यस्तो देखेछन् नेत्रविक्रमले

यस्तो देखेछन् नेत्रविक्रमले


Biplov netra-bikram-

नेत्रविक्रम चन्द ‘विप्लव’ नेतृत्वको माओवादी पार्टीले तेस्रो विश्वयुद्धको पृष्ठभूमि बन्दै गरेको र युद्धको सङ्घारतर्फ विश्व जाँदै गर्दा नेपालमा क्रान्तिका निम्ति अनुकूल अवस्था बन्ने निष्कर्ष निकालेको छ । कोरियाली प्रायद्वीपको तनाव, सिरिया प्रकरण, चाइना सागरमा उत्पन्न तनाव एवम् विवाद र उत्तरकोरियाले रसियालाई यस वर्षकै असल मित्र घोषणा गर्नुजस्ता घटनाले विश्वयुद्धको सङ्केत दिएको उक्त समूहको निष्कर्ष छ । साम्राज्यवादी बीचको टकरावले क्रान्तिलाई नजिक बनाएको सो पार्टीको ठहर छ । विप्लव नेतृत्वको उक्त पार्टीको केन्द्रीय समिति बैठक केही दिनअघि पाल्पामा सम्पन्न भएको र सो बैठकले उल्लिखित निष्कर्ष निकालेको सम्बद्ध सूत्रले जनाएको छ ।

बैठकमा लामो छलफलपछि पार्टी प्रमुख चन्दले बैठकको निष्कर्ष सुनाउँदै भनेका छन्, ‘संविधान, सरकार र राज्य असफल हुँदै छन्, बितेका दश वर्षभित्र अनेक अभ्यास भए, यस अवधिमा भएका हरेक ‘ट्रायल’ असफल भएका छन्, जातिवादी, क्षेत्रीयतावादी र धार्मिक अतिवादी चिन्तनले देशलाई खतराको मोडतिर लैजाँदै छ, साम्राज्यवादीहरू देशलाई आन्तरिक द्वन्द्वको त्यस्तै दिशातिर लैजान खोज्दै छन् ।’ नेता चन्दले पश्चिमाहरूलाई ‘आईएस’ले हैरानी दिएको स्मरण गर्दै भनेका छन्, ‘हामी आईएस’जस्ता होइनौँ, हामी त राजनीतिक शक्ति हौँ, विध्वंस र आतङ्कपूर्ण वातावरण सिर्जना गरी तहसनहस बनाउनु हाम्रो ध्येय होइन । नेपालका सहरिया मध्यमवर्ग र काठमाडौंवासीलाई सहभागी बनाएर गरिने क्रान्ति मात्र सफल हुनसक्छ भन्ने हाम्रो ठहर छ ।’ ओली नेतृत्वको सरकारबारे विप्लवले भनेका छन्, ‘सत्ता र वर्तमान सरकारले अभिजात वर्गको समेत विश्वास गुमाएको छ । यो आफैँमा कमजोर छ, हामीले एउटा धक्का मात्र दिए पनि यो गल्र्यामगुर्लुम ढल्छ ।’

केन्द्रीय समितिको बैठककै आसपास सो पार्टीले जिल्ला सचिव तहका नेता–कार्यकर्ताका निम्ति विशेष प्रशिक्षण कार्यक्रम आयोजना गरेको बुझिएको छ । पार्टी प्रमुख चन्दले घन्टौँ उभिएर पार्टी लाइन, विश्व परिवेश, क्रान्तिको भावी दिशा, नेपालमा बाह्य प्रभाव र नेपालमा क्रियाशील प्रमुख राजनीतिक दलहरूको दशा र दिशाबारे सहभागीहरूलाई जानकारी गराएका थिए ।