ल्हारक्यालका कारण एमाओवादी बदनाम

ल्हारक्यालका कारण एमाओवादी बदनाम


Lilamani pokhrel

:: लीलामणि पोखरेल (एमाओवादी नेता) ::

० तपाईंको पार्टीका सांसद ल्हारक्याल लामा अवैध कर्ममा संलग्न भएको अभियोगमा पक्राउ परेका छन्, यसलाई कसरी लिनुभएको छ ?
– मिडियामार्फत मैले पनि यो जानकारी पाएँ । स्वाभाविक रूपले एउटा पार्टीको सांसद जस्तो व्यक्ति अवैधानिक क्रियाकलापमा मुछिएर कानुनी कारबाहीको दायरामा पुग्नु भनेको दुःखद् सन्दर्भ हो । यसले हाम्रो पार्टीको छविमा आँच पु¥याएको छ, पार्टीलाई यसबाट घाटा नै पुग्छ भन्ने मलाई लाग्छ ।

० पार्टीको प्रतिष्ठा, गरिमा नै गिर्ने–गिराउने खालका मानिस एमाओवादीजस्तो दलको सांसद कसरी हुन सके होलान् ?
– कसरी हुन्छन्, कसरी भए भन्ने सवालमा पार्टीभित्र अवश्य छलफल हुनेछ ।

० सांसदजस्तो व्यक्तिले बैंकको लकरमा बन्दुकको गोली किन राखे होलान् ?
– बैंकको लकर भनेको मौद्रिक सुरक्षा या अन्य वैधानिक सम्पत्ति सुरक्षाका लागि प्रयोग गरिने स्थान हो । तसर्थ, लकरमा गोली राखिने भन्ने कुरा कुनै तर्कले पनि स्वाभाविक या जायज भन्न मिल्दैन । यदि यो घटना सत्य हो भने त्यसले सम्बन्धित व्यक्तिको मात्र नभई पार्टीको छविमा पनि नकारात्मक असर पार्छ र जनतामा पनि सुरक्षासम्बन्धी नकारात्मक असर नै पर्ने हुन्छ ।

० तीन देशको नागरिकता लिएको भनी विगतमा पनि विवादित भई दश दिनमै राज्यमन्त्री पदबाट हात धुनुपरेको थियो ल्हारक्याल लामाले, यस्ता व्यक्तिमाथि समयमै छानबिन र कारबाही किन हुन नसकेको होला ?
– यस विषयमा छानबिन वा उत्खनन गरी कारबाहीको दायरामा ल्याउने जिम्मेवारी राज्यका निकायहरूको हो । नागरिकले त यसबारे आफूलाई लागेका प्रतिक्रिया जनाउने न हो । तीनवटा देशको नागरिकता लिएको व्यक्ति यो देशको सभासद्÷सांसद बन्न सक्दैन । एउटै व्यक्ति एकभन्दा बढी देशको नागरिक कसरी हुन सक्छ ? यो मिल्दैन । मानार्थ नागरिकता प्रदान गर्ने व्यवस्था छ क्यारे, तर नागरिक नै भनी किटान हुने त कुनै एक देशको मात्रै हो । यदि यो कुरा सत्य हो भने सरकारले यसबारे छानबिन गरी टुङ्गो लगाउनुपर्ने हुन्छ । हिजोकै सरकारले पनि यो गर्नुपर्ने थियो ।

० ल्हारक्याल त काङ्ग्रेस, एमाले हुँदै एमाओवादी प्रवेश गरेका व्यक्ति हुन्, यस्तामाथि पहिल्यै शङ्का गर्न किन नसकेको तपाईंको दलले ?
– मानिसहरू कहाँ–कहाँबाट कुन–कुन पार्टीमा प्रवेश गर्छन्, त्यो उसको स्वतन्त्रताको कुरा हो । पार्टी छोड्नु या समाउनु, नयाँ पार्टीमा जानु या नयाँ दल खोल्नुलाई अनैतिक कुरा नै हो भनी भन्न पनि मिल्दैन । यो मानवीय स्वतन्त्रताको कुरा हो । तर, मोरल ग्राउन्ड पनि यहाँनेर विचार गर्नुपर्ने हुन्छ । हरेक व्यक्तिको एउटा नैतिक धरातल त रहनैपर्छ । कुन व्यक्तिले कतिबेला के बोलिरहेको हुन्छ र के गरिरहेको छ भन्ने कुराको नैतिक लेखाजोखा हुनु वाञ्छनीय नै हुन्छ । यसको मूल्याङ्कन जनताले गरिरहेका हुन्छन् । सायद यस कोणबाट ल्हारक्याल लामा जनदृष्टिमै चुकेका छन् ।

० परिवर्तनका लागि क्रान्ति गरेको, सशस्त्र युद्धमै होमिएको पार्टीमा यस्ता अनैतिक व्यक्तिको प्रवेश सुहाउँदो कुरा हो त ?
– मैले भनिहालँे नि, यसले पार्टीको छविमै आँच पु¥याउन सक्छ भनेर । ल्हारक्याल लामाको विषयमा उतिबेलै पनि विवाद भएको हो, पार्टीका कैयन साथीहरूले विरोधमा आवाज उठाएकै हुन् । त्यही विवादलाई पुनः कोट्याइरहनु म आवश्यक ठान्दिनँ । यस्ता व्यक्तिले पार्टीको नीति–सिद्धान्तमै प्रभाव पार्ने कुरा त्यति सम्भव नहोला, तर पार्टीको छवि भने धमिल्याउन सक्छन् । यो खेदको विषय हो ।

० ल्हारक्यालले तपाईंको दललाई प्रयोग गरी उच्च ओहोदामा पुग्ने प्रयत्न गरिरहेका थिए भन्ने चर्चा पनि चलेको छ, तपाईं यसबारे कति जानकारी राख्नुहुन्छ नि ?
– पार्टीका कुन साथीले के लक्ष्य र योजना बुनिरहेका छन् भन्ने कुरा हरेकलाई जानकारी हुनु सम्भव नहोला, त्यसैले ल्हारक्याल लामाले कुन उद्देश्य राखेका थिए भन्ने मैले जान्ने कुरा भएन । एउटा सांसदको नाताले मन्त्री बन्छु भन्ने सोच पालेका थिए भने त्यसलाई अस्वाभाविक रूपमा चित्रित गर्न पनि म सक्दिनँ ।

० तपाईंको पार्टी यस्ता व्यक्तिलाई बचाउन लागिपर्छ कि पर्दैन त अब ?
– यस्ता सामाजिक अपराधमा संलग्न देखिने व्यक्तिलाई संरक्षण दिन खोज्नु, बचाउन लागिपर्नु पार्टीहितमा हुन किमार्थ सक्दैन । कनुनतः बर्जित काम गरेको स्वीकार गरिसकेको भन्ने कुरा आएको सन्दर्भमा पार्टीले बचाउन या संरक्षण दिन लागिपर्ने त सवाल नै आएन नि ।

० किटान गरेर भन्न सक्नुहुन्छ ल्हारक्याल लामालाई पार्टीले संरक्षण दिँदैन भनेर ?
– कुनै लामा होस्, क्षेत्री होस्, खत्री होस् या जोसुकै होस्, जसले पार्टीहितविपरीत काम गर्छ भने त्यस्तालाई संरक्षण गर्नुपर्छ भन्ने मेरो मान्यता छैन ।

० प्रसङ्ग बदलौ“, प्रधानमन्त्री ओलीबाट चीन भ्रमण हुँदै छ, उहाँको भ्रमणका अवसरमा चीनसँग के–कस्तो सहमति या सम्झौता हुनुपर्ला ?
– नेपाली जनताले तत्काल या सर्वप्रथम सोच्नुपर्ने कुरा त छिमेकीसँगको सुमधुरता नै हो । किनकि, अरू सबै कुरा बदल्न सकिए पनि देशले आफ्नो छिमेकी फेर्न सक्दैन । यसरी बदल्नै नसक्ने कुरासँग मिलेर बस्नुपर्छ, त्यसो हुन नसके दुवै पक्षले विभिन्न दुःख, हैरानी व्यहोर्नुपर्ने हुन्छ । यस हिसाबमा हामीले हाम्रा दुवैतिरका छिमेकी मुलुकसँग समदूरीको आधारमा सम्बन्ध सुमधुर बनाउनुपर्छ । दक्षिणतिर हामीले धेरै कटु अनुभव गरिसकेका छौँ । यसबाट पाठ लिएर छिमेकीहरूसँगको सम्बन्धमा हामीले विशेष गम्भीरता अपनाउनुपर्छ । इन्धन आयातको सवालमा भारत स्वयम् नै पन्ध्र–सोह्र राष्ट्रप्रति निर्भर छ भने हामीले पनि इन्धन आयातको सुरक्षार्थ कुनै एक राष्ट्रमाथि निर्भर नरहने परिवेश निर्माण गर्नेतिर लाग्नुपर्छ । मेरो मतलब चीनसँग हामीले इन्धन आयात गर्न सक्ने कुनै सम्भाव्यता रहन्छ भने त्यसखालको सम्झौता गर्नुपर्छ भन्ने नै हो ।