पत्रकार दीक्षितमाथि अख्तियारको छानबिन

पत्रकार दीक्षितमाथि अख्तियारको छानबिन


K D

अपारदर्शी र अवैधानिक तवरले अकूत सम्पति जोडेको अभियोगमा अख्तियार दुरुपयोग अनुसन्धान आयोगद्वारा हिरासतमा लिइएका साझा यातायात सहकारी लिमिटेडका अध्यक्ष कनकमणि दीक्षितलाई महानगरीय प्रहरी वृत्त गौशालामा राखिएको छ । आयोगका कर्मचारी र नेपाल प्रहरीले हिमाल मिडियाका प्रकाशकसमेत रहेका पत्रकार दीक्षितलाई शुक्रबार दिउँसो पाटनढोकाबाट पक्राउ गरेको हो । आयोगका अनुसार दीक्षितको नाममा चेज बैंक अमेरिकाको खातामा अमेरिकी डलर १७ हजार २०८, श्रीमती शान्ता दीक्षितको नाममा बेलायतको एचएसबिसी बैंकमा ६८ हजार ९२६ अमेरिकी डलर र एप्पल बैंक अमेरिकामा बेलायती मुद्रा चार हजार १२६ रहेको अध्ययनको क्रममा पत्ता लागेको छ । यस्तै, कमलमणि दीक्षित, अन्जु दीक्षितको नाममा एचएसबिसी बैंकमा रहेको खाताबाट भारत दिल्लीस्थित म्याट्रिक्स टिभी प्रालिको नाममा ५० हजार अमेरिकी डलर पठाएको पाइएको तर नियमानुसार नेपाल राष्ट्र बैंकलाई जानकारी नगराएको आयोगले जनाएको छ ।

दीक्षित दम्पतीको नाममा एसबिसी बैंक बेलायतमा २७ हजार ६३८ बेलायती मुद्रा मौज्दात रहेको, स्टयान्डर्ड बैंक बेलायतको ३६ हजार सेयर कनकमणिको नाममा रहेको र दम्पतीको नाममा एसबिसी बैंकको एक लाख २० हजार साधारण सेयर रहेको देखिएको अख्तियारको कथन छ । विभिन्न अन्तर्राष्ट्रिय सङ्घ तथा संस्थाबाट रु ११ करोड १२ लाख ४९ हजार ४३५ सहयोग लिएको र कुन प्रयोजनका लागि खर्च गरेको प्रष्ट नभएको, विभिन्न निकायबाट प्राप्त गरेको तलब भत्ता, लाभांश तथा सुविधाबापत रु पाँच करोड आम्दानी गरेको भएपनि आम्दानीभन्दा बढी सात करोड खर्च गरे पनि त्यसको आधार प्रष्ट नदेखिएको अख्तियारलाई उद्धृत गर्दै राससले जनाएको छ ।

दीक्षितले अमेरिकामा २०१० नोभेम्बर १० मा अमेरिकी डलर चार लाख ३५ हजारमा अपार्टमेन्ट खरिद गरेको, लामाटार–७ मा अवस्थित जग्गा कीर्ते गरी बेचबिखन गरेको र मोही एवम् गुठियारलाई झुक्याएको अनुसन्धानबाट पत्ता लागेको छ । त्यसैगरी, हिमाल मिडिया र जगदम्बा प्रेसले साल्ट टे«डिङ कर्पोरेसनलाई तिर्नुपर्ने एक लाख ४३ हजार ५३ र जगदम्बा प्रेसले तिर्नुपर्ने २१ हजार ५८९ अझैसम्म नतिरेको र सरकारी संस्थालाई घाटा पु¥याएको अध्ययनबाट देखिएको जनाइएको छ ।

आयोगका प्रवक्ता कृष्णहरि पुष्करले चल अचल सम्पत्ति गैरकानुनी रुपमा आफ्नो नाममा पारेको र सम्पत्तिका सम्बन्धमा परेको उजुरी छानबिनका लागि उपस्थित हुन पटकपटक गरिएको आग्रहलाई अटेर गरिएकाले पक्राउ गरिएको जानकारी दिए भने आयोगले गरेको अध्ययनबाट उनको परिवारका नाममा रहेको चल अचल सम्पत्ति, बैंक खातालगायतका विवरण यकिन गर्दा तालमेल नमिलेको, अनुसन्धान अधिकृतले पटकपटक अनुसन्धान प्रक्रियालाई सहयोग गर्न आग्रह गर्दा अटेर गरेको र आयोगको अनुसन्धानलाई प्रभावित पारेको आयोगको भनाइ छ । हिरासतमा राखिएको दीक्षितलाई आवश्यक कानुनी प्रक्रिया र प्रावधानका आधारमा थप छानबिन गरिने र विशेष अदालतमा पेस गरिने बताइएको छ ।

यसैबीच हिमाल खबरपत्रिकाका प्रकाशक पत्रकार कनकमणि दीक्षितलाई अख्तियार दुरुपयोग अनुसन्धान आयोगले प्रतिशोधपूर्ण भई पक्राउ गरेको भन्दै नेपाल पत्रकार महासंघ, हिमाल मिडिया शाखाले भर्त्सना गरेको छ ।
Kanak-Mani-Dixit-Arrest