गणतन्त्र दिवसको अवसरमा शुभकामना सन्देश

गणतन्त्र दिवसको अवसरमा शुभकामना सन्देश


छिमेकी मित्रराष्ट्र भारतको ६७औँ गणतन्त्र दिवसको उपलक्ष्यमा प्रधानमन्त्री केपी शर्मा ओलीले भारतका प्रधानमन्त्री नरेन्द्र मोदीलाई बधाई तथा शुभकामना सन्देश दिनुभएको छ । नेपाल सरकार र नेपाली जनताका तर्फबाट प्रधानमन्त्री मोदीको व्यक्तिगत सुख र सुस्वास्थ्यका साथै भारतीय जनताको शान्ति, प्रगति र समृद्धि कामना प्रधानमन्त्री ओलीले गर्नुभएको छ । दुई मुलुकबीच सदिऔँदेखि रहँदै आएको सौहार्दता, आपसी समझदारी, सद्भाव र सहयोगमा आधारित बहुपक्षीय र गहन सम्बन्धलाई स्मरण गर्दै प्रधानमन्त्री ओलीले यो सम्बन्ध दुई मुलुकको इतिहास, साझा संस्कृति, मूल्य एवम् मान्यता र बृहत् अन्तरक्रियाबाट जनस्तरसम्म सुदृढ हुँदै आएको उल्लेख गर्नुभएको छ । उहाँले सदियौँ पुरानो सम्बन्ध आगामी दिनमा थप समृद्ध बन्ने विश्वाससमेत व्यक्त गर्नुभएको छ ।

नेपालले आफ्नो आर्थिक–सामाजिक रुपान्तरणका लागि थालेका प्रयासमा भारतले गर्दै आएको साझेदारी र उदार सहयोगको सराहना गर्दै प्रधानमन्त्री ओलीले आपसी हितका नयाँ क्षेत्र पहिल्याउने कामले यस्तो साझेदारी अझ मजबुुत हुने विश्वास प्रकट गर्नुभएको छ । नेपालमा गत वैशाखमा गएको भूकम्पका समयमा भारत सरकार र जनताका तर्फबाट उपलब्ध गराइएको उल्लेख्य सहयोगका लागि प्रधानमन्त्री ओलीले आभार पनि व्यक्त गर्नुभएको छ । आर्थिक विकास र समृद्धिमा केन्द्रित रहेर नेपाली जनता संविधान कार्यान्वयनको चरणमा प्रवेश गरिसकेको सन्दर्भमा भारतबाट विगतमा झैँ सद्भाव र सहयोगलाई निरन्तरता दिइने विश्वास पनि उहाँले प्रकट गर्नुभएको छ ।
PR KTM-ghazal
यसैगरी, राष्ट्रपति विद्यादेवी भण्डारीले भारतको ६७औँ गणतन्त्र दिवसका अवसरमा भारतका राष्ट्रपति प्रणव मुखर्जीलाई बधाई सन्देश पठाउनुभएको छ । सन्देशमा राष्ट्रपति भण्डारीले भारतीय राष्ट्रपतिको व्यक्तिगत सुख र सुस्वास्थ्यका साथै भारतीय जनताको प्रगति र समृद्धिको कामना गर्नुभएको छ । दुई देशबीच विद्यमान मैत्रीपूर्ण सम्बन्ध आगामी वर्ष अझ सुदृढ हुने विश्वास पनि उहाँले व्यक्त गर्नुभएको छ । साथै, ६७औँ भारतीय गणतन्त्र दिवसकै उपलक्ष्यमा नेपालका लागि भारतीय द्ूतावास र भारतीय सांस्कृतिक केन्द्रले संयुक्त रूपमा आयोजना गरेको ‘साम–ए–गजल’मा राष्ट्रपति विद्यादेवी भण्डारी सरिक हुनुभयो । राष्ट्रिय सभागृहमा सोमबार आयोजना गरिएको सो कार्यक्रममा भारतीय गायिका अञ्जु गोयलको अगुवाइ रहेको साङ्गीतिक समूहले गजल प्रस्तुत गरेको थियो । आईसीसीआर नयाँदिल्लीको सहयोगमा आयोजना गरिएको कार्यक्रममा भारतीय गायक सुभाष गोयलले पनि साथ दिएका थिए । उहाँहरूले करिब तीन दर्जन गजल तथा गीत प्रस्तुत गर्नुभयो ।