यस्तो बन्दैछ नयाँ सैनिक मुख्यालय

यस्तो बन्दैछ नयाँ सैनिक मुख्यालय


sena 3

गत वर्षको विनासकारी भूकम्पको चपेटामा परेका विभिन्न संरचनामध्ये नेपाली सेनाको प्रधान कार्यालय पनि एक हो भन्ने धेरैलाई जानकारी नहुन सक्छ । तर, नेपाली सेनाको विभिन्न स्थानमा रहेका ११०९ वटा भौतिक संरचनाहरू क्षतिग्रस्त भएकामध्ये सैनिक मुख्यालयको भवन समेत पूर्णरुपमा क्षतिग्रस्त भएको थियो । सो क्षतिग्रस्त भवनलाई प्रतिस्थापित गरी नयाँ निर्माण हुने सैनिक मुख्यालयको भुकम्प गएको एक वर्षपछि सिलान्यास भएको छ । २०७३ वैशाख १० गते शुक्रबार प्रधानसेनापति राजेन्द्र क्षत्रीले एक विशेष समारोहबीच नयाँ निर्माण हुने जंगी अड्डा भवनको विधिवत रुपमा सिलान्यास गर्नुभएको छ ।

सैनिक जनसम्पर्क निर्देशनालयले जनाएअनुसार करिब २ लाख ८५ हजार वर्ग फिट क्षेत्रफलमा नयाँ निर्माण हुन लागेको भूकम्पप्रतिरोधात्मक जंगी अड्डाको आधुनिक भवन आगामी २ बर्षभित्र निर्माण सम्पन्न गर्ने लक्ष्य नेपाली सेनाले लिएको छ ।

यसैबीच नेपाल सरकारको निर्णयबमोजिम प्रधानसेनापति राजेन्द्र क्षत्री मित्रराष्ट्र संयुक्त राज्य अमेरिकाको सेनाको औपचारिक निमन्त्रणामा १० दिनका लागि आगामी आइतबार अमेरिका प्रस्थान गर्नुहुने भएको छ । US Army Command and General Staff College, Fort Leavenworth, Kansas तथा US Army War College, Carlisle Barrack, Pennsylvania मा आयोजना हुने International Fellows Hall of Fame Induction Ceremony (IHOF) मा सहभागी हुन उहाँ अमेरिका जान लाग्नुभएको हो ।
अमेरिकी सेनाको उक्त शिक्षण संस्थाहरुले त्यहांबाट तालिम सम्पन्न गरी उच्च ओहोदामा पुग्न सफल हुनु भएका शिक्षार्थीहरुलाई यस्तो सम्मान दिने प्रावधानअनुरुप प्रधानसेनापति क्षत्री सो सम्मान ग्रहण गर्न युएसए जान लाग्नुभएको हो । यी दुवै अमेरिकी सैनिक शिक्षण संस्थाको International Hall of Fame मा सम्मानित हुनुहुने वहां नेपाली सेनाको पहिलो प्रधानसेनापति हुनुहुन्छ ।

भ्रमणको दौरान प्रधानसेनापतिले अमेरिकी सरकारका उच्चपदस्थ अधिकारीलगायत वरिष्ठ सैनिक अधिकृतहरु तथा संयुक्त राष्ट्र संघका पदाधिकारीहरुसँग भेटघाट गर्नुका साथै विभिन्न सैनिक संरचनाहरुको समेत निरीक्षण भ्रमण गर्नुहुने कार्यक्रम रहेको बुझिएको छ ।
प्रधानसेनापतिको नियुक्तिपश्चात् मित्रराष्ट्रहरुको भ्रमणको सिलसिलामा उहाँ पहिलोपटक मित्रराष्ट्र अमेरिका जान लाग्नुभएको हो । उहाँको भ्रमणदलमा श्रीमती रीता क्षत्री, सहसैनिक सहायक महासेनानी अनुपजंग थापालगायत पाँचजना रहने छन् ।

sena 1