‘मधेस–समस्याले अब निकास पाउँछ’

‘मधेस–समस्याले अब निकास पाउँछ’


mahendra-yadav
:: महेन्द्र यादव ::

नवनिर्वाचित पार्टीसभापति शेरबहादुर देउवाले पहिल्यै भन्नुभएको छ कि यदि आफू पार्टीसभापति निर्वाचित भएमा मधेसका समस्यालाई उपयुक्त ढङ्गबाट सम्बोधन र समाधान गर्नेछु । मधेसी जनता, मधेसवादी दलहरू र सरोकारवाला अन्य सबै पक्षसँग बसेर, छलफल गरी यथाशक्य छिटो निकास निकाल्ने कुरा मेरो प्राथमिकताको विषय बन्नेछ भनेर उहाँले हामीसँग भन्दै आउनुभएको थियो । यसमा अब नेता देउवाले सकारात्मक पहलकदमी लिनुहुनेछ भन्नेमा म विश्वस्त छु । मधेस समस्या समाधानको निम्ति यो देशमा कुनै नेतासँग प्रभावकारी फर्मुला छ भने त्यो नेता देउवासँग नै छ । उहाँले सीमाङ्कनलगायत मधेसका जे–जे मुद्दा छन्, म पार्टीसभापति भएपछि सरसल्लाहबाट समाधान गर्नेछु भनेर पटक–पटक जुन प्रतिबद्धता जनाउनुभएको थियो, अब यसले मूर्तरूप पाउने सम्भावना बढेर गएको छ ।

नेपालमा जति पनि राजनीतिक दलहरू छन्, सबैलाई समेट्ने, को–अर्डिनेसन गरेर अघि बढ्ने क्षमता नेता देउवामा छ, यो उहाँको विशेष खुवी नै हो भन्छु म । विगतमा पनि उहाँले यो क्षमता प्रदर्शन गर्नुभएको छ र अब पनि यही क्षमताको आधारमा उहाँले समस्या समाधान गर्नुहुनेछ । सङ्घीय लोकतान्त्रिक गणतन्त्रात्मक संविधान कार्यान्वयनको मार्गमा यतिबेला जुन जटिलता पैदा भएको महसुस गरिएको छ, यस विडम्बनापूर्ण परिस्थितिलाई चिर्न नेता देउवाको नेतृत्वले अहम् र अविष्मरणीय भूमिका निर्वाह गर्नेछ । त्यसैले मधेसका जनताले पनि उहाँमाथि ठूलो विश्वास गरेर सभापतिका लागि अत्यधिक मत दिएका हुन् ।

‘सबैलाई समेटे देउवा सफल हुनुहोला’
Badri-Pandey
:: बद्री पाण्डे ::
पहिलो चरणको निर्वाचनमा नेता देउवालाई हामीले अपेक्षा र अनुमान गरेभन्दा बढी मत आएको हो । जहाँसम्म दोस्रो निर्वाचनमा शेरबहादुर देउवालाई हासिल भएको मत छ, त्योचाहिँ स्वाभाविक मत हो भन्ने मेरो धारणा छ । किनकि, पहिलो निर्वाचनपछि जुन खालको परिणाम देखियो, त्यो दोस्रो दिनको परिणामलाई प्रभावित तुल्याउने खालकै थियो । यो परिणामलाई कुनै अनौठो मान्नुपर्ने म ठान्दिनँ । जहाँसम्म रामचन्द्र पौडेलजीको पराजयले पार्टीमा कुनै असर पुर्‍याउला कि भन्ने सवाल छ, यो निर्वाचन पूर्णत: लोकतान्त्रिक विधिबाट भएको छ र प्राप्त परिणामलाई सबैले सहजताका साथ अङ्गीकार गरेका पनि छन् । यस्तोमा अब पार्टीका सबै मिलेर एकताको बाटोमा अघि बढ्नुको विकल्प छैन । यसका लागि जित्नेले पनि जितेको दम्भ पाल्ने या प्रदर्शन गर्ने व्यवहार देखाउनुहुँदैन र हार्ने पक्षले पनि म सकिएँ, समाप्तै भएँ भन्ने भाव जन्माउनु आवश्यक छैन । नेतृत्व चयनको यो एउटा विधि थियो, जसको पूर्ण पालना भएको छ भन्ने मनन गर्दै पार्टीलाई एकताबद्ध बनाएर लैजाने कर्ममा सबैको साथ–सहयोग रहनुपर्छ भन्ने म ठान्दछु ।

सफल सभापति बन्नका लागि नवनिर्वाचित सभापतिले पार्टी–विधानको पूर्ण पालना गर्नुपर्छ । भर्खरै दिवङ्गत हुनुभएका पूर्वसभापति सुशील कोइरालाले भन्नुभएजस्तै पार्टीलाई संस्थागत बाटोबाट अघि बढाउनमा कुनै कसर छोड्नुहुँदैन । विधानको परिपालना गर्ने, यसको संस्थागत विकास गर्ने, नीति–कार्यक्रमको मातहतमा चल्ने, व्यक्तिगत नभई संस्थागत हिसाबले काम गर्ने नीति अवलम्बन गरियो भने सबै कुरा त्यसैले नै सल्टाउँछ भन्ने मलाई लाग्छ । राम्रो काम गर्नका लागि हामी सबैको साथ–सहयोग सभापतिलाई रहन्छ । स्वाभाविक रूपमा नेता देउवाले सबैलाई समेटेर लैजानुपर्छ र त्यसरी अघि बढ्न उहाँ सक्नुहोला भन्ने अपेक्षा र कामना गरौँ ।