चौरीको रगत पिउनेको घुइँचो

चौरीको रगत पिउनेको घुइँचो


चौरीको रगत पिउने 3
स्थानीय किसानको आयोजनामा वैशाख ५ गतेदेखि सुरु भएको चौँरीगाईको आलो रगत पिउन मुस्ताङको कोबाङ गाविसस्थित बोक्सीखोलामा सर्वसाधारणको घुइँचो लागेको छ । मेलामा रगत पिउन मुस्ताङका साथै म्याग्दी, पर्वत, बाग्लुङ र पोखराबाट समेत सर्वसाधारण पुगेका छन् ।

हिमाली क्षेत्रमा पालिने चौँरीगाईको रगत पिएमा गानोगोला, वायुविकार, कमलपित्त, मर्केको, सुन्नेको र छालासम्बन्धी रोग निको हुने जनविश्वास छ । हरेक वर्ष आयोजना गरिने मेलाबाट आकर्षक आम्दानी हुने स्थानीय किसानले जानकारी दिएका छन् । हिमाली क्षेत्रमा पाइने यार्सागुम्बा, पाँचऔले, जटामसीजस्ता बहुमूल्य जडीबुटी खाएर चौँरीगाईको रगतले शारीरिक फूर्तिसमेत बढ्ने विश्वास गरिन्छ । विशेष प्रकारको चक्कुबाट रगत निकालेर प्रतिगिलास १ सय ५० मा रगत बिक्री भइरहेको छ । एउटा चौँरीबाट कम्तीमा पाँच गिलाससम्म रगत निकाल्न सकिन्छ ।

वैशाख २५ गतेसम्म सञ्चालन हुने मेलामा अहिलेसम्म झण्डै दुई हजार जनाले रगत पिइसकेको चौँरीपालन व्यवस्थापन समितिले जानकारी दिएको छ । मेला अवधिसम्म तीन हजारभनाद बढीले रगत पिउने अनुमान आयोजक किसानहरुले गरेका छन् । उनीहरुले मागको आधारमा चौँरीगाईको मासु पनि बिक्री गर्दै आएका छन् । स्थानीय किसानले विभिन्न किसिमका रोग निको हुने बताए पनि पशु अधिकारकर्मीले भने त्यसमा कुनै वैज्ञानिक सत्यता नभएको र पशु अधिकार हनन भएको बताउँदै आएका छन् ।
चौरीको रगत पिउने