प्रचण्डलाई चोटमाथि चोट, छोरा भाग्दा पनि उनैमाथि शङ्का

प्रचण्डलाई चोटमाथि चोट, छोरा भाग्दा पनि उनैमाथि शङ्का


एमाओवादी अध्यक्ष प्रचण्डका छोरा साकार (प्रकाश) दाहाल विना मगरलाई लिएर भागेपछि त्यस विषयलाई लिएर अनेकौँ आशङ्का र टीकाटिप्पणी सुरु भएका छन् । बाबुछोराबीचको सम्बन्ध र स्वयम् प्रकाशलाई नजिकबाट बुझ्नेहरूले यस प्रकरणलाई नियोजित चालबाजी हुनसक्ने अनुमान गरेका छन् । खासगरी माओवादी समूहहरूभित्रै यसप्रकारका अनुमान र टीका–टिप्पणीहरू हुने गरेका छन् । उनीहरूका अनुसार प्रचण्डको कमजोरीहरूमध्ये उनको परिवारलाई प्रमुख मानिन्छ । प्रचण्ड आफ्नी पत्नी, छोरा र छोरीहरूको मामिलामा कसैसित कहिल्यै कुनै सम्झौता गर्दैनन् । पत्नी सीताको काबुमा रहेको प्रचण्ड परिवारमा छोराछोरीको आकाङ्क्षाले सधैं उच्च प्राथमिकता पाउने गरेको र छोरा प्रकाशले आफ्ना बाबुको इशाराविपरीत कहिल्यै कुनै कार्य गर्ने नगरेको बताइन्छ । प्रकाशकी पूर्वपत्नी प्रभा बोगटीले आफ्ना निकटस्थहरूलाई बताएअनुसार प्रकाशमा एक्लै निर्णय गर्ने कुनै क्षमता छैन, उनी हरेक कुराहरू बाबुआमालाई सोधेर मात्र गर्ने गर्दछन् । त्यसैले विना मगरलाई भगाउने काम पनि आमा या बाबुको जानकारीविना भएको मान्न प्रचण्ड परिवारका निकटवर्तीहरू तयार छैनन् । उनीहरूको विचारमा सम्पत्ति स्थानान्तरण गर्ने भरपर्दो माध्यम निर्माणको निम्ति विना प्रकरण रचिएको हो । ज्ञातव्य छ, प्रचण्ड नेपालको इतिहासमा सबैभन्दा कम समयमा सर्वाधिक धन जम्मा गर्न सक्ने नेताका रूपमा चिनिन्छन् । यद्यपि उनले आफ्नै नाममा बैंकमा नगद जम्मा गरेको या कुनै उद्योग–व्यवसायमा प्रत्यक्ष लगानी गरेको प्रमाण भने अहिलेसम्म भेटिएको छैन । विभिन्न ‘डमी’हरू खडा गरेर विभिन्न क्षेत्रमा लगानी गरेको भन्ने अनुमानका आधारमा प्रचण्डलाई धनाढ्य नेताका रूपमा लिने गरिएको छ । यस्तै अनुमान गर्नेहरूले विना मगर प्रकरणलाई पनि प्रचण्डको नियोजित चालका रूपमा बुझ्ने र व्याख्या गर्ने गरेका छन् । विना मगरलाई लिएर प्रकाश दाहाल विदेश पलायन भएपछि प्रचण्डकै प्रस्तावमा उनलाई पार्टीबाट हटाइएको छ । यसरी हटाउँदा बाबुछोराबीचको पे्रमपूर्ण पारिवारिक सम्बन्ध टुटेको सन्देश जनसाधारणसम्म गएको छ, जसबाट अन्ततः प्रचण्डलाई नै लाभ पुग्ने बताइन्छ । प्रकाश विदेशिएपछि नेपालबाट प्रचण्डले यहाँको नगद स्थानान्तरण गर्न सर्वाधिक भरपर्दो स्थिति बनेको छ । प्रकाशलाई नेपालबाट वैध–अवैध (हुण्डी) तरिकाले नगद पठाउन सकिने र प्रकाशले आफ्ना पिताको कमाइ विदेशमै बसेर संरक्षण गर्ने काम गर्न सक्ने अनुमान माओवादी समूहकै केही नेताहरूको छ । पुत्र प्रकाशले विदेशमा अब जुनसुकै व्यवसाय गरेको देखाउन सक्छन् र उनले गर्ने व्यवसाय नफस्टाए पनि नेपालबाट प्राप्त भइरहने धनराशिको संरक्षण गर्न सकिने अवस्था बन्न सक्छ । प्रकाश दाहालको कार्यव्यवहार र सोच राजनीतिकभन्दा पनि गैरराजनीतिक भएको र उनी कुनै न कुनै व्यवसाय गर्न इच्छुक थिए । जब कि प्रचण्ड आफ्ना पुत्रलाई एकताक उत्तराधिकारी नै बनाउने सोच राख्दथे । त्यही सोचका कारण २०६१ सालमा भएको चुनवाङ बैठकबाट प्रचण्डले सबै नेताहरूलाई एक तह घटुवा गर्दा आफूलाई अध्यक्ष पदमा यथावत् राखेका थिए भने छोरा प्रकाशलाई चाहिँ एक तह बढुवा नै गरेका थिए । पञ्चानब्बे (९५) जनाको केन्द्रीय समितिलाई पैंतीस सदस्यीय बनाउँदै प्रचण्डले अधिकांश केन्द्रीय सदस्यलाई राज्य समितिमा झारिदिएका थिए । राम कार्की, धर्मेन्द्र बास्तोला, इन्द्रमोहन सिग्देल, खड्गबहादुर विश्वकर्मा र लेखराज भट्टलाई केन्द्रीय समितिमा यथावत् राखेर अरू सबै सदस्यलाई एक तह घटुवा गर्ने निर्णय चुनवाङ बैठकले गरेको थियो । त्यसबेला स्थायी समिति र पोलिटब्युरो सदस्य रहेकाहरू मोहन वैद्य किरणसहितलाई घटुवा गरेर केन्द्रीय सदस्यका रूपमा राखिएको थियो । त्यस्तै, राज्य समितिमा रहेकाहरूलाई जिल्ला तहमा, जिल्ला समितिमा रहेकालाई एरियास्तरमा र एरिया कमिटीमा रहेकालाई सेलमा पुर्‍याउने निर्णय प्रचण्डको प्रस्तावमा चुनवाङ बैठकले गरेको थियो । तर, प्रचण्डले त्यसबेला जिल्ला समितिमा रहेका छोरा प्रकाशलाई भने बढुवा गरेर राज्य समिति सदस्यको जिम्मेवारी दिएका थिए । त्यस्तै सल्लाहकार रहेकी पत्नी सीता दाहाललाई सल्लाहकारमा र राज्य समितिमा रही भारतम बसिरहेकी छोरी रेणु दाहाललाई प्रचण्डले यथास्थानमा राखेका थिए । स्मरणीय छ, सीता दाहाललाई पार्टीको सल्लाहकार बनाउने प्रस्ताव भने डा. बाबुराम भट्टराईले राखेका थिए । खुला राजनीतिमा आएपछि पनि प्रचण्डले पुत्रलाई निकै ‘एक्सेस’ दिने गरेका थिए । प्रचण्डकै आडमा प्रकाश मोहन वैद्य किरण, रामबहादुर थापा बादल र डा. बाबुराम भट्टराईजस्ता वरिष्ठ नेताहरूलाई समेत हकार्ने, गाली गर्ने र अह्राउने हैसियत राख्दथे । नेताहरूसँगको अति गोप्य बैठकहरूमा पनि प्रचण्ड आफ्ना छोरालाई साथैमा रहन बस्न अनुमति दिने गर्दथे । रुक्मांगद कटवाल प्रकरणमा आफ्नो दूत बनाएर छोरा प्रकाशलाई भारत पठाउने प्रयास पनि प्रचण्डले गरेका थिए । आफ्ना पितालाई भगवान्सरह मान्ने प्रकाशलाई साथीझैं सँगै बसेर मदिरा पिउने अनुमति पनि प्राप्त थियो । फेसबुकमा छाइरहने प्रकाशले दुनियाँका बारेमा जे–जस्ता टीका–टिप्पणी गरे पनि आफ्ना पितामातालाई चोट पुर्‍याउने काम भने यसअघि कहिल्यै गरेका थिएनन् । त्यसैले यसपटकको घटना पे्रम या कामबासनामा बसिभूत भएर प्रकाशले गरेको मान्न प्रचण्डका निकटवर्तीहरूलाई निकै मुस्किल भइरहेको छ । छोरा प्रकाशमा अनेकौँ प्रयास गर्दा पनि राजनीतिकभन्दा गैरराजनीतिक स्वभाव–चरित्र हावी भएको र आफ्नै राजनीतिक स्थिति पनि झन्झन् प्रतिकूल हुँदै गएकोले प्रचण्ड चिन्तित हुने गरेको बताइन्छ । आफू सत्तामा पुग्ने सम्भावना घट्दै गएको, संविधानसभाद्वारा संविधान निर्माण नभई सभाकै मृत्यु भएको, पार्टीमा विभाजन आएको र क्रमशः कमजोर हुँदै जाने स्थिति देखापरेकोले छोरालाई विदेश धपाउने र आफूसँग भएको धनराशि ‘उतै’ पठाई भविष्य सुरक्षित गर्ने उपायस्वरूप विना प्रकरणको रचना गरिएको आशङ्का वैद्य खेमाका माओवादी नेताहरूले पनि गरेका छन् । केहीअघि प्रकाशले बेलायत जान गरेको प्रयास दूतावासले भिसा नदिएका कारण असफल भएको थियो । प्रकाश कुनै ‘विजनेश स्थापित गर्ने’ उद्देश्यले बेलायत जान लागेको तर ब्रिटिस राजदूतावासले भिसा नदिएको चर्चा त्यसबेला राजधानीमा चलेको थियो । उत्तराधिकारी बन्ने लक्षण नदेखिएपछि प्रचण्डले छोरालाई व्यापार–व्यवसायमा लगाउन खोजेको टीका–टिप्पणी पनि केहीले गरेका थिए । अहिले प्रकाश विदेशिएपछि सोझो हिसाबले काम नहुने भएपछि घुमाउरो बाटो अपनाएर विना प्रकरण रचिएको अनुमान पनि एकथरीले गरेका छन् । तर, जो–जसका अनुमान र आशङ्का जे भए पनि विना प्रकरणले प्रचण्डलाई क्षति नै पुर्‍याएको छ । बाबुआमा हुनुका नाताले कसैले पनि आफ्नो सन्तानको बद्नामी होस्, परिवार लथालिङ्ग होस् भन्ने चाहँदैनन् । यस आधारमा हेर्दा प्रचण्डका आलोचक या उनलाई नजिकबाट चिन्नेहरूले जे–जस्ता टीका–टिप्पणी या अनुमान गरेका भए पनि त्यसमा विश्वास गरिहाल्न मिल्ने देखिँदैन । यस्ता आशङ्का र टिप्पणीले प्रचण्ड र उनको परिवारलाई थप चोटग्रस्त बनाउने निश्चित छ । यस सन्दर्भमा भइरहेका टिप्पणी र आशङ्काबाट आफ्नो छवि कतिसम्म धमिलिएछ र जनदृष्टिमा आफू कतिसम्म अविश्वसनीय भइएछ भन्नेबारे भने प्रचण्डले आत्ममूल्याङ्कन गर्नैपर्ने बेला आएको छ । मुख्यसचिवको प्रतिस्पर्धामा अलिक पछाडि नै देखिन्छन् । त्यसैले बरियतामा सर्वाधिक अगाडि रहेका र कार्यक्षमतामा पनि अब्बल मानिनुहुने शंकर कोइराला नै मुख्यसचिव बन्नुहुने सम्भावना बलियो भएको छ । नेपाली काङ्गे्रसका डा. प्रकाशशरण महत ऊर्जामन्त्री हुँदा महतको पेलाइमा पर्नुभएका कोइराला अन्ततः त्यहाँबाट सरुवा भएरै जानुपर्ने अवस्था सिर्जना भएको थियो । कोइरालाको सोच अत्यन्त सकारात्मक र निर्णय लिने क्षमता पनि बलियो भएको हुँदा प्रधानमन्त्री भट्टराईको रोजाइमा उहाँ नै पर्नुहुने सम्भावना प्रबल छ ।

टर्‍यो एउटा अर्को कटवाल प्रकरण
लामो छलफल र विवादपश्चात् प्रधानमन्त्री डा. बाबुराम भट्टराईले सुझबुझ देखाउँदै राष्ट्रपतिको भावनाको कदर गर्नुभएपछि हुनै लागेको एउटा अर्को ‘कटवाल प्रकरण’ टरेको छ । राष्ट्रपति र प्रधानमन्त्रीबीच बजेटसम्बन्धी विषयलाई लिएर केही दिनयता तीव्र बहस र छलफल हुँदै आएको थियो । प्रधानमन्त्री भट्टराई पूर्ण बजेट ल्याउन दृढ हुनुहुन्थ्यो र उहाँले त्यस कुरामा राष्ट्रपतिलाई मनाउन भरमग्दुर प्रयास गर्नुभएको थियो । यस क्रममा प्रधानमन्त्रीले राष्ट्रपतिलाई एकप्रकारले चुनौती दिँदै पूर्ण बजेट ल्याइछाड्ने जनाउ पनि दिनुभएको थियो । तर, राष्ट्रपतिले भने चुनाव घोषणा भइसकेको अवस्थामा पूर्ण बजेट ल्याउन गैरसंवैधानिक र गैरपारम्परिक हुने बताउँदै भविष्यमा नकारात्मक कार्य प्रोत्साहित नहोस् भन्नका लागि एकतिहाई बजेट मात्र प्रस्तुत गर्ने अडान राख्नुभएको थियो । राष्ट्रपतिले संविधान, बजेटसम्बन्धी विषयलाई लिएर परेको रिटमा सर्वोच्च अदालतबाट भएको फैसला र विगतको परम्परासमेतलाई दृष्टिगत गरी प्रधानमन्त्रीलाई एकतिहाई मात्र बजेट प्रस्तुत गर्न भन्नुभएको थियो । चुनावी सरकारले चुनावपछिका निम्तिसमेत बजेट ल्याउनु अनुचित र असान्दर्भिक हुने भनी प्रधानमन्त्रीलाई बारम्बार सचेत गराउँदा पनि प्रधानमन्त्रीले अटेरी गर्न खोजेपछि राष्ट्रपति कार्यालयले जबर्जस्ती पूर्ण बजेट ल्याइएमा के गर्ने भन्ने विषयमा आन्तरिक छलफल सुरु गरेको थियो । राष्ट्रपतिको भावनाको बेवास्ता गरी सरकारले पूर्ण बजेट प्रस्तुत गरेको भए राष्ट्रपतिले सरकारविरुद्ध ‘गहकिलो कदम’ चाल्ने निश्चित भइसकेको थियो । अन्ततः प्रधानमन्त्री गले र आंशिक बजेट मात्र प्रस्तुत भयो । डा. बाबुराम भट्टराईले त्यसो नगरी कटवाल प्रकरणमा प्रचण्डकै झैं जबर्जस्ती गरेका भए यतिबेला बाबुराम सरकारमाथि गम्भीर सङ्कट आइपर्ने निश्चित थियो । सुरुसुरुमा जे भनेका भए पनि अन्ततः प्रधनमन्त्री भट्टराईले सुझबुझ देखाउनुभयो, जसका कारण हुनै लागेको अर्को एउटा कटवाल प्रकरण टरेको छ ।

अढाइ करोडको विस्तारित बैठक
साढे दुई करोडभन्दा बढीको लगानीमा एकीकृत माओवादीले मंगलबारबाट पार्टीको विस्तारित बैठक सुरु गरेको छ । पार्टीको सातौं विस्तारित बैठकका लागि माओवादीले विभिन्न उद्योगी, व्यापारी, सङ्घ÷सङ्गठन, पार्टीका कार्यकर्ता, शिक्षक, कर्मचारीलगायत सबैबाट चन्दास्वरूप चर्को रकम असुलेर पार्टीको विस्तारित भेलाका नाममा खर्च गर्न लागेको हो । आम्दानीको स्रोतका रूपमा पार्टी कार्यकर्ताको लेबी र सहयोग देखाएको एमाओवादी विस्तारित भेला आयोजक समितिले यति धेरै रकम कहाँ–कहाँ खर्च गर्ने भन्नेबारे केही खुलाएको छैन । उनीहरूले विभिन्न जिल्लाबाट आएका कार्यकर्तालाई उपत्यकामा रहेका पार्टी कार्यकर्ताको डेरा तथा स्कुलमा राख्ने तयारी गरेका छन् । त्यस्तै विभिन्न जिल्लाबाट भेलामा आउने सहभागीका लागि विभिन्न यातायातमा निःशुल्क व्यवस्था गरेको छ ।
उनीहरूले विभिन्न उद्योगीलाई पत्रमा नै सहयोग रकम तोकी पार्टीको सातौँ विस्तारित बैठकका लागि सहयोग गर्न भन्दै पत्र पठाएका थिए । गोल्छा अर्गनाइजेसनका एक व्यापारीका अनुसार माओवादीले गोल्छा अर्गनाइजेसनसँग मात्र पचास लाखभन्दा बढी रकम विस्तारित बैठकको सहयोगको नाममा लगेका छन । ती व्यापारीले आफ्नो नाम नछाप्न भन्दै भने, ‘उनीहरूलाई सहयोग नगरे भोलि उनीहरूनिकट मजदुर सङ्गठनले कम्पनीमै ताला लगाइदिन्छन्, नदिएर के गर्ने ?’ आफूहरूलाई माओवादीबाट थप तनाव भएको भन्दै उनले भने, ‘पहिले एउटा मात्र थियो, एउटालाई दिए पुग्थ्यो, अहिले दुईवटा भएका छन्, यी दुवैलाई कहाँबाट ल्याएर दिने ?’
माओवादीले गोल्छाबाट मात्र नभएर चौधरी, खेतान, अग्रवाल, मारवाडी समाज, केडियालगायत सबै व्यापारीबाट पैसा असुलेका छन् । त्यस्तै निजी स्कुल, कलेज, यातायात, भन्सार, मालपोतलगायतका कार्यालयप्रमुखहरूसँग पनि आर्थिक सहयोगका नाममा राम्रो धनराशि लिएर गएका छन् । कुनै पार्टीको केही कार्यक्रम आयो कि हामीलाई तनाव हुन्छ, एक विद्यालयका प्रिन्सिपलले भने, ‘आर्थिक सहयोग नदिऔँ नहुने दिऊँ नसिकने, हामी निकै तनावमा छौँ ।’ उनले थपे, ‘अनि उनीहरूलाई दिनकै लागि हामीले विद्यार्थीबाट शुल्क नउठाएर के गर्ने, कि त स्कुल नै बेचेर उनीहरूलाई सहयोग गर्नुपर्‍यो ।’ श्रोतका अनुसार माओवादीले साढे दुई करोड रकम उठाइसके पनि विस्तारित भेलाका लागि एक करोड खर्च हुने प्रारम्भिक अनुमान गरेको छ । त्यो पनि खाना र अन्य खर्चमा गरेर ।
माओवादीको विस्तारिक बैठक राजधानीको भृकुटीमण्डपमा सुरु भएको छ । सचिव पोष्टबहादुर बोगटीले सञ्चालन गरेको बैठकले आगामी राजनीतिक कार्यदिशा तय गर्नुका साथै पार्टी सुदृढीकरणका योजना र महाधिवेशनको मिति तय गर्ने बताइएको छ । यसअघि सोमबारबाट सुरु हुने भनिएको बैठक कृष्णभीरमा भएको दुर्घटनामा कार्यकर्ताको निधन भएपछि एक दिनलाई स्थगित गरिएको थियो । पाँच दिनसम्म चल्ने भेलाका लागि पाँच हजारभन्दा बढीको सहभागिता रहेको छ ।

यो सङ्कटको सामना कसरी होला ?
संवैधानिक रिक्तताका कारण मुलुकमा राजनीतिक सङ्कट उत्पन्न भइरहेका बेला गम्भीर प्रकृतिका थप समस्या उत्पन्न हुने सम्भावना बढेको छ । खासगरी संवैधानिक निकायहरूको नियुक्ति निकट भविष्यमै एउटा जटिल समस्या बन्ने देखिएको छ । प्रमुख आयुक्तलगायत एकजना पनि आयुक्त नरहेको अख्तियार दुरुपयोग अनुसन्धान आयोग कर्मचारीको भरमा चल्दै आएको छ । निर्वाचन आयोगका सबै पदाधिकारीको म्याद मङ्सिरमा सकिँदै छ । मङ्सिरपछि निर्वाचन आयोगमा पनि अख्तियारमा झैं कर्मचारी मात्रै रहनेछन् । हिजो मंगलबारदेखि राष्ट्रिय सूचना आयोगमा प्रमुख आयुक्तको म्याद उमेरहदका कारण सकिएको छ । यस्तै लोकसेवा आयोग पनि अध्यक्षविहीन छ ।
अन्य संवैधानिक निकायसँगै सर्वोच्च अदालत पनि अब चाँडै नै खाली हुने क्रममा छ । सर्वोच्चमा जम्मा २५ जना न्यायाधीशको दरबन्दीमा अहिले १४ जना छन् । भदौमा यो सङ्ख्या घटेर १३ हुनेछ भने मङ्सिरमा एकैपल्ट पाँचजना न्यायाधीशले अवकाश पाउँदै छन् । माघमा अन्य दुईजना घटेर सर्वोच्चमा न्यायाधीशको सङ्ख्या जम्मा ६ जना रहनेछ । यी कुनै पनि उच्च पदमा अहिले नियुक्ति गर्न सक्ने अवस्था छैन । संवैधानिक नियुक्तिहरू संवैधानिक परिषद्बाट हुने प्रावधान छ र संवैधानिक परिषद्ले निकट भविष्यमै पूर्णता पाउन सक्ने अवस्था देखिँदैन । संवैधानिक समितिमा प्रधानमन्त्री, प्रधानन्यायाधीश, सभामुख, विपक्षी दलका नेता र सरकारले तोकेका तीनजना मन्त्रीहरू रहने प्रावधान छ । साथै यी सबै नियुक्तिमा संसदीय सुनुवाइको व्यवस्था छ । संसद् नै नरहेको अवस्थामा संसदीय सुनुवाइ हुन असम्भव छ ।
यसरी संवैधानिक नियुक्तिहरूमा एउटा ठूलो खाडल पर्दासमेत यो मुलुकको नेतृत्वले अलिकति पनि गम्भीरतापूर्वक लिएको देखिँदैन । २५ जना न्यायाधीशले काम गर्नु पर्ने ठाउँमा ६ जना मात्रै हुँदा के होला ? मङ्सिरमा हुने भनेर प्रधानमन्त्रीबाट घोषित निर्वाचन सार्ने कुरा जोडतोडले उठाइँदै छ तर मङ्सिरदेखि निर्वाचन आयोग पदाधिकारीविहीन हुँदै छ । यस्तो अवस्थामा यो रिक्ततालाई कसरी सम्बोधन गर्ने ? यो खाडललाई पुर्ने उपाय के हुन सक्छ ? कानुनविद् डा. रामकृष्ण तिम्सिनाका अनुसार संसदीय सुनुवाइको व्यवस्था हटाउनुपर्छ यसका लागि राजनीतिक सहमति आवश्यक हुन्छ । घटना र विचारसँग कुरा गर्दै उहाँले भन्नुभयो, ‘संवैधानिक नियुक्तिका लागि राजनीतिक सहमति नभएको अवस्थामा यी सबै निकाय हुनु र नहुनुको खासै अर्थ रहँदैन । पदाधिकारी नै नभएपछि निकाय मात्रै भएर के गर्ने ?’
यस्तै कानुनविद् डा. भीमार्जुन आचार्यले राजनीतिक दलहरूले चाहे राष्ट्रपतिले बाधा–अड्चन फुकाउन सक्ने व्यवस्था बताउँदै तर वर्षौंदेखि यो देशको नेतृत्वले मुलुकलाई गति दिन चाहेकोजस्तो आफूलाई नलागेको बताउनुभयो । उहाँले भन्नुभयो, ‘संसद् त अहिले पो छैन त, तर अख्तियार त वर्षौंदेखि पदाधिकारीविहीन छ ।’ समयमै न्यायाधीशलगायत अन्य अधिकारीहरूको नियुक्ति नगरिनुले सरकारमा रहनेहरूको नियतमाथि नै शङ्का गर्न सकिने बताउँदै आचार्यले भन्नुभयो, ‘संसदीय सुनुवाइकै कारणले नियुक्ति रोकिने अवस्था भने आउँदैन ।’

किरणलाई प्रचण्डको चुनौती
भावी कार्यदिशा, कार्ययोजना र कार्यनीति पारित गर्न भन्दै यतिबेला एकीकृत नेकपा माओवादीका नेता तथा कार्यकर्ता सातौँ विस्तारित बैठकमा जुटेका छन् । राजधानीको भृकुटीमण्डपमा मंगलबारबाट सुरु भएको भेलाबाट उनीहरूले पार्टीलाई नयाँ स्वरूपबाट अघि लैजाने दाबी गरेका छन् । पार्टी फुटेपछि बसेको यो बैठकले पार्टी फुट्नुको कारणबारे समीक्षा गरी पार्टी पुनः एकीकरणका लागि जोड दिने भेलामा सहभागीहरूले विश्वास लिएका छन् । भेलामा सहभागीहरू पार्टीभित्र मौलाउँदै गएको गुटगत प्रवृत्ति, भ्रष्टाचार, अराजकतालाई सधैंका लागि अन्त्य गर्ने प्रतिबद्धता जनाएका छन् ।
त्यसो त भेलाको उद्घाटन गर्दै पार्टी अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले पार्टीभित्रको मौलाउँदो गुट–उपगुटले पार्टीलाई कमजोर बनाएकाले सधैंका लागि अन्त्य गर्ने अभियान सुरु भएको बताए । ‘सातौँ विस्तारित बैठकबाटै गुट अन्त्य भएर पार्टी नयाँ आधारमा एकताबद्ध भएर जानेछ, त्यो अभियान पार्टी नेतृत्व हुनाको नाताले अध्यक्षबाटै सुरु हुनेछ,’ प्रचण्डको भनाइ थियो ।
विगतमा आफूले उदार भएर पार्टीभित्र देखिएका विचार समूहलाई छुट दिँदा पार्टी विभाजनसम्म पुगेकाले आगामी दिनमा त्यस्तो छुट नदिइने चेतावनी प्रचण्डको थियो । ‘कम्युनिस्ट पार्टीको प्रमुख नीतिका रूपमा रहेको जनवादी केन्द्रीयतालाई कडाइका साथ लागू गरिन्छ, कोही–कसैलाई छुट दिइँदैन,’ प्रचण्डको कथन थियो । उनले यसो भनिरहँदा उद्घाटन सत्रमा सहभागीहरू अब पार्टी अध्यक्ष तानाशाही त बन्ने होइनन् भन्दै एक–आपसमा कुरा गरिरहेका थिए ।
प्रचण्डले पार्टी फुटको औचित्य स्पष्ट गर्दै नयाँ पार्टी निर्माण गर्नुको कारण पुष्टि गर्न पार्टीका पूर्ववरिष्ठ उपाध्यक्ष मोहन वैद्यलाई चुनौती दिएका थिए । ‘शान्ति र संविधान निर्माणको प्रक्रिया पूरा नभएको सन्दर्भमा वैद्यजीहरूले पार्टी फुटाएर भयानक कमजोरी गर्नुभएको छ, त्यसको औचित्य इतिहासले कुनै पनि अवस्थामा पुष्टि गर्ने छैन,’ प्रचण्डको भनाइ थियो ।
उपाध्यक्ष एवम् प्रधानमन्त्री डा. बाबुराम भट्टराईले विस्तारित बैठकबाट पार्टीभित्रका गुट–उपगुटको अन्त्य गरिने उद्घोष गरे । ‘पार्टीभित्रका गुट–उपगुटको खारेजी यो बैठकबाट गरिनेछ, यो नै बैठकको सबैभन्दा महत्वपूर्ण उपलब्धि हुनेछ,’ भट्टराईको भनाइ थियो, ‘दशवर्षे जनयुद्धको क्रममा अहिलेभन्दा भीषण अन्तरसङ्घर्ष भए पनि पार्टीलाई नफुटाई यहाँसम्म ल्याइएको हामी सबैले स्मरण गर्नुपर्छ ।’ अर्का उपाध्यक्ष तथा उपप्रधानमन्त्री नारायणकाजी श्रेष्ठले आजैदेखि पार्टीभित्रको गुटबन्दीको अन्त्य भएको घोषणँ गरे । ‘आजैको मितिदेखि गुटबन्दीको अन्त्य गरिनेछ, गुटबन्दी क्रान्तिकारी पार्टीका लागि विषय हो,’ प्रकाशको भनाइ थियो । तर, उनले अध्यक्षले प्रस्तुत गर्ने प्रतिवेदनमा राष्ट्रिय स्वाधीनता र बिप्पा सम्झौतालगायत केही बुँदा छुटेकाले त्यसलाई थप नगरे परिणाम राम्रो नहुने चेतावनी यसअघि नै अध्यक्ष प्रचण्डलाई दिएका थिए ।
सातौँ विस्तारित बैठक आयोजक समितिका संयोजक कृष्णबहादुर महराले पार्टीलाई क्रान्तिकारी दिशामा अगाडि बढाउनका लागि बैठक महत्वपूर्ण हुने विश्वास व्यक्त गरे । यसैबीच विस्तारित बैठकमा अध्यक्ष प्रचण्डले प्रस्तुत गरेको ‘पार्टी र क्रान्तिका अगाडि उत्पन्न सङ्कट र सर्वहारावर्गको आगामी कार्यभार’ शीर्षकको प्रतिवेदनउपर छलफल गर्न सहभागीलाई १४ समूहमा विभाजन गरिएको छ । १३ राज्य समिति र जनमुक्ति सेनालाई मिलाएर १४ वटा समूह बनाइएको प्रचारप्रसार उपसमितिका संयोजक विश्वभक्त दुलाल आहुतीले बताए । आहुतिका अनुसार प्रचण्डको प्रतिवेदनमाथि बुधबार बिहानसम्म समूहमा छलफल हुनेछ भने दिउँसोको बन्द सत्रमा छलफलका निष्कर्षहरू प्रस्तुत गरिने छ । बैठकमा देशभरका पाँच हजारभन्दा बढी राज्य समितिस्तरका कार्यकर्ताको सहभागिता छ ।

आईजीपी वन्तप्रति बढ्यो असन्तुष्टि
सशस्त्र प्रहरी बलका महानिरीक्षक इन्जिनियर कोषराज वन्तको कार्यशैली र उनको व्यवहारलाई लिएर फौजभित्र असन्तुष्टि प्रकट हुन थालेको छ । सङ्गठनलाई कानुन र नीतिअनुरूप सञ्चालन नगरेर केही व्यक्तिको इच्छा र इशारामुताबिक चलाइएको कारण वन्तप्रति असन्तुष्टि बढेको बताइन्छ । भनिन्छ, वन्तले नारायणकाजी श्रेष्ठ र डा. बाबुराम भट्टराईपछि प्रचण्डको कुरा सुन्ने गरेका छन् । एउटा विदेशी दूतावासका डीआईजीको आदेश भएपछि उनले नारायणकाजी र बाबुरामको आदेशलाई समेत कार्यान्वयन गर्न सक्दैनन् । तर, वन्तले कार्यालयको नियमित काम भने एउटा कोटरीको सल्लाहबमोजिम गर्ने गरेको बताइन्छ ।
हल्चोकस्थित सशस्त्र प्रहरी मुख्यालयबाट प्राप्त जानकारीअनुसार आईजीपी सचिवालयका पीए एसएसपी राजेश श्रेष्ठ, डीएसपी सन्दीप थापा, कप्रशाखा प्रमुख डीएसपी युवराज अर्याल, बजेट शाखा प्रमुख श्यामकाजी कुँवर, प्रबन्ध प्रमुख डीएसपी दमन थापा र कार्यदल गणपति नारायणदत्त पौडेलको घेराबन्दीमा बसेर वन्तले काम गर्ने गरेका छन् । सचिवालयका प्रमुख डीआईजी नारायण थापालाई भने पङ्गु बनाइएको छ । आईजीपीले आफ्नोभन्दा मातहतका आफ्नै कर्मचारीको कुरा बढी सुन्न थालेपछि डीआईजी थापा हैरान भएका छन् । स्मरणीय छ, डीएसपीहरू श्यामकाजी कुँवर र दमन थापा सशस्त्र प्रहरी बल स्थापना भएदेखि नै एकै ठाउँमा कार्यरत रहेका छन् । बजेट शाखा प्रमुख कुँवर र प्रबन्ध प्रमुख दमन थापाले सशस्त्रको स्थापना भएदेखि नै आ–आफ्ना शाखाभन्दा बाहिर सरुवा हुनुपरेको छैन । इन्जिनियर आईजीपी वन्तको बजेट र प्रबन्ध शाखासँग सुरुदेखि नै गहिरो लगाव रहेका कारण थापा र कुँवरसँग वन्तको सम्बन्ध झनै कसिलो र रसिलो भएको चर्चा मातहतका अधिकारीहरूबीच चल्ने गरेको छ ।
इन्जिनियर वन्तले सचिवालय प्रमुख डीआईजी नारायण थापालाई मात्र होइन बरियताक्रममा सबैभन्दा अगाडि रहेका एआईजी ठाकुरमोहन श्रेष्ठलाई पनि पङ्गु बनाएका छन् । एआईजीपीहरूमध्ये बरियताक्रममा सबभन्दा अगाडि रहेकालाई प्रशासनको जिम्मेवारी दिइने परम्परालाई तोडेर वन्तले बरियतामा सबैभन्दा कनिष्ट जीवन थापालाई प्रशासनको जिम्मेवारी सुम्पेका छन् । सशस्त्र प्रहरीको दुई सय चालीसजनाको दुई टोली शान्ति स्थापनामा जाँदै छ र तिनलाई आवश्यक पर्ने भौतिक सामग्री खरिद गर्ने क्रममा वन्तले दुई करोड रुपैयाँभन्दा बढी कमिसन हात पारेको जानकारी आर्थिक प्रशासनका चिरञ्जीवी अधिकारीनिकटको सूत्रबाट थाहा भएको छ । वन्तले सरुवा र बढुवा गर्दा पनि व्यक्तिगत पूर्वाग्रह राख्ने गरेको जानकारीमा आएको छ । माओवादी नेताहरूको सिफारिसमा परेका र माओवादीनिकटको भनेर चिनिएका व्यक्तिबाहेक अन्यप्रति न्यायपूर्ण व्यवहार गर्ने नगरेको महसुस सशस्त्र प्रहरीका जवान तथा अधिकृतहरूले गर्न थालेका छन् । वन्तको यस्तै क्रियाकलापका कारण उनले आफ्नै सङ्गठनभित्र सम्मान र विश्वास गुमाउँदै छन् । वन्तलाई सार्वजनिक स्थलमै समेत मातहतका अधिकृत तथा जवानहरूले उपेक्षा गर्न थालेका छन् । त्यसको एउटा उदाहरण गत असार २६ गते मंगलबार पनि देखियो । त्यस दिन नेपाल ओलम्पिक कमिटीका उपाध्यक्ष धीरेन्द्र प्रधानको छोरीको विवाहका अवसरमा सशस्त्र प्रहरी मुख्यालयभित्रको अल्पे्रmस्को गार्डेनमा बेलुकी सात बजे एक रात्रिभोज आयोजना गरिएको थियो । सो भोजमा एमाले नेताहरू झलनाथ खनाल र सुवास नेम्वाङ पनि सहभागी हुन पुगेका थिए । सोही भोजमा सहभागी हुन सशस्त्र प्रहरी प्रमुख इन्जिनियर कोषराज वन्त त्यहाँ पुग्दा अपे्रसनका एआईजीपी ऋषभदेव भट्टराई र एसएसपी नरेन्द्र सिंह बसिरहेका थिए । वन्त आफ्नाअगाडि आइपुग्दा पनि एआईजीपी भट्टराईले कुनै वास्ता गरेनन् । जब कि फौजमा आफूभन्दा वरिष्ठ अधिकारीलाई जहाँ जस्तो अवस्थामा भेटिए पनि उठेर सलाम गर्ने प्रचलन छ । तर, त्यहाँ वन्तले प्रचलनबमोजिमको सम्मान पाएनन् । वन्तको व्यवहार जुन प्रकारको देखिएको छ र जसरी उनी काम गर्न खोज्दै छन्, यसैको निरन्तरता कायम रह्यो भने सशस्त्र प्रहरी बलमा आन्तरिक तर गम्भीर सङ्कट पैदा हुनसक्ने सम्भावना बढेको छ । प्रथम प्राविधिक आईजीपी वन्तकै कारण सशस्त्र प्रहरी बलको अस्तित्व र औचित्य नै सङ्कटमा पर्‍यो भने कुनै आश्चर्य हुने छैन ।

योचाहिँ सरकारले नहेर्ने ?
राजनीतिक व्यापारलाई पछि पार्दै यतिबेला शैक्षिक व्यापार चरमोत्कर्षमा पुगेको छ । त्यसमाथि पनि दश जोड दुई र त्यसमाथिका शैक्षिक संस्थाको व्यापार छोइनसक्नु गरी फस्टाउँदै गएको छ । राजनीतिज्ञ तथा व्यापारीहरूले पछिल्लो समयलाई विभिन्न विश्वविद्यालयबाट उच्च शिक्षाको शैक्षिक प्रमाणपत्र बोकेकाहरूलाई साथ लिएर स्कुल–कलेज सञ्चालन गर्ने व्यवसायमा लागेका छन् ।
शिक्ष्ाँ क्षेत्रलाई व्यवसायको रूपमा विकास गराउँदै लगेका शैक्षिक व्यापारीहरूले आफ्नो व्यापारलाई अन्तर्राष्ट्रिय स्तरको देखाउँदै अभिभावकबाट चर्को शुल्क लिन स्कुल–कलेजका नाम पनि अन्तर्राष्ट्रिय राख्ने गरेको पाइन्छ । त्यो पनि अमेरिका, जापान, जर्मनीलगायत विभिन्न विकसित राष्ट्रका सहरहरूको नामबाट । चर्को शुल्क लिन शैक्षिक व्यापारीहरूले आफ्नो स्कुल–कलेजको भवन अत्याधुनिक र झिलझिले बनाउने, अनेक थरीका रङ्ग–रोगन गर्ने, टुपिस ड्रेसको व्यवस्था गर्नेजस्ता कार्य गरी विद्यार्थी तान्ने अभियानमा जुटेका छन् । केही हदसम्म उनीहरू यस्तो व्यवसायमा सफल भएको पनि देखिएको छ ।
उच्च माध्यमिक शिक्षा परिषद् र त्रिभुवन विश्वविद्यालयले उपलब्ध गराएको तथ्याङ्कअनुसार उपत्यकामा मात्र चार सय ७५ वटा कलेज छन् । जसअनुसार काठमाडौंमा दुई सय ८२, ललितपुरमा एक सय र भक्तपुरमा ३३ वटा कलेज छन् । त्रिभुवन विश्वविद्यालयले भने उपत्यकाको तीनवटै जिल्लामा सम्बन्धन दिएका कलेज जम्मा ६० वटा मात्र छन् । त्यस्तै शिक्षा विभागका अनुसार १८ सयभन्दा बढी विद्यालय छन् उपत्यकामा मात्र । त्यसैले सहरका प्रत्येक गल्ली–गल्लीबाट बिहानै पाँच बजेदेखि भाडाका ट्याक्सीजस्तै स्कुल–कलेजका बस गुड्न थाल्छन् विद्यार्थी बटुल्दै । बिहानको समयमा स्कुल–कलेजका बसले नै सडक ढाकेका हुन्छन् ।
झरीमा उम्रेको च्याउसरी सञ्चालन भएका कलेजहरूले अभिभावकबाट मासिक शुल्क पनि मनपरी रूपमा लिने गरेको पाइएको छ । स्कुलले जस्तो कलेजहरूले यति मात्र शुल्क लिने भन्ने व्यवस्था नभएकोले उनीहरूले आफूखुसी शुल्क लिने गरेका छन् । उच्च माध्यमिक विद्यालय सङ्घ (हिसान) स्रोतका अनुसार उपत्यकाका केही कलेजमा विद्यार्थीबाट मासिक १५ देखि २० हजारसम्म लिने गरेका छन् । त्यो शुल्क उनीहरूले अतिरिक्त क्रियाकलाप, प्राक्टिकल, घुमघाम, खेलकुदजस्ता विभिन्न शीर्षक राखेर लिने गरेका छन् । केही निजी कलेजहरूले कलेज प्रवेश शुल्क भन्दै प्रत्येक विद्यार्थीबाट दुई हजारसम्म लिने गरेका छन् ।
‘त्यसरी चर्को शुल्क लिने कलेजले विद्यार्थी तान्नका लागि विभिन्न पत्रपत्रिकामा अत्यधिक रकम खर्चेर विज्ञापन दिने गरेका छन्,’ हिसानका एक अधिकारीले बताए । ती अधिकारीका अनुसार, पछिल्लो समयमा विभिन्न प्राध्यापकहरूका नाम राखेर सञ्चालन गरिएका कलेजले महँगो शुल्क लिने गरेका छन् । जसअनुसार वर्षा, एभरेष्ट फ्लोरिडा, ह्वाइट बंगाला, रातो बंगाला, साउथ वेस्टर्न स्टेट, जेभियर, एलए, डनबस्कोलगायतका छन् । त्यसमध्ये नेकपा–माओवादीनिकट विद्यार्थी सङ्गठनले विद्यार्थीबाट चर्को शुल्क लिएको भन्दै गत सोमबार बसुन्धराको साउथ वेस्टर्न स्टेट, मीनभवनस्थित एभरेष्ट फ्लोरिडा र ललितपुरस्थित रातो बंगला कजेल तोडफोड गरे । विदशी नाम राखेकै भरमा विद्यार्थीबाट चर्को शुल्क लिएको भन्दै भवनका सिसा, कम्प्युटर तथा गाडी तोडफोड गरेको सङ्गठनका नेता रत्न ढकालले बताए ।
हिसानका उपाध्यक्ष बाबुराम पोखरेलले कलेजहरूले यति नै शुल्क लिने भन्ने नभएकाले शुल्कमा मनपरी रहेको बताए । उनले भने, ‘निश्चित शुल्क लिनु भनेर नतोकिएकाले कलेजहरूले आफूखुसी शुल्ल तोकेर लिने गरेका छन् ।’ उनले शुल्क बढी लियो भनेर कलेजमा आक्रमण गर्ने परिपाटी बसाल्न लागिएकोमा चिन्ता प्रकट गर्दै भने, यस विषयमा छलफल गरेर टुङ्गाउन सकिन्छ, हामीले त्यसबारे सोचिरहेका छौँ ।’ उनले कुन कलेजले कति रकम लिएको छ भन्नेबारे आफूहरूलाई जानकारी नहुनेसमेत बताए । अभिभावक सङ्घका अध्यक्ष सुप्रभात भण्डारीले पनि निजी उच्च माध्यमिक विद्यालयहरूले मनोमानी ढङ्गले शुल्क लिने र विद्यार्थी लोभ्याउने काम भएको बताए । उनले भने, ‘यसतर्फ सरकारको ध्यान जानु जरुरी छ, नत्र यसले निकै ठूलो समस्या निम्त्याउँछ ।’

लामाले अड्डी लिए
लन्डन ओलम्पिकको आयोजना हुन एक साता बाँकी रहँदासमेत नेपाल ओलम्पिक कमिटीले ‘सेभ द मिसन’को टुङ्गो लगाउन सकेको छैन । राष्ट्रिय खेलकुद परिषद्का सदस्यसचिव युवराज लामाले लन्डन ओलम्पिकमा सेभ द मिसन नबन्ने घोषणा गरेपछि अब कसलाई सेभ द मिसन बनाउने भन्ने कुरामा एनओसी रनभुल्लमा परेको छ । एनओसीका अध्यक्ष धु्रवबहादुर प्रधानले ओलम्पिकको सेभ द मिसन राखेपका सदस्यसचिव लामा नै भएको जिकिर गरे पनि लामाले आफू कुनै हालतमा पनि लन्डन ओलम्पिक नजाने कुरा बारम्बार दोहोर्‍याउँदै आएका छन् ।
लामाको अडानले निकै मर्कामा परेका एनओसीका पदाधिकारीहरू अहिले लामालाई मनाउन दिनरात एउटै बनाएर लागेका छन् । राज्यको प्रतिनिधित्वबेगर ओलम्पिकमा नेपालको बद्नाम हुने र आफ्नो व्यक्तिगत छविमा समेत कालो दाग लाग्ने भएपछि अहिले जसरी भए पनि लामालाई नै सेभ द मिसन बनाउनमा एनओसी प्रयासरत छ । अर्को कुरा लामाको अनुपस्थितिमा मुलुकको ओलम्पिक विवाद लन्डन ओलम्पिकमा समेत छताछुल्ल हुने भयले पनि एनओसीले अन्य व्यक्तिलाई सेभ द मिसन बनाउने आँट गर्न सकेको छैन ।
अहिले लामा नजाने, एनओसी लैजाने कुराले खेलकुद निकै चर्चा पाएको छ । लामा ओलम्पिक नजाने भनेर एनओसीलाई पत्राचार नगरेको बहानामा प्रधानले लामासँग दुईपटक गोप्य वार्ता गरेको थाहा भएको छ । दुवै गोप्य वार्तामा लामाले आफू ‘नजाने’ स्पष्ट धारणा राखेको बुझिएको छ । पहिलो वार्तामा जीवनराम श्रेष्ठलाई सँगै लगेका प्रधानले दोस्रो वार्तामा ज्योति राणालाई लगेका थिए । वार्ता उपलब्धिहीन भए पनि सकारात्मक भएको बताउँदै आएका प्रधानले तेस्रोपटकको वार्तामा लामाले सहमति जनाउने विश्वास प्रकट गरेका छन् । लन्डन ओलम्पिकको उत्तराद्र्धमा समेत सेभ द मिसनको टुङ्गो लगाउन नसकेको एनओसीले अब लामालाई मनाउन सफल हुन्छ या असफल त्यो प्रतीक्षाको विषय बनेको छ । माओवादीको विस्तारित बैठकमा रहेका लामासँग सम्पर्क राख्दा उनले आफू ‘नजाने’ अडानलाई दोहोर्‍याएका थिए ।

यसरी सुध्रिन थाले कैदीबन्दी
संसारको दुई हजार दुई सयवटा जेलमा सञ्चालन भइरहेको क्रिमिनन् (जेल सुधारक) तालिम कार्यक्रम विगत चार वर्षदेखि सदरखोर डिल्लीबजारमा सञ्चालन भइरहेको आयोजकले जनाएका छन् । जेलमा रहेका कैदीबन्दीहरूलाई जेल–जीवनपश्चात् आदर्श एवम् उत्पादक जिन्दगी बिताउन मद्दत पुर्‍याउने उक्त तालिम कार्यक्रमका प्रशिक्षार्थीलाई गत आइतबार डिल्लीबजार खोरमा प्रमाणपत्र वितरण गरियो ।
क्रिमिनन् नेपालद्वारा आयोजित प्रमाणपत्र वितरण कार्यक्रममा कारागार व्यवस्थापन विभागका महानिर्देशक दुर्गाप्रसाद भण्डारीले प्रमुख अतिथिका रूपमा सम्बोधन गर्दै तालिम कार्यक्रमले जेलमा प्रशस्त सुधार देखिएकोले यस कार्यक्रमलाई नेपालका अन्य जेलमा पनि सञ्चालन गर्नका लागि यथाशक्य प्रयास गरिने बताउनुभयो । सोही कार्यक्रममा क्रिमिनन् नेपालका राष्ट्रिय निर्देशक वसन्तराज कुँवरले आफूले इण्डोनेसियाको जेलमा यस्तो कार्यक्रम सञ्चालन भएको देखेपछि नेपालमा पनि यो कार्यक्रम आवश्यक भएको महसुस गरेर कार्यक्रम ल्याइएको जानकारी गराउँदै क्रिमिनन् नेपाल अन्य स्थानका जेलमा पनि कार्यक्रम सञ्चालन गर्न इच्छुक रहेको र यसका लागि सरकारलाई सहयोग गर्न तयार रहेको बताउनुभयो ।
सदरखोर डिल्लीबजारका सुरक्षाप्रमुख दिवाकर घिमिरेले कार्यक्रमले कैदीबन्दीहरूको व्यवहारमा परिवर्तन देखिएको उल्लेख गर्नुभयो भने कारागार कार्यालयका प्रमुख तथा कार्यक्रमका सभापति कृष्णबहादुर खड्काले यस कार्यक्रममा प्रयोग भएका पुस्तक अत्यन्त प्रभावकारी रहेको, पुस्तक पढेपछि कैदीबन्दीहरूको आत्मविश्वास बढेको जानकारी आफूले पाएको र आफू पनि उक्त पुस्तक पढ्न इच्छुक रहेको बताउनुभयो । यस्तै, विगत चार वर्षदेखि क्रिमिनन् नेपालमा सक्रिय रहेका सदरखोर डिल्लीबजारका बहिदार नाइके महेन्द्र शाहले आफूले यससम्बन्धी कोर्स गरेपश्चात् आफ्नो सोचाइमा सकारात्मक परिवर्तन आएको अनुभव सुनाउनुभयो । त्यस्तै उक्त दिन प्रमाणपत्र प्राप्त गरेका प्रशिक्षार्थी सन्त थापामगर, खुमराज घले, रामहरि भण्डारी, इपेन्द्र चौधरी र डिल्लीराम दाहालले पुस्तक पढेपछि बाहिर गएर के काम गर्ने ? प्रतिशोध पो लिने हो कि ? फेरि यस्तै अपराधमा फर्किने कि ? भन्नेजस्ता नकारात्मक सोचमा परिवर्तन आएको बताए । यहाँबाट बाहिर निस्केपछि आफूहरूले विगतका कुरा बिर्सेर नयाँ जीवन अङ्गाल्ने जनाए ।
त्यस्तै विगत चार वर्षदेखि क्रिमिनन् नेपालका सुपरभाइजरको जिम्मेवारी सम्हाल्दै आएका पल्लव चालिसेले आफूले जेलमा यो कोर्स सञ्चालन गरेपछि अहिलेसम्म धेरै प्रशिक्षार्थीलाई प्रमाणपत्र वितरण गरिसकेको जानकारी गराउनुभयो । साथै उहाँले यस कार्यक्रमअन्तर्गत चार पुस्तक पढाइने र ती पुस्तकले उनीहरूलाई सामना, नियन्त्रण र संवादद्वारा समस्या समाधान गर्न सक्ने, समाजमा रहेका खराब र असल व्यक्तिको पहिचान गराउनेलगायत जीवनका उतारचढावमा खुसी रहने उपायहरू सिकाउने बताउनुभयो ।

कोही छ बालकृष्णलाई सघाउने ?
मान्छे भएर जन्मेपछि कहिले दुःख कहिले सुख त पाउँछन् नै तर जिन्दगीभरका लागि निरन्तर पीडा पाइरहेका छन् मकवानपुर जिल्ला नामटार– २ का बालकृष्ण परियारले । १० वर्षअघि वैवाहिक बन्धनमा बाँधिएका बालकृष्णका लागि गत ०५९ साल २५ गतेको दिन अत्यन्त अशुभ बनेर आइदियो । उक्त दिन एक पाँचतले घरको रंग लगाउने क्रममा पाँचौँ तलाबाट खसेर उनको दुईवटै खुट्टामा गहिरो चोट मात्र लागेन, सदाका लागि अपाहिज नै बन्नुपर्‍यो । आफ्नो उपचारका लागि उनले घरखेत र भएको जायजेथा नै बेच्नुपर्‍यो । त्यति गर्दा पनि उपचार भने सफल भएन । सोही साल उनकी आमाले यस धर्तीबाट सदाका लागि बिदा लिइन् । यस्ता पीडा भोग्दाभोग्दै उनीमाथि अर्को बज्रपात थपियो । जतिबेला एक बलियो र विश्वस्त सहाराको खाँचो थियो त्यस्तैबेला उनकी श्रीमतीले समेत सम्बन्धविच्छेद गरिन् । अहिले बसोबास गर्ने ठाउँ कतै नहुँदा कहिले हस्पिटलको परिसरमा त कहिले प्रहरी बिटछेउमा रात बिताउँदै आएका परियारका लागि यतिबेला एमआरआई गराउनु अत्यन्त आवश्यक छ, तर त्यसका लागि उनीसँग फुटेको कौडी पनि छैन । आमदाजुभाइ–दिदीबहिनीसँग उनले सहयोगका लागि याचना गरेका छन् । उनलाई सहयोग गर्न चाहने महानुभावले बालकृष्ण परियारको नाममा स्ट्यान्डर्ड फाइनान्स लि. न्युरोड, काठमाडौंमा रहेको ००५०००२३०५७२ नम्बरको खातामा सहयोग राशि जम्मा गरिदिनुहुन तथा मोबाइल नम्बर ९८०३२६८४५५ मा सम्पर्क गर्न सक्नुहुनेछ ।

हाम्रो स्वास्थ्य हाम्रै हातमा कार्यक्रम जारी
आधारभूत स्वास्थ्य सेवा कार्यक्रमअन्तर्गत ‘हाम्रो स्वास्थ्य हाम्रै हातमा’ भन्ने नाराका साथ नेपाल रेडक्रस सोसाइटी बालकोट उपशाखाद्वारा गत वैशाखदेखि हरेक साता नियमित रूपमा चेतनामूलक स्वास्थ्य कार्यक्रम सञ्चालन हुँदै आएको कार्यक्रमका संयोजक कृष्णमुरारी पौडेलले जनाउनुभएको छ । सो कार्यक्रमअन्तर्गत हरेक शनिबार बिहान ७ देखि १० बजेसम्म सन्तुलित तौल, रक्तचाप र मधुमेहको निःशुल्क परीक्षण गर्दै दीर्घरोगहरूबारे सेवा एवम् चेतनामूलक शिक्षा प्रदान गर्ने गरिन्छ ।
संयोजक पौडेलका अनुसार स्वास्थ्य अभिमुखीकरण, जनभेला, अन्तरक्रियालगायतका विभिन्न तयारी कार्यक्रमका साथ गत वैशाख २३ गते नेपाल रेडक्रस सोसाइटी केन्द्रीय सदस्य एवम् जिल्ला शाखा भक्तपुरका सभापति मनोज थापाबाट उक्त कार्यक्रमको उद्घाटन भएको थियो । सोही दिन मैत्रीय बचत तथा ऋण सहकारी संस्था लि.को आर्थिक तथा मिडसिटी अस्पतालको प्राविधिक सहयोगमा बृहत् निःशुल्क स्वास्थ्य परीक्षण र औषधि वितरण कार्यक्रम सञ्चालन गरिएको थियो भने पाँच सय स्थानीयले लाभ उठाएका थिए । त्यसयता हरेक साता ‘हाम्रो स्वास्थ्य हाम्रै हातमा’ कार्यक्रममा ६० देखि सयजनाले स्वास्थ्य परीक्षण गर्दै आएका छन् ।
नेपाल रेडक्रस सोसाइटी बालकोट युवा सर्कलका स्वयम्सेवक, मिडसिटी अस्पतालको प्राविधिक सहयोग, एभरेष्ट बैंकका शाखा प्रबन्धक एवम् यशष्कर सदस्य रञ्जन खड्का, ज्इल्क् का कार्यकारी प्रमुख एवम् यशष्कर सदस्य हरिहर भण्डारी, उपशाखा कोषाध्यक्ष एवम् विशिष्ट सदस्य उमेश सिलवाल, प्रकाश भट्टराई, विजय सिवाकोटी, सविता थापा, हरिकृष्ण भण्डारी, रवि खड्का, मैत्रीय बचत तथा ऋण सहकारी संस्था लि., बालकोट बचत तथा ऋण सहकारी संस्था लि., उपयोगी बचत तथा ऋण सहकारी संस्था लि. मेरिगोल्ड ई. स्कुल र प्याराडाइज एकेडेमीलगायतका सहयोगी संस्था एवम् व्यक्तिहरूको नियमित आर्थिक सहयोगमा उक्त कार्यक्रम सञ्चालन भइरहेको छ । बालकोट गाविस क्षेत्रका आमनागरिकमा स्वास्थ्यसेवाको पहुँच पुर्‍याउने र दीर्घजीवी रोगहरूबारे सेवा एवम् चेतनामूलक कार्यका साथ मानवीय सेवा गर्दै सो कार्यक्रमलाई निरन्तरता दिइने उपशाखा सभापति लवकुमार कार्कीले जानकारी दिए ।

जिशिकाको संरक्षणमा खेतला शिक्षक
लमजुङ । विगत लामो समयदेखि विद्यालय नगई खेताला शिक्षक राखेर तलब खाने शिक्षक लमजुङमा दिनप्रतिदिन बढ्दै गए पनि जिल्ला शिक्षा कार्यालय लमजुङले भने त्यस्ता शिक्षकलाई संरक्षण गर्दै आएको शिक्षा कार्यालय स्रोतले जनाएको छ ।
स्रोतका अनुसार बालकल्याण उमावि भकुण्डेका शिक्षक हरि दनाईले लामो समयदेखि विद्यालयमा नपढाई खेताला शिक्षक राखेर तलब खाँदै आएका छन् । दनाईले पेन्सन पाकेर पनि विद्यालय नछाडेको र उल्टै खेताला शिक्षकलाई न्यूनतम पारिश्रमिक दिएर तलब खाँदै आएको स्रोतले जनाएको छ । शिक्षक दनाईले लामो समयदेखि विद्यालय नपढाई तलब खाएको जिल्ला शिक्षा कार्यालयले स्वीकार गरेको छ । विद्यालयमा पढाउन जाँदा मदिरा सेवन गरेर अध्यापन गर्न जाने शिक्षक लमजुङमा धेरै रहेको कार्यालयले जनाएको छ । चण्डिस्थानस्थित गंगा मिलन माध्यमिक विद्यालयमा ०६३ सालदेखि अध्यापन गराउँदै आएका अङ्ग्रेजी विषयका शिक्षक दीनानाथ बसौलाले विद्यालयमा पढाउन नगई लामो समयदेखि तलब खाँदासमेत न त विद्यालय व्यवस्थापन समितिले कारबाही गर्न सकेको छ न त जिल्ला शिक्षा कार्यालयले नै । राजनीतिक शक्तिको आडमा विद्यार्थीको भविष्यमाथि खेलवाड गर्र्दै बसौलाले महिनामा हप्ता दिन पनि विद्यालयमा नपढाउने गरेको विद्यालय व्यवस्थापन समितिका अध्यक्ष भोजबहादुर रिमालले बताए । बसौलाले ०६३ सालदेखि हालसम्म करिब ३ वर्ष विद्यालयमा नै हाजिर नगरी तलब खाएको विद्यालय स्रोतले जनाएको छ । सो विद्यालयबाट यस वर्षको एसएलसी परीक्षामा ३९ जनाले परीक्षा दिएकोमा २४ जनाभन्दा बढी विद्यार्र्थी अङ्ग्रेजी विषय लागेर परीक्षामा अनुत्तीर्ण भएको अध्यक्ष रिमालले बताए । आफूले शिक्षक बसौलालाई कारबाही गरी अन्यत्र सरुवा गर्न भन्दा जिल्ला शिक्षा कार्यालयले नसुनी उल्टै संरक्षण गरेको रिमालको भनाइ छ । शिक्षक बसौलाले बेतलबी बिदा बस्ने कुरा आएको भए पनि निवेदन नआएको विद्यालयले जनाएको छ । त्यसैगरी जिल्ला शिक्षा कार्यालयले पनि बसौलाको बिदा स्वीकृत नगरेको जनाएको छ । शिक्षक हरि दनाई र शिक्षक बसौलाको विषयमा आफूहरूलाई रिपोर्ट आएको र कारबाही प्रक्रिया अगाडि बढेको जिल्ला शिक्षा अधिकारी नारायणप्रसाद भट्टले जानकारी दिए ।
जिल्लाको विभिन्न गाविसमा सञ्चालित सरकारी विद्यालयमा अध्यापन गराउने अधिकांश शिक्षक आफ्नो सट्टामा खेताला शिक्षक राखेर तलबभत्ता खाँदै आएका छन् । तर, यसप्रति जिल्ला शिक्षा कार्यालय मौन बसेको छ । जिल्लाको इलमपोखरी, ताँजे, गाउँसहर, भार्तेलगायतका अधिकांश विद्यालयका शिक्षकले खेताला शिक्षक राखी घरमै बसी तलब–भत्ता खाँदै आएका छन् ।
– छविलाल बगाले

पहाडीको कथा ः बिचल्लीमा जूनतारा
मानव समाजको विकासक्रमसँगसँगै मान्छेको दैनन्दीय कथा र व्यथाका लहरो पनि झाँगिन थाल्यो । मानव समाज र मान्छेले भोग्नुपरेका दुःख, पीडा, सास्ती, हैरानी र सफलता एवम् असफलताका फेहरिस्त जोडेर कवि, लेखकहरूले कथा रच्न थाले । यिनै कथा–व्यथाहरूलाई पढेर मानव समाज आफ्ना पीर, व्यथाहरू भुल्ने र त्यसबाट पे्ररणा बटुलेर आफ्नो आहत हृदयलाई शीतल मल्हमपट्टि लगाउन थाले । मानव समाजको शिक्षा, संस्कृति र सभ्यतासँगसँगै कथा विधा पनि क्रमशः लोकप्रिय हुँदै आयो ।
आधुनिक नेपाली कथाको इतिहासमा गुरुप्रसाद मैनाली, भवानी भिक्षु, विश्वेश्वरप्रसाद कोइराला, विजय मल्ल, देवकुमारी थापा, गोविन्दबहादुर मल्ल ‘गोठाले’, भीमनिधि तिवारी, बदरीनाथ भट्टराई, पुष्कर शमशेरजस्ता सशक्त हस्ताक्षरको महत्वपूर्ण योगदान छ । नेपाली कथाको यही विशाल र फराकिलो सिलसिलामा कृष्ण पहाडी आफ्नो दर्बिलो कथा संरचना ‘बिचल्लीमा जूनतारा’ नामक कथासङ्ग्रह लिएर नेपाली साहत्यिको उर्वर फाँटमा उपस्थित भएका छन् ।
पहाडी संरचित यस कथासङ्ग्रहभित्र शान्तलोक, तीतेपाती घारी, विडम्बना, फिस्टो र ढिस्को, पे्रमका रङ हजार, नागमणि, उग्रतारा, भाग्य आफ्नो आफ्नो हुलको दुःख, रकमी राधव, बिचल्लीमा जूनतारा, कुकर्मको परिणाम, चराको भविष्यवाणी, दरबारभित्र, दूबोको बिहे, मञ्जुरी, आशा–निराशा, हिमालय, हिमलोक, गोधूलि, पातालको कथा, परेवाको श्राप, तिमी एक्लो छैनौ, कलियुग आदि कथा रहेका छन् ।
र, यी कथाहरूले नेपाल र नेपाली जनजीवनमा व्याप्त प्रवृत्ति, प्रकृति, संस्कृति, परम्परा, आचरण, पछौटेपन, पिछडिनुपर्नाका वास्तविक कारणहरू, त्यसबाट छुटकारा पाउने उपाय–सोचलगायतका यावत् पक्षलाई कथाकार कृष्ण पहाडीले सूक्ष्मतम् विश्लेषण गरेर पाठकहरूका हृदयमा प्रभावशाली छाप छाड्न सफल भएका छन् ।
यसभित्रका कथाहरूमा आधुनिक हुने रहरमा कथाकारले कतै पनि फोस्रो आडम्बर र शब्दभ्रमको खेती गरेका छैनन् । कथाबनोटको सिलसिलामा निर्झरमय प्रवाह छ । हरेक कथाले पाठकको हृदयमा सोचाइको नयाँ तरङ्ग उत्पन्न गराउन कथाकार सफल छन् ।
मानवीय मनोदशालाई उनले राम्रोसँग पहिचान र चिरफार गरेका छन् । सामाजिक विधि व्यवहार र सम्पत्तिको सम्बन्धले मान्छेलाई कतिसम्म पीडित र प्रताडित बनाउन सक्छ भन्ने तथ्यलाई कथाकार पहाडीले मनोविश्लेषणात्मक बनाएका छन् ।
यी कथा केवल लेख्नका लागि लेखिएका कथा होइनन् । हरेक कथाले पाठकलाई तरङ्गित बनाएर झकझक्याएका छन् । प्रकृति पर्यावरणमा आएको ह्रास र त्यसबाट चराचर जगत्का सम्पूर्ण प्राणीलाई परेको दुस्प्रभावप्रतिको गहिरो संवेदनशीलतामा कथाकारले मानव समाजको ध्यानाकृष्ट गराएका छन् ।
मान्छेको ज्ञान, विद्या, बुद्धि र चेतनात्मक उचाइले गर्दा पृथ्वीलाई मात्र नभएर ग्रह, उपग्रह र जून–तारालाई समेत आफ्नो बहसमा राख्न सक्ने भएको छ । तर, तीव्र स्वार्थ, बेइमानी, एकलकाँटे आचरण र छुद्र प्रवृत्तिले गर्दा मान्छे दिनप्रतिदिन प्राणी जगत्मा सर्वाधिक पीडित, प्रताडित र दुःखी जन्तुका रूपमा यही मानव समाज हुँदै गएकाप्रति कथाकार दुःखी छन् ।
मान्छेले आफ्नो लक्ष्य, उद्देश्य र मानवीयता बिर्सिएको छ । जे जसरी हुन्छ अरूलाई दुःख दिएर, सताएर, भयभीत बनाएर आफू मात्र खुसी हुने छुद्रतम् आकाङ्क्षाले गर्दा मानव समाजलाई मान्छेले रुग्ण बनाएको छ । हरेक चेतनशील, जागरुक र शिक्षित प्रशिक्षित हुँ भन्ठान्ने मान्छेको अगाडि पनि दर्बिलो प्रश्नचिह्न उभिएको छ । के मान्छे एक्लै सुखी, शान्त र आनन्दित बन्न सक्छ ? के मान्छेलाई प्रकृति, पर्यावरण, बोटबिरुवा, पशु, पन्छी, नदीनाला र जिशासाहरू जगाएर संसारप्रति गम्भीर बनेर सोच्न बाध्य बनाएका छन् कथाकार कृष्ण पहाडीले कथासङ्ग्रह ‘बिचल्लीमा जूनतारा’को माध्यमबाट ।
पहाडीका कथाहरू विज्ञानले संसारमा ल्याएको अत्याधुनिक सोच शैलीलाई अवलम्बन गरेर सिर्जना भएका छन् । मान्छेको प्रकृति, प्रवृत्ति र आचरण बेग्लै भइसकेको छ । मान्छेको मनोवृत्तिलाई बुझ्न सकिएन भने अबको संसार चल्न मुस्किल हुन्छ भन्ने दर्बिलो सन्देश सम्पे्रषण गर्न सफल छन् कथाकार ।
कथामा नेपाली जनजीवन, नेपाली परिवेशलाई माध्यम बनाएर अन्तरिक्षजगत् र अन्तर्राष्ट्रिय धरातललाई समेत कल्पना र सम्बोधन गरिएको छ । आधुनिक कथा फाँटमा यति विशुद्ध चिन्तन, मनन र गम्भीर अध्ययन गरेर संरचित विरलै कथाहरूमध्येको कथासङ्ग्रह हो ‘बिचल्लीमा जूनतारा’ । पहाडीका कथाहरू केवल लेखका लागि मात्र लेखिएका र पढिसकेपछि पाठकहरूले फास्स न फुस्स महसुस गर्नुपर्ने कथाहरू होइनन् । कथा साहित्यको फाँटमा प्रभावशाली उपस्थितिका लागि कथाकार कृष्ण पहाडीलाई साधुवाद !
– रामेश्वर राउत ‘मातृदास’

भीमसेन उमाविको नयाँ भवन निर्माणार्थ दुई करोड ८९ लाख सहयोग
विभिन्न विकास परियोजनाका लागि सहयोग प्रदान गर्दै आएको छिमेकी मित्रराष्ट्र भारतले नवलपरासीको भीमसेन आदर्श उच्च माध्यमिक विद्यालयको भवन निर्माणका लागि दुई करोड ८९ लाख आर्थिक अनुदान सहयोग दिने भएको छ । यससम्बन्धी सम्झौतापत्रमा गत साता भारतीय राजदूतावास, नवलपरासी जिल्ला विकास समिति र श्री भीमसेन आदर्श उमाविबीच हस्ताक्षर भएको छ । साना विकास परियोजनाअन्तर्गत भारत सरकारको अनुदान सहयोगमा नवलपरासी जिल्लामा सञ्चालित आठौँ विकास परियोजनाका रूपमा रहने यस सहयोगबाट निर्माण हुने तीनतले आधुनिक भवनले उक्त विद्यालयको जीर्ण भौतिक अवस्थामा कायापलट गर्ने विश्वास लिइएको छ ।
०२५ सालमा प्राथमिक विद्यालयको रूपमा स्थापना भई बीस वर्षअघि अर्थात् ०४९ मा उच्च माध्यमिक विद्यालयका रूपमा स्तरोन्नति गरिएको भीमसेन आदर्श उमावि नवलपरासीको देवचुली गाविसमा अवस्थित छ । विद्यालयमा हाल उपलब्ध पूर्वाधार जीर्ण तथा त्यहाँका समस्त विद्यार्थी र प्राध्यापकका निम्ति अध्ययन÷अध्यापनका निम्ति अपर्याप्त रहेकोले निकै कठिनाइ भोग्नुपरेको अवस्था छ । नयाँ बन्ने भवनबाट विद्यालयमा अत्यावश्यक कक्षाकोठाहरू उपलब्ध भई करिब नौ सय छात्रछात्रालाई सहज शैक्षिक वातावरण उपलब्ध हुने र जिल्लाको शैक्षिक विकासमा योगदान पुग्नेमा स्थानीयवासी विश्वस्त रहेका छन् ।
सो परियोजना नेपाल सरकारको नीति–नियमअनुसार नवलपरासी जिविसद्वारा कार्यान्वयन गरिनेछ भने परियोजनाको गुणस्तरीयता र समयमै समापनको लागि समेत सोही निकाय जिम्मेवार रहने सम्झौतामा उल्लेख गरिएको छ । प्रभावकारी ढङ्गले परियोजना समयमै समापन भए÷नभएको निरीक्षण गरी सामुदायिक सहभागिता सुनिश्चित गर्नका लागि जिविस तथा अन्य सरोकारवाला प्रतिनिधिहरू सम्मिलित एक अनुगमन समिति गठन गर्ने सम्झौतासमेत गरिएको बताइएको छ ।
यस विद्यालयका अतिरिक्त भारत सरकारको सात करोड २८ लाख सहयोगमा नवलपरासीमा अन्य तीनवटा परियोजनाको निर्माण कार्र्य सम्पन्न भइसकेको छ भने एक अर्ब ८२ लाखको लागतमा विद्यालय भवन, अस्पताल र तटबन्ध निर्माणजस्ता चारवटा परियोजनाको काम जारी रहेको बुझिएको छ । भारतले नवलपरासी जिल्लाका विभिन्न संस्थाहरूलाई ६ वटा एम्बुलेन्स तथा दुईवटा स्कुलबससमेत उपहार प्रदान गरेको छ ।

पेरिसमा पाहुना दङ्ग
फ्रान्समा नेपाल प्रवद्र्धन गर्ने अभियानलाई जारी राख्दै पेरिसस्थित नेपाली राजदूतावासले गत शुक्रबारका दिन एक रमाइलो कार्यक्रमको आयोजना गर्‍यो । पेरिसस्थित फ्रेन्च परराष्ट्र मन्त्रालयका प्रतिनिधि, विदेशी राजदूत तथा अन्य कूटनीतिज्ञहरू, युनेस्को विश्व सम्पदा कार्यालयका उच्च अधिकृतहरू, रुवांस्थित अवैतनिक नेपाली वाणिज्यदूत, प्रोफेसरहरू, डाक्टरहरू, फ्रेन्च एनजीओका प्रेसिडेन्टहरू, व्यापारी वर्ग, ट्राभल एजेन्सी, मेयर अफिसका अधिकृतहरू, नेपाल सांस्कृतिक गृहका प्रेसिडेन्ट, पेरिसस्थित नेपाली समुदाय तथा अन्य विशिष्ट पाहुनाहरूको उपस्थिति रहेको सो अवसरमा फ्रेन्च भाषामा स्वागत मन्तव्य दिँदै फ्रान्सका लागि नेपाली राजदूत मोहनकृष्ण श्रेष्ठले नेपालका विभिन्न उत्कृष्ट पक्षहरूको जानकारी प्रदान गर्नुको अलावा भगवान् बुद्धको शिक्षाबारे पनि प्रकाश पार्नुभएको थियो । नेपाल वैदेशिक लगानीका लागि एक राम्रो मुलुक भएकाले लगानीकर्ताहरूका लागि नेपालमा लगानी गर्न राम्रो अवसर भएको भन्दै उहाँले नेपाल भ्रमणका लागि उपस्थित सबैको ध्यानाकर्षण गर्नुभयो ।
सोही क्रममा पेरिस पुगेका सुरसुधा साङ्गीतिक समूहले प्रस्तुत गरेको सांस्कृतिक कार्यक्रम हेरेर आगन्तुक पाहुनाहरूले आनन्द अनुभूत गरेका थिए । पाहुनाहरूलाई नेपाल पर्यटन केन्द्रबाट तयार पारिएको सीडी रोम तथा राजदूतावासबाट विभिन्न खबर समेटी फ्रेन्च भाषामा तयार पारिएको पुस्तिकासमेत वितरण गरिँदा सबैले सराहना गरेका थिए ।

तपस्वीलाई चाहियो सुरक्षा
लामो समयदेखि बाराको हलखोरिया जङ्गलमा तपस्यारत तपस्वीका रूपमा प्रचारित रामबहादुर बमजनको विभिन्न जातीय र धार्मिक सङ्घ÷संस्थाहरूले सुरक्षाको माग गरेका छन् । बोधी श्रवण धर्म सङ्घ, नेपाल तामाङ घेदुङ, उर्गेनछ्योइलिङ गुम्बा, कर्मसम्तेलिङ गुम्बा, विश्व शान्ति महाबौद्ध गुम्बा र नेपाल आदिवासी जनजाति महासङ्घले तपस्वी बमजनको तपस्या भङ्ग नहुने गरी उनको सुरक्षा दिन सरकारसँग माग गरेका हुन् ।
उनीहरूले बमजनले तपस्या गरेको हलखोरिया जङ्गलमा निर्माण भएका गुम्बालगायतका धार्मिक संरचना भत्काइएको स्मरण गराउँदै उक्त घटना अन्तरिम संविधानको धर्मनिरपेक्षताको भावनाविपरीत, अन्तर्राष्ट्रिय श्रम सङ्गठन महासन्धि एक सय ६९ र संयूक्त राष्ट्रसङ्घको घोषणाविपरीत रहेको भन्दै त्यसको भत्र्सना गरेका छन् । उनीहरूले बमजनको सुरक्षासहित, भत्काइएका पुनर्संरचना पुनर्निर्माण गर्नुपर्ने, हलखोरिया वनलाई धार्मिक वन घोषणा गरी विश्वसम्पदा सूचीमा सूचीकरण गर्नुपर्ने, बमजनका अनुयायी र भक्तजनहरूमाथि लगाएको वन फडानीको झुटा मुद्दा खारेज गर्नुपर्नेलगायतका माग सार्वजनिक गरेका छन् । हलखोरियामा सताइएपछि तपस्वी बमजन शान्तस्थलको खोजी गर्दै हलखोरिया जङ्गल छाडेर सिन्धुलीको कमलामाई नगरपालिका– ६ स्थित जनकल्याण सामुदायिक वनमा सरेको पनि उनीहरूले जानकारी दिएका छन् ।

वन र अख्तियारबीच बेग्लै साइनो !
वन विभागका कनिष्ट महानिर्देशकले अख्तियार दुरुपयोग अनुसन्धान आयोगका कर्मचारीलाई रकम दिएको रहस्य खुलेको छ । वन विभागका महानिर्देशक व्रजकिशोर यादवले अख्तियार सचिव भगवती काफ्लेका स्वकीय सचिव अनन्त लामिछानेमार्फत रकम बुझाएको सूत्रको दाबी छ । वन विभागका कार्यालय समयभन्दा केही समयअघि मात्र आउने अख्यितारका लामिछानेले पटक–पटक गरी मोटो रकम लिएर जाने गरेको स्रोतले जनायो ।
विभाग स्रोतका अनुसार महानिर्देशक यादवले लामिछानेका आफन्त र नातागोता पर्नेलाई वन विभागअन्तर्गतका कार्यालयमा करार सेवामा भर्ना गरेका छन् । अख्तियारले वन विभागमा कनिष्ट सहसचिवलाई महानिर्देशक बनाएको भन्दै सच्याउन पटक–पटक निर्देशन दिए पनि मन्त्रालयका उच्च कर्मचारीलाई मोटो रकम बुझाएका कारण अहिलेसम्म पनि सो निर्देशन रकमकै आडले कार्यान्वयन हुन सकेको छैन । वनमन्त्री भएर आएका जनकपुरका यदुवंश झा पनि ग्वाँचे मान्छे हुन् । मन्त्री झाले पनि विभिन्न बहानामा वन महानिर्देशक व्रजकिशोरसँग १५ लाख हात पारेपछि गला नै अवरुद्ध हुन पुगेको छ । अहिलेसम्म लाख रुपैयाँ घुस आएको नदेखेका मन्त्री झा महानिर्देशकको घुसले तीर्थव्रतसमेत गर्न पछि परेका छैनन् । तर, महानिर्देशक यादव भने जसरी भए पनि महानिर्देशकको कुर्सी सुरक्षित बनाउने दाउमा केन्द्रित रहेको वन विभागका उच्च कर्मचारी बताउँछन् । वन विभागका उपमहानिर्देशक यमबहादुर थापाले पनि एक साताअघि महानिर्देशक यादवले गरेको गलत कामविरुद्ध अख्तियारमा उजुरी गरे पनि अख्तियारका कर्मचारी लामिछानेले उजुरीको फोटोकपि नै वन महानिर्देशकलाई बुझाएपछि अहिले वनमा महानिर्देशक र उपमहानिर्देशकको बोलचाल नै बन्द भएको छ । महानिर्देशक यादव जिल्ला–जिल्लामा पैसा उठाउन लगाउने तथा सङ्कलन भएको पैसा एकलौटी लिने गरेकाले खन्चुवा स्वभावका उपमहानिर्देशक थापा आफ्नो भाग नआएपछि महानिर्देशकविरुद्ध उत्रिएको वन विभाग उच्च स्रोतले जनायो ।
राष्ट्रिय वन महाशाखामा कार्यरत उपमहानिर्देशक थापा अहिले महानिर्देशकविरुद्ध उत्रिएपछि आफ्नो सहयोगी खोजी गरिरहेका छन् । पछिल्लो समय महानिर्देशक यादवले एमाले अध्यक्ष झलनाथ खनाल वनमन्त्री भएको वेला पीए रहेका उनका सहयोगी वन अधिकृत बलराम अधिकारी र बाँकेमा वन फँडानी गरी व्यापक भ्रष्ट कर्मचारी भनेर चिनिने श्याम शर्मासँग उठबस गर्न थालेका छन् । महानिर्देशकको निर्देशनमा कनिष्ट वन अधिकृत अधिकारी र शर्माले सहयोग गरेको खुल्न आएको छ । महानिर्देशकको हातमा विभागको महत्वपूर्ण काम पनि यी नै अधिकारी र शर्मा एण्ड कम्पनीको हातमा पुगेको विभागका सोझा कर्मचारी बताउँछन् । ‘अख्तियारले पनि अहिलेसम्म केही गर्न सकेन, विभागका मुला कर्मचारीले आफूलाई हल्लाउन पनि नसक्ने’ बताउँदै महानिर्देशक यादव हिँड्ने गरेका छन् ।

घरजग्गा एजेन्टलाई प्रमाणपत्र
घरजग्गा एजेन्ट सङ्घ, नेपाल (रिआन)ले घरजग्गाको कारोबार गर्ने व्यवसायीहरूलाई सङ्घको सदस्यता र व्यावसायिक रूपमा कारोबार गर्ने एजेन्ट कार्यालयलाई आबद्धताको प्रमाणपत्र वितरण गर्‍यो । उक्त कार्यक्रममा रियल स्टेट कारोबार गर्न सरकारको सम्बन्धित निकायबाट अनुमति प्राप्त २५ रियल स्टेट व्यवसायीले प्रमाणपत्र लिएका थिए । आबद्धताको क्रम जारी रहेको र उपत्यकाबाट केही महिनापश्चात् जिल्ला–जिल्ला हुँदै देशैभरि सङ्घको सदस्यता र आबद्धता वितरण गराउने संस्थाका केन्द्रीय अध्यक्ष ईश्वरप्रसाद खरेलले जानकारी दिए । घरजग्गा व्यवसायलाई सभ्य, भव्य, व्यवस्थित, व्यावहारिक र वैज्ञानिक तुल्याउँदै अन्य रियल स्टेटसँग सरोकार भएका व्यवसायीहरूसँग पनि सहकार्य गर्ने खरेलले बताए ।