भूकम्पको दुर्उपहार यो पनि !

भूकम्पको दुर्उपहार यो पनि !


मनोसामाजिक समस्या 4
वर्तमान पुस्ताले पहिलोपटक व्यहोरेको महाभूकम्पको वर्ष दिन पूरा भएको छ । वैशाख १२ को भूकम्पले दिएको पीडा र त्रास यसरी रहेको छ कि मानिसलाई त्यो दिन बिर्सन दिएको छैन । लगातारको कम्पनले एकातिर त्रास कायम नै छ भने अर्कोतिर अहिलेसम्म पनि पीडितहरूले राज्यबाट पाउनुपर्ने सुविधा–सहयोग नपाएका र राज्यले घोषणा गरेको पुनर्निर्माणको काम पनि सुरु नहुँदै अलपत्र अवस्थामा छ । यो पक्ष आफ्नै ठाउँमा छ, यसबाहेक भूकम्पले बिथोलेको अर्को पाटो पनि कम्ती गम्भीर छैन ।

विज्ञजनका अनुसार महाभूकम्पले मनोसामाजिक समस्यालाई ह्वात्तै बढादिएको छ । भूकम्पपछि त्रसित भएर भाग्दा गम्भीर मानसिक समस्या उत्पन्न हुनसक्ने मनोचिकित्सकहरूको कथन छ । केही वस्तु हल्लँदा पनि डराउने, त्रासको महसुस हुने कारण मानिसमा मानसिक समस्या बढ्दै गएको भनाइ उनीहरूको छ । त्रिवि शिक्षण अस्पतालका वरिष्ठ मानसिक तथा मनोरोग विशेषज्ञ प्रा. डाक्टर सरोजप्रसाद ओझाले भूकम्पले अझ पनि मानिसमा निद्रा नलाग्ने, मनको धड्कन बढ्ने, बढी डराउने, आत्तिने, अग्लो ठाउँमा जान वा बस्न नसक्ने र आत्मविश्वास गुम्नेजस्ता समस्या बढाएको एक कार्यक्रमबीच बताए । यस्तो समस्याले विद्यार्थी, वृद्धवृद्धा, बालबालिका र महिलामा बढी प्रभाव पारेको उनको दाबी छ ।

उनका अनुसार यस्ता मनोसामाजिक समस्याको समयमै निदान नगरिए मानसिक रोगलाई बढाउने खतरा रहन्छ । धेरैले फेरि पनि के हुने हो ? भन्ने डरका कारण आत्मविश्वास गुमाएको उनको भनाइ छ । ‘भूकम्पका कारण धेरैको दिमाग शून्यतामा पुग्न सक्छ । शून्यताबाट सामान्य अवस्थामा आउन समय लाग्छ । यसबीचमा मानिसले सकेसम्म धैर्य गर्नुपर्छ,’ उनले सुझाए । कमजोर आँट भएकालाई यस्तो अवस्थाले लामो समयसम्म डर लागिरहने डा. ओझाको भनाइ छ । यसलाई चिकित्सा विज्ञानको भाषामा ‘पोस्ट ट्रमाटिक मेन्टल डिसअर्डर’ भनिन्छ । भूकम्प आएसँगै आत्तिएर भाग्दा मानसिक रूपमा मात्र नभई शारीरिक चोटसमेत लाग्ने भएकाले धैर्यता कायम गर्न चिकित्सकले सुझाएका छन् ।

वैशाख तथा त्यसयताका भूकम्पका कारण अझसम्म पनि मन डराउने, काममा ध्यान नजाने, अज्ञात भयले सताउनेजस्ता समस्या लिएर दैनिक थुप्रै पीडित चिकित्सकसमक्ष पुग्ने गरेका छन् । ‘यो त्रासले ल्याएको मनोसामाजिक समस्या हो, त्यसमाथि सञ्चारमाध्यममा आउने खबरले पनि मानिसमा त्रास बढाएको छ, यसका लागि मनोपरामर्श दिने सेवा सर्वसुलभ हुनुपर्छ,’ विज्ञहरूको सुझाव छ ।
मनोसामाजिक समस्या 2