निजी भ्रमणमा भए पनि देउवाको महत्त्वपूर्ण भेटवार्ता हुँदै

निजी भ्रमणमा भए पनि देउवाको महत्त्वपूर्ण भेटवार्ता हुँदै


sher_araju deuba
प्रतिनिधिसभा सदस्य एवम् आफ्नी धर्मपत्नी डा. आरजु देउवाको उपचारका क्रममा भारत जानुभएका कांग्रेस सभापति शेरबहादुर देउवाको नयाँदिल्लीमा उच्च राजनीतिक भेटवार्ता पनि हुने जानकारी प्राप्त भएको छ । समाचारअनुसार भारतीय राजनीतिमा बलियो प्रभाव राख्ने राममाधव सिंह, प्रधानमन्त्री नरेन्द्र मोदीका सुरक्षा सल्लाहकार अजित डोभललगायत भारत सरकारका केही उच्चाधिकारीहरूसँग सभापति देउवाको भेटवार्ता हुने भएको छ । नितान्त निजी र अनौपचारिक भ्रमणमा नयाँदिल्ली जानुभएका देउवा यसपटक राजनीतिक भेटघाट गर्ने मुडमा हुनुहुन्नथ्यो । वैशाख ८ गते फोर्टिज अस्पतालमा पत्नी डा. आरजुको ‘हिपज्वाइन्ट रिप्लेसमेन्ट’का लागि शल्यक्रिया हुने भए पनि सभापति देउवा वैशाख ६ गते नै नयाँदिल्ली पुगिसक्नुभएको छ । उहाँको १२ गते स्वदेश फर्कने कार्यक्रम रहेको बुझिएको छ ।

तर, डा. आरजुले भने एकदेखि डेढ महिनासम्म अस्पतालमै आरामी लिनुपर्ने चिकित्सकहरूले बताएका छन् । १२ गते स्वदेश फर्कनुअघि अन्य कुन–कुन नेताहरूसँग सभापति देउवाको भेट हुने हो सो स्पष्ट हुन सकेको छैन, नेपालमा भने उहाँको भारतीय प्रधानमन्त्री नरेन्द्र मोदी, गृहमन्त्री राजनाथ सिंह र विदेशमन्त्री सुषमा स्वराजसँग पनि भेटवार्ता हुने चर्चा चलेको छ । तर, नयाँदिल्लीस्थित विभिन्न सूत्रहरूसँग सम्पर्क गर्दा मंगलबार (वैशाख ७ गते) सम्म यो चर्चाको पुष्टि हुन सकेन । भेटवार्ता जो–जससँग भए पनि देउवाको दिल्ली बसाइका क्रममा भारतीय नेता र उच्चाधिकारीहरूसँग हुने संवादले उच्च राजनीतिक महत्त्व राख्ने विश्वास गरिएको छ ।