राजधानीको शान्तिसुरक्षा विक्रमको काँधमा

राजधानीको शान्तिसुरक्षा विक्रमको काँधमा


SSP-Bikram-Singh-Thapaकाठमाडौं जिल्ला प्रहरी प्रमुखमा चर्चित प्रहरी अधिकृत एसएसपी विक्रमसिंह थापा खटाइएका छन् । जनतामाझ भिजेर काम गर्ने एक अब्बल प्रहरी अधिकारीको रूपमा उदाहरणीय व्यक्ति बन्नुका साथै समाजमा शान्तिसुरक्षा स्थापनाका अलावा सामाजिक सुधारका विभिन्न कार्यबाट आफ्नो पहिचान कायम गर्दै नेपाल प्रहरीको सङ्गठनलाई आफ्नो तहबाट थप मजबुत र जनताको मन जित्ने कर्मका लागि एसएसपी थापा कहलिएका व्यक्ति हुन् । कुनैबेला मधेसमा च्याउसरी उम्रिएका सशस्त्र भूमिगत सङ्गठनका नाइकेहरूलाई पक्रिएर तराई–मधेसमा मच्चिएको त्रास र अशान्तिलाई काबुमा लिएपछि थप चर्चाको शिखरमा पुगेका विक्रमसिंह थापा ठगी प्रकरण, रूपन्देहीको तेलचोरी काण्डलगायतका अनेक प्रकरणमा सफलता हासिल गरेर उत्तिकै लोकप्रिय बनेका प्रहरी अधिकारी हुन् । जहाँ गाह्रो–अप्ठ्यारो पर्छ त्यहाँ अरूबाट भएन भने जुझारु व्यक्तित्वका धनी एसएसपी थापालाई नै खटाइने गरेको देखिन्छ । विक्रमलाई यतिबेला काठमाडौं प्रहरी प्रमुखको जिम्मेवारी दिइनुलाई पनि यस्तै विशेष कडीका रूपमा हेरिएको छ । अपराध र अपराधीसँग ‘३६’को साइनो गाँसिएका एसएसपी विक्रमसिंह थापालाई चर्चित सिनेचरित्र ‘सिङ्घम’सँग दाँज्नेहरू पनि छन् । तर, सिङ्घम फगत सिनेपर्दामा नायकी प्रदर्शन गरेर चर्चामा रहेका सिनेपात्र हुन् भने एसएसपी विक्रम थापा वास्तविक जीवनमै ‘सिङ्घम’ शैलीमा प्रस्तुत हुने गरेका कारण उनको राजधानी प्रवेशसँगै अपराध जगत्सँग जोडिएकाहरूमा हाहाकार मच्चिएको बुझिएको छ ।