‘नेपालको हित हुँदा भारतको पनि हित’

‘नेपालको हित हुँदा भारतको पनि हित’


ranjeet ray nepal-india-5
नेपाली काङ्ग्रेसका उपसभापति रामचन्द्र पौडेलले नेपाल–भारतबीचको सम्बन्धमा बेलाबेलामा विश्वासको सङ्कट भए पनि त्यसलाई पारदर्शी व्यवहारले समाधान गरिनुपर्ने धारणा अघि सार्नुभएको छ । भारतको ६७औँ गणतन्त्र दिवसको अवसरमा गत सोमबार राजधानीमा आयोजित ‘नेपाल भारत सम्बन्ध : सम्भावना र चुनौती’ विषयक अन्तक्र्रियामा नेता पौडेलले दुई देशबीचको समस्या समझदारीका आधारमा समाधान गरिनुपर्ने, यसलाई सङ्कीर्ण सोचभन्दा माथि उठेर समाधान गरिनुपर्ने, लोकतन्त्रमा कसैलाई पन्छाएर जानु नहुने र सबै जनताको हक सुरक्षित हुने गरी समस्या समाधान हुनुपर्ने काङ्ग्रेसको धारणा रहेको बताउनुभयो । अन्तरिम संविधानअनुसार जनताले पाएको अधिकार कटौती नहुने गरी संविधान संशोधन प्रक्रियालाई अघि बढाइने प्रतिबद्धता पनि उपसभापति पौडेलले जनाउनुभयो ।

सो अवसरमा उपप्रधान एवम् परराष्ट्रमन्त्री कमल थापाले नेपालको आर्थिक, सामाजिक रुपान्तरण र आधुनिकीकरणमा भारतको सहयोग रहँदै आएकाले आगामी दिनमा त्यसले निरन्तरता पाउने विश्वास व्यक्त गर्नुभयो भने नेपाली काङ्ग्रेस विदेश विभाग प्रमुख सुजाता कोइरालाले नेपालको अवस्था बिग्रँदा भारतलाई पनि असर पुग्ने भएकाले सतहमा आएका समस्या आपसी समझदारीका आधारमा समाधान गरिनुपर्नेमा जोड दिनुभयो ।

कार्यक्रममा नेपालका लागि भारतीय राजदूत रणजित रायले नेपालको हितमा हुने कुरा नै भारतको पनि हितमा हुने तर्क गर्नुभयो । उहाँले भारत नेपालमा शान्ति र विकास चाहने प्रस्ट्याउँदै २० वर्षअघि पञ्चेश्वर योजना सम्पन्न भएको भए दुवै मुलुकलाई फाइदा हुने थियो भन्दै नेपालको जलस्रोतको सदुपयोग भएको भारतले हेर्न चाहेको उल्लेख गर्नुभयो । दुई देशबीचको असमझदारी ‘विन–विन’ सिद्धान्तका आधारमा समाधान हुनुपर्नेमा राजदूत रायको जोड थियो ।