पेट्रोलियम व्यवसायीहरूको सङ्गठनमा छट्टु र भद्र व्यक्तिबीच प्रतिस्पर्धा !

पेट्रोलियम व्यवसायीहरूको सङ्गठनमा छट्टु र भद्र व्यक्तिबीच प्रतिस्पर्धा !


नेतृत्व लिन नवीनचन्द्र र लिनेन्द्र मैदानमा

nabin - lilendra

पेट्रोलियम पदार्थ व्यवसायीहरूको साझा संस्था पेट्रोलियम डिलर्स एसोसिएसनको सम्मेलन वैशाख २४ र २५ गते राजधानी काठमाडौंमा हुने भएको छ । कुल तीन सय ८० मतदाता रहेको एसोसिएसनको अध्यक्षमा वर्तमान अध्यक्ष लिनेन्द्रप्रसाद प्रधानले पुन: उम्मेदवारी दिने भएका छन् । तीन वर्षका लागि चुनिएका लिनेन्द्र प्रधानले चार वर्षसम्म अध्यक्ष रहेर पुन: सोही पदमा दोहोरिन चाहनुलाई व्यवसायीहरूले शङ्काको दृष्टिले हेरेका छन् ।
नगदका लागि जेसुकै गर्न तयार भनी चिनिएका प्रधान र उनको कार्यसमितिका प्रमुख पदाधिकारी पुन: उम्मेदवार बन्न इच्छुक देखिएपछि एसोसिएसन सेवा गर्ने थलो नभई अदृश्य आम्दानीको केन्द्र भएको ठानिएको छ । समय–समयमा विभिन्न शीर्षकमा व्यवसायीहरूबाट नगद उठाई अपारदर्शी रूपमा मनोमानी किसिमले खर्च गर्ने, बिमाको नाममा उठाइने करोडौँ रुपैयाँबराबरको रकम दुरुपयोग गरी निजी आम्दानी बढाउने र आफ्नो काबुमा बस्न नचाहने व्यवसायीहरूको डिपोमा इन्धन आपूर्ति बन्द गराउनेजस्ता कार्यमा लिनेन्द्र प्रधान र उनको महासचिव रहेकाले अधिकांश व्यवसायी उनीहरूसँग रुष्ट हुन पुगेका छन् ।

त्यस्तै, इन्धन बिक्रीबापत व्यवसायीलाई प्राप्त हुने कमिशन वृद्धि गराउने नाममा उठाइएको ९७ लाख रुपैयाँ कांग्रेस नेता प्रकाशमान सिंहलाई उपलब्ध गराएको जानकारी अध्यक्ष लिनेन्द्र र उनका महासचिवले व्यवसायीहरूलाई दिएका छन् । तर, उनीहरूले उक्त रकम प्रकाशमानलाई उपलब्ध गराएको भन्नेमा पनि व्यवसायीहरूलाई शङ्का छ । पैसा उठाएर पनि कमिशन वृद्धि गराउन नसकेपछि व्यवसायीहरूले यो मुद्दा राष्ट्रिय सम्मेलनमै उठाउने भएका छन् । लिनेन्द्रलाई सहयोग पुर्‍याउने भित्री उद्देश्यले सरोजप्रसाद पाण्डे नामक व्यापारीले समेत अध्यक्षमा उम्मेदवारी दिन खोजेपछि व्यवसायीहरू सशङ्कित बनेका छन् ।
स्वार्थी र जाली नेतृत्वका कारण पेट्रोलियम व्यवसायीहरूको प्रतिष्ठामा ह्रास आएको र समग्र व्यवसायीहरूको हितमा ठोस कुनै कार्य नभएकोले एसोसिएसनको नयाँ अध्यक्षमा इमानदार, भद्र र मिलनसार एवम् सामूहिक हितप्रति प्रतिबद्ध व्यक्तिको खोजी भएको छ ।

यसक्रममा व्यवसायीहरूले नवीनचन्द्र श्रेष्ठलाई अध्यक्षको उम्मेदवार बन्न प्रोत्साहित गरिरहेका र श्रेष्ठ उम्मेदवार बन्न राजी भएको बुझिएको छ । व्यवसायीहरूमाझ सोझो, सरल, इमानदार तथा पारदर्शी व्यक्तिका रूपमा चिनिने नवीनचन्द्र श्रेष्ठको पक्षमा अधिकांश व्यवसायीहरूको भित्री समर्थन रहेको बुझिन्छ । तर, लिनेन्द्र र उनको ककसका सदस्यहरूले भने नवीनचन्द्रमा नेतृत्वक्षमता कमजोर भएको भनी प्रचार गरिरहेका छन् ।
यसअघि पटकपटक वरिष्ठ उपाध्यक्ष, कोषाध्यक्ष र केन्द्रीय सदस्यको जिम्मेवारी सम्हालिसकेका नवीनचन्द्रले हाल सल्लाहकारको भूमिका निर्वाह गरिआएका छन् । छट्टु नेतृत्वभन्दा सरल र भद्र नेतृत्व नै व्यावसायिक हित र प्रतिष्ठा वृद्धि गर्न सहयोगी हुने ठहर गरी व्यवसायीहरूले नवीनलाई सहयोग गर्ने मन बनाएको बुझिन्छ ।

त्यसैले यसपटक पेट्रोलियम व्यवसायीहरूको सङ्गठनमा छट्टु र भद्र व्यक्तिबीच प्रतिस्पर्धा हुने देखिएको छ । एक पक्षको अगुवाइ गर्दै लिनेन्द्रप्रसाद प्रधान मैदानमा उत्रने र अर्को पक्षको नेतृत्व लिन आफ्नो प्यानलसहित नवीनचन्द्र श्रेष्ठ अगाडि सर्ने भएपछि मुख्य प्रतिस्पर्धा पनि उनीहरूबीच नै हुने देखिएको छ । व्यवसायीहरूको वास्तविक समर्थन कसलाई हुने हो भन्ने जानकारी पाउन भने अझै दश दिन प्रतीक्षा गर्नुपर्ने भएको छ ।