नयाँ शक्तिमा पुराना फिल्मी अनुहार !

नयाँ शक्तिमा पुराना फिल्मी अनुहार !


Karisma
पुराना पुस्ताका भए पनि करिश्मा मानन्धर, अशोक शर्मा र सरोज खनाल भनेका अहिले पनि चल्तीका अनुहार हुन् । तर, जतिसुकै बढाइचढाइ गर्न खोजे पनि नयाँ पुस्ताका कलाकारसँग प्रतिस्पर्धा गर्ने हैसियत भने यिनले राख्दैनन् । एक जमानाका चलेका निर्माता शर्मा अहिले प्रतिस्पर्धात्मक फिल्म बनाउन नसकेर फिल्म वितरणतिर लागेका छन् भने नायिका करिश्माले पनि फिल्म निर्माणमै जोड दिन थालेकी छिन् । यस्तै, एक दशक प्रवासमा बिताएका सरोजको फिल्मीयात्राको दोस्रो चरण कस्तो हुने हो, अझै केही भन्न सकिन्न ।

यस्तैमा, पूर्वप्रधानमन्त्री एवम् माओवादी नेता डा. बाबुराम भट्टराईले गठन गरेको नयाँ शक्तिमा यी तीनै कलाकर्मीले महत्त्वपूर्ण भूमिका पाएका छन् । आफ्नै क्षेत्रमा नयाँ केही गर्न नसकेर अस्ताएका यी कलाकर्मीले राजनीतिमा लागेर नयाँ काम के गर्ने हुन्– देखिएला नै । तर, नेपाली फिल्मका दर्शकले भने नयाँ शक्तिमा पुराना अनुहार भनेर खिसिट्युरी गर्न सुरु गरिसकेका छन् ।

तथापि, यसरी खिस्याइहाल्नु मनासिब हो कि होइन, यो पनि मन्थनकै विषय हो । किनकि यी व्यक्तिले केही गर्नै सक्दैनन् भन्ने त होइन । केवल फिल्म क्षेत्रमै सुस्ताएका व्यक्तिले नयाँ काम सुरु गरेर पुन: असफलता भोग्ने पो हुन् कि भन्ने चिन्ता मात्रै हो । लोकतान्त्रिक मुलुकमा पार्टी–राजनीति गरेर ठूलो मान्छे हुने सुविधा त सबैले पाएकै छन् । आशा गरौँ र शुभकामना पनि दिऔँ कि यी तीन कलाकर्मी चाँडै देशकै असल ‘राजनीतिक प्राणी’का मान्छेका रूपमा दरिऊन् ।