पोलेको मासु खानुअघि सोच्ने कि ?

पोलेको मासु खानुअघि सोच्ने कि ?


पोलेको-मासुकाठमाडौं । दशैँमा मासुका विभिन्न परिकार बनाउने क्रममा धेरै पोलेको र भुटेको मासु रुचाउने गरिन्छ । त्यस्ता मासुबाट क्यान्सरको खतरा हुने चिकित्सकले बताएका छन् । मासु पोल्दा र सुख्खा हुने गरी भुट्दा प्रयोग हुने दाउरा र ग्यासबाट हाइड्रोकार्बन उत्पन्न हुन्छ । त्यसले पेट र छालामा क्यान्सर हुन सक्छ । बिपी कोइराला मेमोरियल क्यान्सर अस्पताल भरतपुरका मेडिकल अङ्कोलोजी विभागका विशेषज्ञ चिकित्सक डा. गुरुशरण साहका अनुसार मासु पोल्दा मासुमा गुलियो पदार्थ र प्रोटिन हुने हुँदा बढी पाक्दा त्यसमा एक्रिल्यामिडिएस उत्पन्न हुन्छ, जुन क्यान्सरका लागि सहयोगी बन्छ । बढी पोलेको मासु प्रयोग गर्ने जापानीमा यो समस्या धेरै रहेको साहले बताए ।
युवावस्थाका यस्ता बिरामी बढी आउने गरेको सो अस्पतालका मेडिकल अङ्कोलोजी विभाग प्रमुख डा. भोलाप्रसाद रौनियारको भनाइ छ । भुटेको र पोलेको मासुबाट ठूलो आन्द्राको क्यान्सर अरु बढी हुने गरेको बताइएको छ । पटक पटक पातलो दिसा, पेट काट्ने र कटक्क दुख्ने गरेमा परीक्षण गर्न पनि उनले सुझाव दिए । यस्ता खाले क्यान्सर भएका बिरामीका परिवारका अन्य सदस्यलाई पनि परीक्षणको लागि उनको सुझाव छ । उनकाअनुसार मासु पोल्दा छोपेर पोलेमा अरु बढी हानि कारक हुने गर्छ । दसैँका बेलामा मासु प्रयोग गर्दा राँगा, खसी, बोकाको भन्दा कुखुरा र माछाको मासु प्रयोग गर्न चिकित्सकले सुझाएका छन् । उनीहरुको भनाइमा ती मासु उमालेर खाएमा अरु बढी स्वास्थ्यबद्र्धक हुने गर्छ ।