सच्चिएर–सुध्रिएर अघि बढ्न चेतावनी दिएकै छौँ । प्रतिपक्षीको रूपमा हामीले यतिबेला निर्वाह गर्नुपर्ने भूमिका पनि यस्तै–यस्तै त हो ।

० तपाईं सरकारलाई सघाउन चाहेको बताउँदै हुनुहुन्छ, तर जारी भएको नौ महिना बित्न लाग्दा पनि संविधान कार्यान्वयन हुने छाँट त देखिएन नि ?
– संविधान कार्यान्वयनको सन्दर्भमा काङ्ग्रेसले पहलकदमी लिन्छ भनीकन मधेसी मोर्चाका नेताहरूसँग हामीले कुराकानी र छलफल पनि अघि बढाइसकेका छौँ । तर, सरकारमा बस्ने राजनीतिक दलहरूले पनि त जिम्मेवार भावसहित इमानदार बनेर त्यसलाई अघि बढाउनुपर्‍यो नि ! खै सरकार यस मामलामा अझै गम्भीर बनेको अनुभूति गर्न सकिएन । सत्तासीन दलका प्रमुख नेताहरूले यस मुद्दालाई एकदम नजरअन्दाज गरेर चल्दै हुनुहुन्छ, यो देशका लागि अत्यन्त दुर्भाग्यको कुरा हो । यसको परिणतिको वस्तुनिष्ठ कल्पना गर्न सकेको भए सायद उहाँहरू यति धेरै लापरबाह बन्नुहुने थिएन कि ?!

० मधेसको मुद्दालाई काङ्ग्रेसले पनि गम्भीरतापूर्वक लिएन भन्ने आरोप त मधेसवादी दलहरूले लगाइरहेका छन् नि ?
– मधेसको मुद्दालाई काङ्ग्रेसले अयन्त गम्भीर रूपमा लिएको छ । तर, हामी सरकारमा नभई प्रतिपक्षमा छौँ भन्ने हेक्का सम्बन्धित सबैले राख्नुपर्छ । कमल थापाको संयोजकत्वमा एक सदस्यीय कमिटी बनाएर झारा टार्ने शैलीका साथ मधेसको मुद्दालाई सरकारले जसरी पन्छाउने प्रयत्न गरेको छ, यसले असन्तुष्ट पक्षलाई थप चिढ्याएको छ । नेपाली काङ्ग्रेसले मात्र चाहेर के गर्ने जब सत्ताधारीहरू यसरी खेलाँचीपूर्ण रवैया प्रदर्शन गर्छन् भने ।

० तपाईंहरू कमल थापाको नेतृत्वयुक्त कमिटीमा नबस्नेचाहिँ किन हो ?
– हामीले बस्दैनौँ भनेका त छैनौँ, तर टर्मस् अफ रिफ्रेन्स त बनाउनुपर्‍यो नि पहिले ।

० मधेसी गठबन्धनका नेताहरू त शेरबहादुर देउवा, प्रचण्ड, केपी ओलीहरू बस्छन् भने सो कमिटीमा आफूहरू पनि समितिमा सहभागी हुने कुरा गर्छन्, के भन्नुहुन्छ ?
– यसो भनेका हुन् भने कुरा ठीकै हो । तर, कमल थापाजीलाई संयोजक बनाए पनि उहाँले आफैँ डिसिजन लिन सक्ने पोजिसन त देखिँदैन, केपी ओली या प्रचण्डजीसँग नै सोध्न जानुपर्ने उहाँको हैसियत छ । यसरी त समस्याले निकास पाउँदैन नि †

० कमल थापाको नेतृत्वमा तपाईंका पार्टी–सभापति समितिमा बस्लान् ?
– राजनीतिमा वरिष्ठताको पनि काउन्ट हुन्छ । शेरबहादुरजी कमल थापाभन्दा निकै सिनियर नेता हो दलको हैसियतका आधारमा पनि निकै अन्तर पर्छ भने थापाजीको मातहतमा शेरबहादुर देउवा कसरी त्यो समितिमा बस्नुहुन्छ ? बस्नुहुन्न उहाँ । बरु देउवाजीकै नेतृत्वमा खड्गप्रसाद ओली पनि आए हुन्छ, कमल थापा पनि आए हुन्छ र पुष्पकमल दाहालजी पनि आए हुन्छ । शेरबहादुरजीको नेतृत्वमा किन नबनाउने उच्चस्तरीय समिति ? यो सरकार किन गर्न चाहिरहेको छैन यस्तो ? यसबाट खुलस्त हुन्छ कि उहाँहरू समस्या समाधान गर्न चाहिरहनुभएकै छैन । ठीकै छ, प्रधानमन्त्रीको हैसियतले खड्ग ओलीजीकै नेतृत्वमा बनाए पनि हुन्छ, यसो भए देउवाजी जान सक्नुहुन्छ । यो प्रस्टै छ कि शीर्ष नेताहरू संलग्न नभएसम्म यो जटिल समस्याको अन्त्य हुन गाह्रै छ ।

० यस्ता कुरा गरेर कतै तपाईंहरू पनि मधेसको समस्यालाई हल्काफुल्का ढङ्गले लिइरहनुभएको छ कि कसो ?
– कदापि यस्तो होइन । हामीले एकदम गम्भीरताका साथ यो मुद्दालाई हेरिरहेका छौँ । बरु खेलाँची त खड्गप्रसाद ओलीजीले नै गरिरहनुभएको छ । यसले हामीलाई बहुत चिन्तित तुल्याइरहेको छ । यसले देशलाई गम्भीर दुर्घटनातिर धकेल्न सक्छ भनी चेताउन चाहन्छु म ।

० त्यो दुर्घटना भनेको कस्तो होला ?
– यतिबेला देश जुन दुर्गति झेल्दै छ, अन्तर्राष्ट्रिय चलखेलहरू जे–जसरी भइरहेका छन्, जसरी अहिले धर्मनिरपेक्षता, गणतन्त्र, सङ्घीयताको बारेमा प्रश्न उठ्दै छ, यो सब सरकार गम्भीर नभएकोले भइरहेको हो भन्ने मेरो ठहर छ । यी विषयमा अहिले नै यसरी मुद्दा उठ्नुपर्ने थियो त ? सरकारले खेलाँची र ठट्यौलीमा शासन गर्न थाल्दा यस्तो दुर्भाग्यपूर्ण अवस्था निम्तिँदै छ । हरेक मुद्दालाई यथोचित ढङ्गले छिटोभन्दा छिटो समाधान गर्दै गयो भने मुलुक स्वाभाविक रूपले अघि बढ्दै जान्थ्यो । मुद्धामाथि मुद्धा उठेर डिस्टर्भ हुने परिस्थिति रहँदैनथ्यो । ओली सरकारले या त यो बुझेन या बुझेर पनि बुझ पचायो ।

० धर्मनिरपेक्षताको विपक्षमा आफूलाई उभ्याउनेमा त तपाईंकै पार्टीका नेताहरू छन् त ?
– यसका लागि पनि सरकार नै जिम्मेवार छ । सरकार गम्भीर भई फटाफट संविधान कार्यान्वयनको बाटोमा लागेको भए व्यक्तिले उठाएका मुद्दाले ठूलो रूप लिन पाउन्नथ्यो होला ।

० तपाईंहरू हिन्दूराष्ट्र नेपालकै परिकल्पना गरिरहनुभएको छ भन्न मिल्छ कि मिल्दैन, काङ्ग्रेस महामन्त्री शशांक कोइरालाको अभिव्यक्तिले त यस्तै छनक दिन्छ नि ?
– शशांक कोइरालाले के अभिव्यक्ति दिनुभयो, कुन सन्दर्भमा दिनुभयो, यसबारे मैले जवाफ दिने होइन, उहाँलाई नै सोध्नुहोस् । मैले भन्नुपर्दा चाहिँ के भन्छु भने यस्तो कल्पना हामी गरिरहेका छैनौँ । हिन्दूराष्ट्रको पक्षमा म स्वयम् पनि नरहेको होइन, तर संविधानमा लेखिसकेपछि त्यसलाई मान्नुपर्‍यो, कार्यान्वयनमा लैजान खोज्नुपर्‍यो । त्यसलाई परिवर्तन गर्न त दुईतिहाइ बहुमत चाहिन्छ अब । आजको दिनमा यो कति सम्भव छ, माओवादी र एमालेहरू कन्भिन्स हुन्छन् कि हुँदैनन्, त्यो हेर्नुपर्छ । भोलि सारा जनता चाहन्छन् भने कुरा बेग्लै हो ।

० सीमाङ्कनको विषयमा पनि कुरा मिल्न गाह्रो छ हगि तपाईंहरूबीच ?
– नेपाली काङ्ग्रेस एकदमै लचकदार भएर प्रस्तुत हुन्छ । काङ्ग्रेस र एमालेले डेढ वर्ष पहिले राजनीतिक संवाद समितिलाई जुन सातबुँदे प्रस्ताव पेस गरेको थियो, त्यसमा मधेसमा दुईवटा प्रदेश रहने भनी लेखिएकै थियो । त्यसैलाई टेकेर अघि बढ्दा हुन्छ नि । मधेस नेपालमा छ, मधेसी नेपाली हुन् । जति पनि प्रदेश बन्छन्, ती सबै नेपालभित्रै बन्छन् भन्ने सोचेर अघि बढ्दा भइहाल्छ । यहाँ बेकारमा कोकोहोलो मच्चाउने काम भइरहेको छ ।

० उपप्रधानमन्त्रीसमेत रहेका कमल थापाले अन्तर्राष्ट्रिय मञ्चमा उभिएर नेपालको संविधानबारे भ्रम छर्ने काम गरियो भन्ने आरोप लगाएको सन्दर्भलाई कसरी लिनुहुन्छ ?
– कमल थापाजीले आफ्नोतर्फबाट सफाइ दिन खोज्नुभयो होला, तर अन्तर्राष्ट्रिय समुदायले पनि आफ्नोतर्फबाट चिन्ता व्यक्त गरेका छन् । नेपालको संविधान र संविधान कार्यान्वयनबारे निकै चिन्ता व्यक्त गरेका छन् उनीहरूले । ‘भ्रम सिर्जना गरिएको रहेछ मैले क्लियर गरेँ’ भन्ने कमलजीको कुरा रहेछ, कत्तिको क्लियर गर्नुभएको रहेछ, देखिएला नि त । त्यसै बोलेर मात्र हुन्छ ? के नेपाली जनता बेवकुफ छन् ? आजका नेपाली जनता कमल थापाजीहरूका कुरा मात्र सुनिबस्दैनन्, अमेरिकन स्टेट डिपार्टमेन्टका वेबसाइट खोलेर हेर्ने, बुझ्ने र मनन गर्ने हैसियत पनि राख्छन् भन्ने हेक्का हुनुपर्‍यो नि सरकारका मन्त्रीहरूलाई ।

० सरकारले भ्रम छरिरहेको छ भन्ने तपाईंको भनाइ ?
– भ्रम छरिरहेको छ त † केही गर्नै सकेको छैन सरकारले, तर के–के न गरेको डिङ हाँक्न पछिपरिरहेको छैन । यो भ्रम बाँडेको त हो नि । भूकम्पपछिको पुनर्निर्माणमा पाँच प्रतिशत पनि खर्च गर्न सकेको छैन । वास्तवमा आफ्ना गल्तीहरूलाई ढाकछोप गर्न सरकार निकै कोसिस गर्दै छ ।

० तपाईंहरू के हेरेर बसिरहनुभएको त ?
– संसद् सुरु भएको छ, अब हामी के हेरिबसेका छौँ कि के गर्छौं, देखिन्छ नि त । भूकम्पपछिको पुनर्निर्माणका मुद्दा, मधेसको मामला, कालोबजारीको समस्या, भ्रष्टाचार, जथाभावी गरिएका राजनीतिक नियुक्तिजस्ता सारा कुरा सशक्त रूपले उठाउँछौँ नि हामी ।

० यसको मतलब केपी शर्मा ओलीको विकल्प खोज्दै छ काङ्ग्रेसले, हो ?
– केपी शर्माको विकल्प काङ्ग्रेसले भन्दा पनि खड्गप्रसाद ओली स्वयम्ले खोज्दै हुनुहुन्छ भन्ने मलाई लाग्छ । यस्तै, सरकारकै महत्त्वपूर्ण घटक एमाओवादी, राप्रपा नेपाल र अन्य साना दलले पनि ओली नेतृत्वको सरकारको विकल्प खोजिरहेका छन् । गत शनिबारको सर्वदलीय बैठकले नै यो देखायो नि । हामी जिम्मेवार प्रतिपक्ष हौँ, जिम्मेवारीपूर्ण हिसाबले नै मुद्दाको उठान गर्छौँ । यो सरकार हामीले ढाल्नुपर्दैन, उसका क्रियाकलापका कारण आफैँ ढल्नेछ । किनकि, एमालेबाहेक कुनै पनि दल यो सरकारसँग सन्तुष्ट छैन ।
Shekhar koirala