…त्यसपछि काङ्ग्रेसले पचास वर्ष शासन गर्छ

…त्यसपछि काङ्ग्रेसले पचास वर्ष शासन गर्छ


:: घनश्याम गिरी

Ghanashyam Giri

०२० मा काठमाडौंमा जन्मेका र हालको चन्द्रागिरी नगरपालिकालाई कर्मथलो तुल्याउँदै आएका घनश्याम गिरी नेपाली काङ्ग्रेसका ठूला नेता नभए पनि ठूलै हैसियतमा रही देश र जनताको सेवा गर्न सक्ने खुवी भएका व्यक्ति हुन् । बाल्यकाल काठमाडौं नघलमा बिते पनि पछि पुख्र्यौली थलो दहचोकलाई लक्षित गर्दै उनको परिवार चन्द्रागिरी स्थानान्तरण भएपछि उनको कक्षा ६ देखिको पढाइ थानकोटको मंगलोदय हाइस्कुलमा भयो । पञ्चायतकालीन त्यस परिवेशमा गाउँमा एक वर्ग या समुदायको दबदबा थियो । एउटा खास समुदायले गरेको थिचोमिचोविरुद्ध स्थानीय बासिन्दाले सङ्घर्ष गरिरहेका थिए । आफू अध्ययन गरिरहेको विद्यालयको नाम परिवर्तन गरी स्थानीयमाथि थिचोमिचो गर्ने एक व्यक्तिको नाममा राख्न खोज्दा भएको प्रतिरोधमा जनताको जित भयो । उक्त घटनाले घनश्यामको मन खिच्यो र थिचोमिचोमा परेका जनतासँगै उभिन पुगे । यसपछि विस्तारै उनी राजनीतितिर आकर्षित भए । ०३६ सालको आन्दोलन चल्दा घनश्याम गिरी कलेज पढ्दै थिए । उक्त विद्यार्थी आन्दोलनमा पनि उनी सहभागी भए । राजनीति बुझ्न र सक्रिय हुनका लागि अवसर भयो ०३६ सालको विद्यार्थी आन्दोलन । त्यतिबेलाका प्रजातन्त्रवादी स्थानीयवासीले गाउँमा छुट्टै स्कुल खोल्ने निर्णय गरे । ०३७ फागुन १ गते घनश्याम गिरीलाई प्रधानाध्यापक बनाएर खुला आकाशमुनि चौरमा एउटा विद्यालय सञ्चालनमा आयो । उनको पारिवारक पृष्ठभूमि ‘आर्मी’को रहे पनि बुबालाई सोध्दा गाउँलेको निर्णयअनुसार काम गरिदिनु भन्ने भयो र उनी शिक्षण पेसामार्फत गाउँ सेवा गर्न थाले । ०३६ वर्ष हेडमास्टर भएर काम गरेका गिरी यसबीच काङ्ग्रेसको भ्रातृ सङ्गठन नेपाल शिक्षक सङ्घमा आबद्ध रही तलदेखि माथिसम्मै आबद्ध रहे । पञ्चायतदेखि बहुदल हुँदै राजाको सक्रिय शासनकाल र गणतन्त्रसम्म पनि आफूलाई उत्तिकै सक्रिय र जुझारु रूपका कायम राख्दै राजनीति र समाजसेवामा योगदान पुर्‍याएका घनश्याम गिरी हाल नेपाली काङ्ग्रेस चन्द्रागिरी नगरपालिकाका नगर सभापतिको रूपमा काङ्ग्रेस–राजनीतिमा सक्रिय छन्, शिक्षण पेसाबाट हालै अवकाश लिएका छन् उनले । पर्यटकीय तथा धार्मिक एवम् सांस्कृतिक रूपले सम्पन्न चन्द्रागिरी नगरपालिकाको विकासका लागि उनी उहिलेदेखि हालसम्म पनि अहोरात्र जुटिरहेका छन् । स्थानीय भूमिका आफ्नै ठाउँमा छ, कसो गर्दा देश र जनताको हित हुन्छ भन्ने सन्दर्भमा प्रखर युवा नेता घनश्याम गिरीसँग आफ्नै स्पष्ट धारणा, अडान र योजनाहरू छन् । गाउँ–ठाउँको विकासका निम्ति अनेक ‘रिस्क’ लिएर काम गरेका उनप्रति अन्य दलका कार्यकर्ताले पनि भरोसा राख्छन्, केही गर्न सक्ने व्यक्ति भन्दै प्रशंसा गर्छन् । आफूसम्बद्ध दल काङ्ग्रेसले आजसम्म गरेका राम्रा कामको समुचित प्रचार गर्न नसकेकोमा उनलाई खेद छ । आफूभन्दा कनिष्ट कैयन् पात्रहरू पार्टीमा पद या स्थान ओगट्ने मामलामा अगाडि परे पनि उनी धैर्यशील भई आफ्नो कर्ममा लागिपरेका छन् । कर्मलाई महान् ठान्ने उनी एक न एक दिन पार्टीले मूल्याङ्कन गर्छ भन्नेमा विश्वस्त छन् । प्रस्तुत छ, यिनै जुझारु र प्रखर युवा घनश्याम गिरीसँग गरिएको कुराकानीका केही अंश ।

० नेपाली काङ्ग्रेसतर्फ नै आकर्षित हुनुको कारण के थियो ?
– बीपीले मार्गदर्शन गराउनुभएको प्रजातन्त्र, स्वतन्त्रताजस्ता काङ्ग्रेसले अवलम्बन गरेको बाटोले सुरुदेखि नै मलाई आकर्षित गर्‍यो । ०३६ मा बहुदल–निर्दलको जनमतसङ्ग्रह हुँदा म गणेशमान सिंहको एजेन्ट बसेको थिएँ । पञ्चायतको दबदबा थियो त्यतिबेला, एजेन्ट बस्न पनि हम्मेसी कोही तयार हुँदैनथे । हामी युवा विद्यार्थीमा त्यो आँट र जोस थियो । राजा फाल्न लागेको आरोप हामीमाथि लाग्थ्यो, हामीचाहिँ निर्भीक भई गणेशमानजीलाई हामी काठमाडौंका विभिन्न स्थानमा भाषण गर्न लगाउँदै प्रजातान्त्रिक आन्दोलनमा क्रियाशील हुन्थ्यौँ । वास्तवमा गणेशमानजीको बुथ एजेन्ट बसेर मैले आफ्नो औपचारिक राजनीतिक यात्रा सुरु गरेँ भन्नुपर्ने हुन्छ । त्यसयता स्थानीय निकायमा काङ्ग्रेसलाई जिताउने, क्षेत्र जिताउने, जिल्ला जिताउने र सांसद/सभासद् जिताउनेजस्ता भूमिकामा आफूलाई उभ्याइयो ।

० यति लामो समयदेखि काङ्ग्रेसमा आबद्ध हुनुहुन्छ, बीचमा कहिल्यै पार्टीप्रति असन्तुष्टि या वितृष्णा जागेन ?
– यदाकदा त्यस्ता क्षण पनि आउँदा रहेछन् पार्टी–राजनीतिको दौडानमा । हरेक आन्दोलनमा मरिमेटेर आफू लागिपर्ने, तर खासै भूमिका नभएकाहरूले अवसर पाएको देख्दा चित्त दुख्दोरहेछ । आफूभन्दा निकै जुनियर साथीहरूले ठुल्ठूलो जिम्मेवारी पाएको, सांसदलगायतका महत्त्वपूर्ण ओहोदा भेटेको, आफूचाहिँ निरन्तर पार्टीको काममै लागिरहँदा पनि पार्टीले खासै मूल्याङ्कन नगरेको भन्ने खालको सोच कहिलेकाहीँ मनमा आउँदा वितृष्णा जाग्न खोज्छ, तर म तुरुन्तै आफूलाई सम्हाल्छु । विगतको निर्वाचनमा पनि सभासद्को उम्मेदवारको रूपमा मेरो नाम छनोट हुँदै गर्दा बीचैमा अर्का साथीले अवसर पाए । क्षणिक रूपमा नमज्जा लाग्यो, तर आफ्नो कर्तव्य निर्वाह गर्दै जानुपर्छ, एक न एक दिन त अवश्यै मूल्याङ्कन होला नि भन्ने सोचेर पुन: उत्तिकै ऊर्जाशील भई राजनीतिको माध्यमबाट समाजसेवामा संलग्न रहँदै आएको छु म । जसले टिकट पाए पनि आफ्नै पार्टीका साथी हुन् भनेर हामी मरिमेटेर चुनावमा खटियौँ । जुझारु साथीहरूको अथक मिहिनेत खेर गएन, काठमाडौंको ९ र १० नम्बर क्षेत्र दुवै क्षेत्र चन्द्रागिरी नगरपालिकाअन्तर्गत पर्छ, दुवैमा नेपाली काङ्ग्रेसको जित भयो । यसले व्यक्तिगत रूपमा मलाई निकै सन्तुष्टि पनि दियो ।

० जनआन्दोलनसँग जोडिएको बिर्सन नसक्ने त्यस्तो कुनै क्षण छ तपाईंको सम्झनामा ?
– मैले भनिहालेँ कि ०३६ सालको विद्यार्थी आन्दोलनदेखि नै म हरेक राजनीतिक आन्दोलनहरूसँग जोडिएको छु । यसर्थमा त्यस्ता बिर्सन नसकिने क्षण वा घटनाहरू त थुप्रै छन् । पछिल्लो जनआन्दोलनको क्रममा पनि थानकोटदेखि ६०–७० हजारको जुलुसको नेतृत्व गरी म टुँडिखेल आएको थिएँ । त्यस क्रममा आफूसँगै आएका पाँचजना साथीहरू गोलीबाट ढालिए । आफूसँगै आएका साथीहरू सहिद भएपछि अब कुन मुखले घर–गाउँ फर्किने भनी म अत्यन्तै गम्भीर बनेँ । उक्त घटना म हम्मेसी बिर्सन सक्दिनँ ।

० काङ्ग्रेसलाई गुटको राजनीतिले गाँजेको छ भनिन्छ, तपाईं पनि कुनै समूहमा हुनुहुन्छ कि ?
– एउटै दलभित्र विभिन्न खेमा देखिनु, आपसी गुटबन्दी गरेर पार्टीलाई नै कमजोर तुल्याउनु अत्यन्त घातक कुरा हो भन्ने मलाई लाग्छ । त्यसैले म गुटमा पटक्कै विश्वास गर्दिनँ । तथापि, पार्टीमा विभिन्न पोस्ट लिन, टिकट लिन या अन्य विभिन्न लाभ लिने मामलामा गुट–उपगुटले धेरै भूमिका निर्वाह गरिरहेका देखिन्छन्, यो विडम्बना हो । फलानो त यो समूहको, फलानो ऊ समूहको भनी आफ्नै पार्टीका सदस्यबीच असहयोग गर्ने, खुट्टै तान्ने प्रवृत्तिले धेरै इमानदार काङ्ग्रेसजनको हृदय दुखाएको हुनुपर्छ, यसले गर्दा धेरैलाई निष्क्रिय तुल्याइदिएको पनि हुन सक्छ । त्यसैले, यस्तो गुटको राजनीतिको अन्त्य हुनुपर्छ, यसलाई चिर्नैपर्छ । र, १३औँ महाधिवेशनले दिएको नतिजाका आधारमा मलाई लाग्छ कि अब यस्तो गुटगत प्रवृत्तिको विस्तारै अन्त्य हुनेछ । हिजो संस्थापन र अर्को पक्ष भन्ने साथीहरूले अब बुझ्नैपर्छ कि अब काङ्ग्रेसमा कुनै समूह छैन, सबै यसको संस्थापन पक्ष भएका छन् र एकजुट भई पार्टीलाई मजबुत तुल्याउँदै देशको सेवा गर्न अग्रसर हुनुपर्ने परिवेश निर्माण भएको छ ।

० काङ्ग्रेसले पटक–पटक अवसर पाएर पनि देशलाई राम्रो नेतृत्व दिन सकेन भन्नेहरू पनि छन्, काङ्ग्रेसको वर्तमान नेतृत्वप्रति तपाईं कति आशावादी हुनुहुन्छ ?
– म निकै आशावादी छु । नेपालको वर्तमान सन्दर्भमा भन्ने हो भने नेपाली काङ्ग्रेसबाहेक अर्को त्यस्तो आस गर्न सकिने कुनै शक्ति नै छैन । म काङ्ग्रेसको सदस्य भएर मात्र यो भनिरहेको छैन, स्वतन्त्र, निष्पक्ष र पूर्वाग्रहरहित भई मूल्याङ्कन गर्ने हो भने यो स्वीकार गर्नैपर्छ । कुशलताका साथ राज्य सञ्चालन गर्न यतिबेलाको परिवेशका आधारमा भन्ने हो भने नेपाली काङ्ग्रेसको विकल्प छैन । अनुभवले पनि यही देखाइसक्यो कि पञ्चायतकालमा पनि राज्य राम्ररी चलेन, एमालेले पनि सकेन, माओवादीले पनि सकेन । नेपाली काङ्ग्रेसले ०४८ सालमा लागू गरेको नीति र कार्यक्रमकै आधारमा अहिलेसम्म मुलुक थेगिएको छ । अरू कसैले कुनै नयाँ नीति र कार्यक्रम ल्याउन सकेकै छैन, सबै काङ्ग्रेसकै रोडम्यापमा चलेका हुन् । काङ्ग्रेसले ल्याएको खुला आर्थिक नीति, शिक्षा, सञ्चारलगायतका क्षेत्रमा उसले अघिसारेको धारणाकै भरमा मुलुक चलेको छ । यदि काङ्ग्रेसले लागू गरेको नीतिअनुसार बीचमा कुनै बाधा–व्यवधान नदिई राज्य सञ्चालन हुन पाएको भए नेपाल आज धेरै अगाडि गइसक्थ्यो । विद्युत् आयोजनालगायतमा एमालेहरूले अवरोध नपुर्‍याइदिएको भए आज दश–बीस हजार कमाउनका लागि नेपाली युवा बिदेसिनुपर्ने थिएन । सबै नेपालमै रोजगार हुन्थे । बहुराष्ट्रिय कम्पनीहरू भित्रिसकेका थिए, नेपालमा लगानी गर्न नामी कम्पनीहरू तयार भइसकेका थिए, तर राजनीतिक अस्थिरताले बर्बाद बनायो । यस्तो परिवेशमा मूलत: मगन्ते नीतिबाट मुलकले निकास पाउनुपर्छ । त्यसैले अब फेरि पनि काङ्ग्रेस नै चाहिन्छ र काङ्ग्रेसको नयाँ नेतृत्वले मुलुकका वर्तमान समस्या समाधान गर्दै मुलुकलाई बढाउन सक्षमता प्रदर्शन गर्नेछ ।

० यसको मतलब काङ्ग्रेसले अब तत्काल सरकारको नेतृत्व लिइहाल्नुपर्छ कि कसो ?
– तत्काल सत्ता हातमा लिनुपर्छ भन्ने होइन । पहिले त १३औँ महाधिवेशनबाट आएको नेतृत्वले पार्टीलाई व्यवस्थित गर्नुपर्ने हुन्छ । पार्टीको सही व्यवस्थापनबिना देशको नेतृत्व लिने कुरा अस्वाभाविक बन्न पुग्छ । पार्टीका भ्रातृ संस्थाहरूको निर्वाचन ६ महिनाभित्रै गराई पार्टीलाई चुस्तदुरुस्त पार्नु आवश्यक छ । १८ वर्षदेखि देशमा स्थानीय निकायको निर्वाचन हुन नसकेकोले अनेक विकृति देखापरेको छ । अस्तव्यस्त बनेको छ मुलुक, यसलाई चिर्न सुदृढ काङ्ग्रेसको आवश्यकता छ । सरकारबाहिर बसेर पनि काङ्ग्रेसले यी कार्य गर्न सक्छ । वर्तमान सरकार त आफ्नै बोझले ढल्छ, हामीले ढाल्नैपर्दैन भनी पार्टीसभापति देउवाले भनिसक्नुभएको छ । यथार्थ पनि त्यही नै हो । केही समय अझै मौका दिनु नै उपयुक्त हुन्छ, बेथिति बढ्दै गयो भनेचाहिँ मुलुककै ठूलो दल नेपाली काङ्ग्रेसले टुलुटुलु हेरिबस्ने कुरा आउँदैन, सरकारको नेतृत्व लिन अग्रसर हुनैपर्छ, हुन्छ, नेतृत्व पनि लिन्छ र सरकारको नेतृत्व पनि सभापति देउवाले नै गर्नुहुनेछ ।

० हिजो पनि सरकार चलाएकै हो, अब खै के पो गर्ला र काङ्ग्रेसले भन्ने जनगुनासोबारेचाहिँ के भन्नुहुन्छ नि तपाईं ?
– पहिलेको र अहिलेको परिवेश फरक छ । अनुभवबाट पनि धेरै सिकेको छ काङ्ग्रेसले, र अनावश्यक अवरोधहरू पनि नरहलान् अब । त्यसैले अबको दश वर्ष अवधि काङ्ग्रेसका लागि ठूलो मौका हो देश बनाउने । यो अवधिलाई पनि निस्फल खेर फालियो, आमनेपालीको चाहना पूर्ति गर्न सकिएन भनेचाहिँ पार्टीको भविष्य नै खतरामा पर्नेछ । गणतन्त्रले पनि के दियो र भनी जनतामा वितृष्णा पैदा भई लोकतान्त्रिक गणतन्त्रकै भविष्य अन्धकार हुनेछ । तर, अवसरको सदुपयोग गरी इमानदारीका साथ जनतालाई ‘डेलिभरी’ दिन सकियो भनेचाहिँ काङ्ग्रेसले यो मुलुकमा अर्को पचास वर्ष राज्य गर्नेमा म विश्वस्त छु । जनचाहनाअनुसार चल्दा आज विश्वका कैयन विकसित मुलुकमा पनि राजतन्त्र टिक्नुमा जनतालाई ‘डेलिभरी’ दिन सकेकैले हो भन्ने हामीले बुझ्नुपर्छ । तत्काल राज्यले जनतालाई के दिन सक्छ, दिइहाल्नुपर्छ । ओलीजीले जस्तो फगत बोली होइन ‘परिणाम’ दिन सक्नुपर्छ, समयानुकूल नयाँ धारणाका साथ काङ्ग्रेसले देश र जनतालाई यस्तै परिणाम दिन्छ पनि ।

० संविधान कार्यान्वयनमा कठिनाइ देखिँदै छ नि, के भन्नुहुन्छ ?
– यसका लागि पनि काङ्ग्रेसले अगुवाइ गर्नुपर्छ । नजिकका छिमेकी मित्रराष्ट्रहरूलाई विश्वासमा लिन सक्नुपर्छ । सम्बन्धको सन्तुलन मिलाएर अघि बढ्ने क्षमता दर्शाउनुपर्छ । दलका नेताहरूकै नालायकीका कारण परराष्ट्र नीति अस्पष्ट छ, भन्नैपर्दा नाजुक अवस्थामा छ । भारतको विरोध गरे राष्ट्रवादी होइनेजस्तो विकृत धारणा मौलाएको छ । हामी आफ्ने यथार्थ धरातल नहेरी बहकिने गरेका छौँ । यसले हामीलाई राम्रो परिणाम दिँदैन । आजको ग्लोबलाइजेसन युगमा सङ्कीर्ण सोच राखेर कुनै पनि मुलुक र मुलुकवासीले आफूलाई अगाडि लैजान सक्दैन । त्यसैले, संविधान कार्यान्वयनको विषयसँग पनि कहीँ न कहीँ यो विषय जोडिएर आउँछ । तर, मलाई लाग्छ– यो समस्याको समाधान पनि काङ्ग्रेसले खोज्ने नै छ ।

प्रस्तुति : जयप्रकाश त्रिपाठी