भू–समाधि जादू नभएको कृष्णदासजी महाराजको दाबी

भू–समाधि जादू नभएको कृष्णदासजी महाराजको दाबी


कृष्णदासजी महाराज

पोखरामा नौदिनसम्म भू–समाधि लिएको घटनासँगै चर्चाको उत्कर्षमा पुगेका सिद्धबाबा भनिने रामानन्दाचार्य सेवापीठ चतराका लाई बुधबार इटहरीमा भब्य स्वागत गरिएको छ । उनले गरेको तपस्याप्रति नतमस्तक इटहरीवासीले योगाभ्यासबाट प्राप्त गरेको अनुभव तथा समाधिमा लीन भएर विज्ञानलाई समेत दिएको चुनौतीपछि अध्यात्म र विज्ञानबीचको यथार्थ सत्यका विषयमा सिद्धबाबासँग आफ्नो सफलताका विषयमा आशीर्वचन सुनाउन आग्रह गरेका थिए ।

सो अवसरमा कृष्णदासजी महाराजले आफ्नो भू–समाधि कुनै जादु वा विज्ञानलाई चुनौती नभएर आफूले प्राप्त गरेको ज्ञानका कारणले सम्भव भएको बताए । उनले यति छोटो समयको भू–समाधिको सफलता कुनै आश्चर्य नभएर सामान्य विषय भएको समेत उल्लेख गरे । उनले विश्वका वैज्ञानिक र चिकित्सकले चाहेको अवस्थामा लामो समयसम्म पनि आफू भू–समाधिमा बसेर जीवितै बाहिर आउन सक्ने अभ्यास समेतको अनुभव आफूलाई प्राप्त भइसकेको दाबी गरेर सबैलाई चकित पारे ।

नेपालमा धेरै वर्षअघि देखि नै ऋषिमुनिले तपस्या गरेर ठूलठूला चामत्कारिक कार्य गरिसकेको धार्मिक ग्रन्थमा उल्लेख भएको दृष्टान्त राख्दै रामानन्दाचार्य सेवापीठले अहिले पनि त्यसलाई सार्थकतामा रुपान्तरण गरिरहेको उनको कथन थियो । पोखराको समाधिप्रति देशका धेरै विद्वान राजनेता, वैज्ञानिक, चिकित्सक र सञ्चारकर्मीले पनि बडो अभिरुचि लिएको उनले बताए । स्मरण रहोस्, पोखरामा उनले लिएको नौदिने समाधिमाथि विभिन्न आशंका र टिकाटिप्पणी सुरु भएको छ । विभिन्न चिकित्सकहरुले उक्त समाधि जालझेल रहेको आरोप लगाउँदै आफूहरुले तयार गरेको बाकसमा नौ दिन होइन नौ घण्टा मात्र पनि जीविच रहेर देखाउन सिद्धबाबालाई चुनौती दिएका छन् ।

यता कृष्णदासजी महाराजले भने हालैको आफ्नो नौ दिनको भू–समाधिले चिकित्सा विज्ञानलाई थप अनुसन्धान गर्ने बाटो देखाएको बताएका छन् । पोखरामा नौ दिनसम्मको लामो समाधि सकेर बुधबार विराटनगर पुगेका उनले भने,’मैले चिकित्सा विज्ञानलाई चुनौती दिएको हैन, थप अनुसन्धानको बाटो देखाइदिएको हुँ ।’ भौतिक शक्तिभन्दा अध्यात्मिक शक्ति ठूलो भएको बताउँदै उनले आफूले साधनाको अभ्यास गरेको आध्यात्मिक शक्तिले नौ दिनसम्मको समाधि सफल भएको दाबी गरे ।
कृष्णदासजी महाराज 2