दुई शीर्ष नेता सिंहदरबारमा भिड्दै !

दुई शीर्ष नेता सिंहदरबारमा भिड्दै !


दुई शीर्ष नेता

गुटको राजनीतिबाट काङ्ग्रेसलाई मुक्त तुल्याउने भन्दै आफूलाई सहमतिबाट पार्टी संसदीय दलको नेता बनाउन नेपाली काङ्ग्रेसका वरिष्ठ नेता रामचन्द्र पौडेलले गर्नुभएको प्रयत्न असफल भएपछि सभापति शेरबहादुर देउवा र नेता पौडेलबीच बुधबार संसदीय दलका नेतामा चुनाव हुने भएको छ । दुवै नेताले नेपाली काङ्ग्रेस व्यवस्थापिका–संसद्, संसदीय दलका नेताको जिम्मेवारी हासिल गर्ने ध्येयका साथ उम्मेदवारी दर्ता गर्नुभएको छ । मङ्गलबार सभापति देउवा र दोस्रा नेता पौडेलले आफ्ना पक्षका संसद्को दलबलका साथ उम्मेदवारी दर्ता गर्नुभयो ।

देउवाको समर्थकमा पदमनारायण चौधरी र प्रस्तावकमा फरमुल्ला मन्सुर तथा पौडेलको समर्थकमा प्रकाशमान सिंह र प्रस्तावकमा डा. शशाङ्क कोइराला रहनुभएको छ । उम्मेदवारी दर्तालगत्तै सभापति देउवाले व्यवस्थापिका–संसद्को सबैभन्दा ठूलो दलको हैसियतमा मुलुकका सबै पार्टीलाई एकताबद्ध बनाएर अघि बढाउन आफू अगैसर रहेको दाबीका साथ मधेसको समस्या समाधान गरी संविधान कार्यान्वयन गर्न र पार्टीलाई एक ढिक्का बनाउन आफूले उम्मेदवारी दिएको बताउनुभयो ।

यस्तै, नेता पौडेलले चाहिँ संसदीय दलको निर्वाचन पार्टीको लोकतान्त्रिक अभ्यास भएको प्रस्ट्याउँदै काङ्ग्रेसमा देखिएका समस्या समाधान गर्न र पार्टीलाई जिम्मेवारी बाँडफाँडका साथ एकताबद्ध बनाउन आफू संसदीय दलको नेता बन्न अग्रसर रहेको तर्क गर्नुभयो । संविधान कार्यान्वन्यनका लागि सबैको अपनत्व ग्रहण गराउन आफूले पहल गर्ने र त्यसको नेतृत्व काङ्ग्रेसले गर्नुपर्ने नेता पौडेलले बताउनुभयो । स्मरण रहोस्, काङ्ग्रेसमा २ सय ७ सांसद छन् भने यो पार्टीमा संसदीय दलको नेतालाई सम्भावित प्रधानमन्त्रीका रूपमा हेरिने भएकाले यस निर्वाचनलाई महत्त्वका साथ हेरिएको छ । काङ्ग्रेस संसदीय दलको निर्वाचन विद्युतीय मतदानबाट हुने तय भएको छ । पार्टी सभापतिको निर्वाचनमा प्रतिद्वन्द्वी पौडेललाई अत्याधिक मतले परास्त गर्नुभएका देउवाले संसदीय दलको निर्वाचनमा पनि सहजै विजय हासिल गर्नुहुने अनुमान गरिएको छ ।
दुई शीर्ष नेता 2
काङ्ग्रेस संसदीय दलको नेताको निर्वाचनपछि आगामी २६ गते शुक्रबार संसदीय कार्यसमितिको निर्वाचन गर्ने तालिका छ । कार्यसमितिमा प्रत्येक प्रदेशबाट एक एक जनाका दरले सात र समानुपातिक प्रतिनिधित्वको सिद्धान्तबमोजिम १५ जनाको निर्वाचन हुने दलको प्रावधान छ । कार्यसमितिको निर्वाचनका लागि समितिले उम्मेदवारी दर्ताका लागि भोली विहिबार विहान ११ देखि १ बजेसम्म समय निर्धारण गरिएको छ । दलको सबै निर्वाचन कार्यक्रम पार्टीको संसदीय दलको कार्यालय सिंहदरबारमा हुँदैछ ।

यसैबीच नेकपा (एमाले)का केन्द्रीय विभाग, सल्लाहकार र अञ्चल कमिटीका सदस्यको मनोनयनको विवाद टुङ्गो लगाउन महासचिव ईश्वर पोखरेलको संयोजकत्वमा तीन सदस्यीय कार्यदल गठन गरिएको छ । पोखरेलको संयोजकत्वमा सचिव पृथ्वी सुब्बा गुरुङ र गोकर्णराज विष्ट सदस्य रहेको कार्यदलले थप गृहकार्य गरी प्रस्ताव ल्याउन जिम्मेवारी दिएको एमालेले जनाएको छ । गुरुङ सङ्गठन र विष्ट मोर्चा सङ्गठन विभागको प्रमुख हुनुहुन्छ । बताइएअनुसार कार्यदलले सम्बन्धित विभागका प्रमुख र उपप्रमुखको सिफारिस, वरिष्ठता र सम्बन्धित पक्षसँगको छलफलबाट विवादको किनारा लगाउनेछ । यसअघि स्थायी कमिटीको यसअघिको निर्देशन बमोजिम केन्द्रीय सचिवालयले गृहकार्य गरी महासचिव पोखरेलले प्रस्तुत गरेको मनोनयनसम्बन्धी प्रस्तावमा विवादका कारण निर्णय हुन सकेको थिएन ।