कलङ्कित बन्यो सहिद स्मारक लिग-श्रीविक्रम भण्डारी

कलङ्कित बन्यो सहिद स्मारक लिग-श्रीविक्रम भण्डारी


अखिल नेपाल फुटबल सङ्घ (एन्फा) को लामो विवादपछि सञ्चालन भएको सहिद स्मारक लिग फुटबल प्रतियोगिता यतिबेला ‘झुर’ लिग सावित भएको छ । मुलुकको सर्वोकृष्ट लिगलाई झुर लिग बनाउने कार्य आयोजक एन्फा स्वयम्ले गरेको थियो । लिगमा भएको मिलेमतोले प्रतियोगिताको मानमर्दन गरे पनि एन्फा भने मूकदर्शक बनेको थियो । तीन वर्षको लामो अन्तरालपछि सञ्चालन भएको सहिद स्मारक लिगलाई विवादरहित बनाउनुको साटो एन्फाका पदाधिकारीहरूले नै लिगको धोती फुस्काउने कार्य गरेका थिए । लिगलाई व्यवस्थित तरिकाले सञ्चालन गर्नुभन्दा झारो टार्ने रूपमा लिइएको थियो । फुटबलको मेरुडण्ड मानिएको लिग फुटबलको जिम्मा आलाकाँचाहरूलाई सुम्पिएर एन्फा अध्यक्ष गणेश थापाले लिग फुटबलको गरिमालाई सडकमा छताछुल्ल पारेका छन् । लिग फुटबलको उद्देश्य के हो, त्यसको नतिजा के आउनुपर्छ भन्नेसमेत ज्ञान नभएकालाई लिगको जिम्मेवारी सुम्पिएर थापाले ठूलो गल्ती गरेको प्रमाणित भएको छ ।
कुनै पनि मुलुकमा लिग फुटबल सञ्चालन गर्नुको उद्देश्य फुटबलको स्तरमा विकास गर्नु र नयाँ-नयाँ फुटबलका हिरो जन्माउनु रहेको हुन्छ । दुर्भाग्य नेपालको, यहाँ फुटबललाई हेर्ने दृष्टिकोण फरक छ । फुटबलको प्रतिष्ठा दाउमा लागेको बेलामा समेत जिम्मेवार निकाय अनदेखि र अनसुनीको नाटक गरिरहेको छ । फुटबलको चहर्‍याई घाउमा उल्टै नुनखुर्सानी दलेर उसको छटपटाइमा अट्टहास गर्दैमा मख्ख छ । अनुशासनहीनतालाई आत्मसात् गर्दै फुटबलको खिल्ली उडाइरहेको छ । फुटबललाई रसातलमा पुर्‍याउने तानाशाही प्रवृत्ति र रणनीतिको जयजयकार गरिरहेको छ । लाज र अफसोच मान्नुभन्दा पनि फुटबलको चीरहरण गर्न लागेको छ । यसमा दुस्सासनको अभिनय एन्फा अध्यक्ष गणेश थापाले निभाएका छन् भन्दा अतिसयोक्ती नहोला । अन्यथा नेपाली फुटबलको यस्तो हरिविजोग हुने थिएन ।
गणेश थापा फुटबलका राम हुन् कि रावण उनैलाई थाहा होला । यदि उनी राम भएका भए फुटबलको यस्तो दुर्गति कदापि देख्न सक्तैनथे । लिग फुटबलमा देखिएको मिलोमतोको चर्चाले अहिले शिखर छुँदासमेत उनी किन मुखमा दही जमाएर बसेका छन् प्रश्न उठ्नु स्वाभाविकै हो । एन्फाको अध्यक्ष भएको नाताले पनि थापाले यसको जवाफ दिनैपर्छ । सत्यतथ्य के हो छानबिन गर्नैपर्छ । छानबिन कमिटी बनाएर गल्ती गर्नेलाई कारबाही गरेर देखाउन सक्नुपर्छ । खेलकुदको अमूल्य गहनाको रूपमा रहेका अनुशासनलाई एन्फाकै पदाधिकारीहरूका सामु पोलेर खानेहरूलाई कडाभन्दा कडा कारबाही गर्नुपर्छ । सामान्य गल्ती गर्दा खेलाडीहरूलाई कारबाहीको सिकार बनाउने एन्फाले अहिले आफ्नो नाकैमुनि क्लबहरूले फुटबलको नाक कटाउँदा र एन्फालाई चुनौती दिँदा किन आँखामा पट्टी बाँधेर बस्यो त्यो रहस्यमय बनेको छ । अध्यक्ष थापा चुप बस्नुको पछाडि कतै अर्को कार्यकाल पनि खाने विचार छ कि क्या हो ? यो पनि सोचनीय बनेको छ ।
अध्यक्ष थापाले लिग फुटबलका लागि जुटाएको आर्थिक स्रोत अहिले बालुवामा पानी हालेसरि भएको छ । थापाको मिहिनेतले जस पाउनुको साटो अपजस पाएको छ । सहिद स्मारक लिग फुटबलको पुरस्कार राशिलाई बीस लाखसम्म पुर्‍याउँदा पनि उपलब्धि हात लाग्यो शून्य भएको छ । नेपाली फुटबलको स्तर बढ्नुको साटो उल्टै खस्किँदै गएको छ । अघोगतितर्फ लागेको छ । फुटबल खेलाडी आर्थिक रूपले सम्पन्न भएर बंगुरजस्तै मोटाए पनि फुटबल दुब्लाउँदै गएको छ । तर्सथ फुटबलको माध्यमबाट खेलाडीहरू रातारात जिरोबाट हिरो बन्ने तर फुटबलचाहिँ कहिल्यै माथि नउठ्ने ? यो कस्तो विडम्बना हो त्यो थापाले बुझ्नुपर्ने भइसकेको छ । थापाका शुभचिन्तक र हनुमानहरूले थापालाई डुबाउन कतै यस्तो फोहोरी खेल खेलेका त होइनन् यहाँ ध्यान दिनु जरुरी भइसकेको छ । फुटबललाई नै कलङ्कित गर्दै जुन थालमा खायो उसै थालमा आची गरेका क्लबहरूको वास्तविक मनसाय के हो त्यो थापाले नबुझेमा उनी ठूलो दुर्घटनामा पर्ने प्राय: निश्चित छ । कारण स्पष्ट छ, हिजोसम्म थापाको खोइरो खन्नेहरू नै आज उनको पतनको कारण बन्न सक्छन् । जुन मुसो बनेर एन्फामा पसिसकेको प्राय: सबैलाई ज्ञात भएकै कुरा हो । आफ्नो रूप र रङ्ग देखाउने क्रममा उनीहरूले पहिलो प्रहार वर्तमान लिगलाई गरेको स्पष्ट भएको छ ।
१२ वटा टोलीलाई सहभागी गराएर माघ २९ गतेदेखि शुभारम्भ भएको सहिद स्मारक लिग फुटबल प्रतियोगिता हालै सम्पन्न भएको छ । निकै उतारचढावका मिलोमतोका साथ सञ्चालन भएको यसपटकको लिगको उपाधि नेपाल पुलिस क्लबले जितेको छ । दोहोरो प्रणालीमा सञ्चालन भएको यो लिगमा पुलिस क्लबले अपराजित रहँदै उपाधि हात पारेको हो । यसरी दुवै शृङ्खलामा अपराजित रहेर उपाधि जित्ने पुलिस क्लब पहिलो बनेको छ । पुलिस क्लबले खेलेका २२ वटा खेलमा १४ वटामा जित हासिल गरेको थियो भने ८ मा बराबरी गरेको थियो । लिगको उपाधिसँगै पुलिस क्लबले २० लाख रुपैयाँ पनि हात पारेको छ । पुलिस क्लबलाई लगातार दुईपटक उपाधि दिलाएका प्रशिक्षक विराटकृष्ण श्रेष्ठले प्रसन्नता व्यक्त गर्दै यो सबै खेलाडीको मेहनतको प्रतिफल भएको सुनाए । श्रेष्ठले लिगको शुभारम्भमा खेलाडीहरू चोटग्रस्त हुँदा अपेक्षा गरेअनुरूपको प्रदर्शन गर्न नसके पनि मध्यतिर आएर सुधार भएको बताउँदै यो जित त्यसैको आधार हो भनेका थिए । श्रेष्ठले अब आफ्नो लक्ष्य प्रेसिडेन्ट कप भएको बताउँदै त्यसमा राम्रो प्रदर्शन गर्ने बताए । आफ्नो टोली प्रेसिडेन्ट कपको फाइनलसम्म पुगिसकेको स्मरण गराउँदै यसपटक प्रेसिडेन्ट कप जित्ने हिसाबले नै तयारीमा लाग्ने बताए ।
हालै सम्पन्न भएको लिगमा दोस्रो स्थान थ्री स्टार क्लबले हासिल गरेको थियो भने तेस्रो, चौथो र पाँचौँ स्थानमा क्रमश: एनआरटी, आर्मी क्लब र मनाङमर्स्याङ्दी रहेका थिए । लिगमा राखिएको पाँच उत्कृष्ट पुरस्कारको उपाधि उत्कृष्ट फरवार्डतर्फ सन्तोष शाहुखल, उत्कृष्ट गोलरक्षकमा किरण चोम्जोङ, उत्कृष्ट रक्षक रोहित चन्द, उत्कृष्ट मिडफिल्डरमा पर्वत पाण्डे र उत्कृष्ट प्रशिक्षकमा विराटकृष्ण श्रेष्ठले जितेका थिए । विजेता र उपविजेता टोलीलाई उद्योगपति राजेन्द्र खेतान, नेपाल प्रहरीका महानिरीक्षक रमेश चन्द ठकुरी र शेखर गोल्छाले पुरस्कृत गरेका थिए ।

विश्वकपमा उथलपुथल महारथीहरू स्तब्ध †
दक्षिण अफि्रकामा सञ्चालन भइरहेको १९औँ विश्वकप फुटबल प्रतियोगिता अहिले निकै रोचक मोडमा पुगेको छ । समूह चरणको पहिलो खेलमा निकै सनसनी नतिजा आएको छ । विश्वकपकै प्रमुख दाबेदार स्पेन आफूभन्दा निकै कमजोर मानिएको स्विट्जरल्यान्डसँग मात खाएको छ । स्विट्जरल्यान्डले यो विश्वकपमा सनसनीपूर्ण नतिजा निकाल्ने क्रममा स्पेनलाई स्तब्ध पारेको छ । स्पेनसँग लगातार १८ खेलमा पराजित स्विट्जरल्यान्डले १९औँ खेलमा स्पेनलाई पराजित गरेर सम्पूर्ण बदला एकैपटक लिएको छ । खेलभरि स्पेनले आफ्नो वर्चश्व कायम गरे पनि दोस्रो हापमा स्विस खेलाडी गेल्सोन फर्नान्डेजले एक मात्र निर्णायक गोल गरेका थिए । यो खेलमा स्पेनले थुप्रै अवसर गुमाउन पुगेको थियो भने स्विसले पाएको तीनवटा अवसरमध्येमा एक गोल गर्न सफल भएको थियो । त्यस्तै गुमनामको संज्ञा पाएको उत्तरकोरियाले आफ्नो पहिलो खेलमा ब्राजिललाई कडा चुनौती दिँदै आफू पनि कोहीभन्दा कम भएको प्रमाणित गरेको छ । उपाधिको दाबेदार ब्राजिलसँग उत्तरकोरिया दुई-एक गोलको अन्तरले पराजित भएको थियो ।
अहिले समूह चरणका दोस्रो खेलहरू सञ्चालन भइरहेका छन् । विश्वकपको अर्को दाबेदार टोली अर्जेन्टिनाले आफ्नो स्वाभाविक खेलको प्रदर्शन गर्दै दोस्रो खेलमा पनि विजय हासिल गरेको छ । अर्जेन्टिनाले एसियाको शक्तिको रूपमा रहेको दक्षिणकोरियालाई चार-एक गोलको अन्तरले पराजित गरेको थियो । दक्षिणकोरियाविरुद्धको खेलमा अर्जेन्टिनी स्ट्राइकर गोन्जालो हिगुइनले एक्लैले तीन गोल गरेर यो विश्वकपमा पहिलो ह्याटि्रक गर्ने खेलाडी बनेका थिए । ग्याब्रिला बाटिस्टुटाले सन् १९९८ को विश्वकपमा ह्याटि्रक गरेपछि अर्जेन्टिनाका लागि ह्याटि्रक गर्ने हिगुइन पहिलो खेलाडी हुन् । त्यस्तै दोस्रो खेल आयोजक दक्षिण अफि्रकाका लागि निकै पीडादायी सावित भएको छ । आयोजक राष्ट्रलाई स्तब्ध पर्ने क्रममा उरुग्वे दुई-शून्यले पराजित गर्दै दोस्रो चरणको यात्रालाई निकै कमजोर पारिदिएको छ ।
दक्षिणकोरियासँग पहिलो खेलमा पराजय भोगेको ग्रिसले दोस्रो खेलमा नाइजेरियालाई पराजित गर्दै दोस्रो चरणमा पुग्ने आशालाई जीवितै राखेको छ । नाइजेरिया लगातार दुई खेलमा पराजित भएर यो विश्वकपवाट बाहिरिने पहिलो टोली बनेको छ । यो विश्वकपमा अस्ट्रेलियामाथि शानदार विजय हासिल गरेर तीन अङ्क बटुलेको जर्मनी दोस्रो खेलमा नराम्रोसँग पछारिएको छ । जर्मनीलाई नवआगन्तुक टोली सरि्वयाले एक-शून्यले पराजित गरेको थियो । यो जर्मनीको विश्वकपमा सन् १९८६ पछिको समूह चरणमा पहिलो हार हो । जर्मनीलाई दुर्भाग्यलेे गाँजेकोे दिनमा स्ट्राइकर मिरोस्लाभले रातो कार्ड खानुपरेको थियो भने अर्का स्ट्राइकर लुकास पोडोस्किले पेनाल्टी मिस गरेका थिए । त्यस्तै मेक्सिकोले उत्कृष्ट खेलको प्रदर्शन गर्दै फ्रान्सको दोस्रो चरणमा पुग्ने सपनालाई चकनाचुर पारिदिएको छ । मेक्सिकोले सशक्त फ्रान्सलाई दुई-शून्यले पराजित गर्दै महत्त्वपूर्ण तीन अङ्क आफ्नो खातामा लेखाएको छ । स्लोभानिया र अमेरिकाबीच भएको सनसनीपूर्ण खेलमा दुवै टोलीले बराबरीमा चित्त बुभाउनुपरेको छ । अल्जेरियामाथि जित हासिल गरेर हौसिएको स्लोभानियाले अमेरिकाविरुद्ध पनि शानदार प्रदर्शन गरेको थियो । दुई गोलको अग्रता लिएको स्लोभानियाको जित पक्का भए पनि अमेरिकाले दोस्रो हापमा उत्कृष्ट प्रदर्शन गरेपछि खेलले अर्को मोड लिएको थियो ।
विश्वकपको अर्को दाबेदार इंग्ल्यान्डले दोस्रो खेलमा पनि निरस प्रदर्शन गरेको छ । कमजोर अल्जेरियासँग बराबरी खेलेको इंग्ल्यान्डको यो खेलपछि विश्वकप यात्रा पनि कठिन मोडमा पुगेको छ । नेदरल्यान्डले आफ्नो नामअनुसारको प्रदर्शन गर्दै एसियाली राष्ट्र जापानमाथि विजय पाएको छ । जापानमाथिको यो विजयसँगै नेदरल्यान्ड दोस्रो चरणमा पुग्ने पक्का भएको छ । घाना र अस्ट्रेलियाबीचको निकै रोमाञ्चक खेलमा दुवै टोलीले एक-एक अङ्क बाँडेका छन् । त्यस्तै क्यामरुन र डेनमार्कबीचको प्रतिष्ठाको लडाइँमा डेनमार्कले बाजी मारेको छ । डेनमार्कले क्यामरुनलाई दुई-एकले पराजित गर्दै विश्वकपबाटै बाहिर धकेलिदिएको छ ।
चारै टोलीले एक-एक अङ्क बटुलेको समूह ‘एफ’को दोस्रो खेल स्लोभानिया र पराग्वेबीच भएको थियो । उक्त प्रतिस्पर्धात्मक खेलमा पराग्वेले स्लोभानियालाई दुई-शून्यले पराजित गर्दै दोस्रो चरणका लागि दाबेदारी प्रस्तुत गरेको छ । यसै समूहको अर्को महत्त्वपूर्ण खेल इटाली र न्युजिल्यान्डबीच भएको थियो । निकै सनसनीपूर्ण रहेको उक्त खेल बराबरीमा टुङ्गिएको थियो । डिफेन्डिङ च्याम्पियन इटाली आच्छुआच्छु परेको यो खेलमा अग्रता पनि न्युजिल्यान्डले लिएको थियो । पछि पेनाल्टीमार्फत गोल फर्काएर इटालीले बराबरी गरेको थियो । ग्रुफ अफ डेथको संज्ञा पाएको समूह ‘जी’को दोस्रो खेल अर्को दाबेदार राष्ट्र ब्राजिल र आर्इर्र्रिकोस्टबीच भएको थियो । उक्त रोमाञ्चकारी खेलमा ब्राजिलले आफ्नो नामअनुसारको प्रदर्शन गर्दै आइभरिकोस्टलाई तीन-एकको अन्तरले पराजित गरेको थियो । यो खेलमा चर्चित खेलाडी काका दुईवटा पहेँलो कार्डसँगै रातो कार्ड खाएर मैदान छाड्नुपरेको थियो । त्यस्तै अर्को खेल उत्तरकोरिया र पोर्चुगलबीच भएको थियो । रहस्यको पोको मानिएको उत्तरकोरियाले यो खेलमा चमत्कार देखाउने अड्कल काटिए पनि परिणाम भने ठीक उल्टो निस्कियो । पोर्चुगलले उत्तरकोरियालाई ७-० ले पराजित गरेर विश्वकपमा नयाँ किर्तिमान बनायो । यो नतिजाले पोर्चुगललाई दोस्रो चरणमा पुग्न निकै सहज बनाइदिएको छ । स्पेनलाई पराजित गरेर सनसनी फैलाएको स्विट्जरल्यान्ड र चिलीबीच निकै सनसनीपूर्ण खेल भएको थियो । १० खेलाडीमा सीमित रहेको स्विट्जरल्याण्डले चिलीलाई निकै चुनौती दिए पनि अन्त्यमा १-० ले पराजित भएको थियो । त्यस्तै स्वीससँग अपत्यारिलो पराजय भोगेको स्पेनले होन्डुरसलाई सहजै २-०ले पराजित गर्‍यो, यो विजयसँगै महत्त्वपूर्ण ३ अंक बटुलेको स्पेनको अग्नि परिक्षा आगामी चिलीसँगको भिडन्तमा हुनेछ । मंगलबार रातिदेखि नै समूह चरणका तेस्रो चरणका खेलहरू शुभारम्भ हुनेछन् ।

गोन्जालोको ह्याटि्रक म्याराडोनालाई उपहार
दक्षिण अफि्रकामा सञ्चालन भइरहेको विश्वकप फुटबल प्रतियोगितामा पहिलो ह्याटि्रक अर्जेन्टिनी स्ट्राइकर गोन्जालो हिगुइनले गरेका छन् । उनले उक्त ह्याटि्रक दक्षिणकोरियाविरुद्धको खेलमा गरेका थिए । यसअघि सन् २००२ मा पोर्चुगलका पाउलेटाले विश्वकपमा ह्याटि्रक गरेका थिए । त्यस्तै सन् १९८६ मा अर्जेन्टिनाका ग्याब्रिला बाटिस्टुटाले विश्वकपमा ह्याटि्रक गरेका थिए । यो ह्याटि्रकसँगै दुई खेलमा तीन गोल गरेका गोन्जालो ‘गोल्डन बुट’को दाबेदार पनि बनेका छन् । दुई खेलको प्रदर्शनकै आधारमा ठोकुवा गर्नु मूर्खता हुने भए पनि अहिलेसम्मको गोलस्कोर र अर्जेन्टिनाको प्रदर्शन हेर्दा असम्भवचाहिँ छैन । विश्वचर्चित फुटबल खेलाडी म्याराडोनाको इच्छा र आकाङ्क्षालाई पूरा गर्ने क्रममा उनले यो ह्याटि्रक गरेर म्याराडोनालाई उपहार दिएका थिए । म्याराडोनाको प्रशिक्षणमा रहेको अर्जेन्टिनी टिमले यो विश्वकपमा उत्कृष्ट प्रदर्शन गरेर दोस्रो चरणमा आफ्नोे स्थान सुरक्षित पारिसकेको छ । अर्जेन्टिनाले लिगको अन्तिम खेल आज बुधबार ग्रिससँग खेल्दै छ ।

आउनुहोस्, उत्कृष्ट यौनसेवा उपलब्ध छ
अहिले विश्वकप फुटबलको रापले विश्वलाई तताइरहेको अवस्था छ । समूह चरणमै विश्वकपमा भएको उथलपुथलले अहिले सबैको ध्यान तेस्रो चरणका खेलहरूमा केन्दि्रत भएको छ । रोचक, रोमाञ्चक र सनसनीले तातेको यो विश्वकपलाई यौन-व्यवसायीहरूले अझ तताइदिएका छन् । आयोजक दक्षिण अफि्रकाले टाढा-टाढाबाट विश्वकपको आनन्द लिन घरपरिवार छोडेर आएका पाहुनाहरूलाई एक्लोपनको महसुस हुन नदिन ४० हजार यौन-व्यवसायीको परिचालन गरेको छ । व्यापक एड्स रोगका कारणले यौन-व्यवसायलाई प्रतिबन्ध लगाएको दक्षिण अफि्रकाले यो विश्वकपमा यौन-व्यवसायलाई वैधानिकता दिएको छ । बेरोजगारलाई रोजगार, देशलाई कर भन्ने नारासहित खुला रूपमा यौन-व्यवसाय सञ्चालन भइरहेको छ । राष्ट्रपति ज्याकोब जुमाले विश्वकपलाई लक्षित गरेर एक अर्ब कन्डमको आपूर्ति गर्न लगाएका छन् । देश, विदेशका यौनकर्मीले यौनसेवा दिइरहेको यो विश्वकपमा यौनकर्मीले आफ्नो भाउ १० प्रतिशतले बढाएका छन् । त्यस्तै उनीहरूले ग्राहकहरूलाई आकर्षण गर्न विभिन्न नारा लेख्ने क्रममा ‘आउनुहोस् यहाँ उत्कृष्ट यौनसेवा उपलब्ध छ’ भन्नसमेत पछि परेका छैनन् ।

म्याराडोना र सेक्सका आसन
यो विश्वकपका सबैभन्दा चर्चित व्यक्तित्वको रूपमा म्याराडोनालाई राखिएको छ । उनकै कारणले गर्दा अर्जेन्टिनी टोली विश्वभरि सबैको प्रिय बन्न सफल भएको छ । आफ्नो टोलीले समूह चरणमा उत्कृष्ट प्रदर्शन गरेर दोस्रो चरणमा पुगिसकेको अवस्थामा म्याराडोना सेक्सप्रति उदार भएर देखापरेका छन् । विश्वकपमा सहभागिता जनाइरहेका फुटबल पदाधिकारीहरूको सेक्सप्रति आफ्नै धारणा रहे पनि म्याराडोनाले भने खेलाडीहरू रातभर जागा नबस्ने हो भने सेक्सले खेलमा कुनै प्रभाव नपार्ने बताएका छन् । विश्वकपका दौरान खेलाडीहरूलाई सेक्सका आवश्यकता र सान्दरि्भकताबारेमा बोल्दै म्याराडोनाले सेक्सका समयमा आउने अप्ठ्यारा आसनहरू महिलाहरूले जिम्मा लिएको खण्डमा कुनै असर नपर्ने बताएका छन् ।

दर्शकझैं गोल गर्ने पनि चकित
खेल सुरु हुनुभन्दा पहिले स्विट्जरल्यान्डलाई स्पेनले नराम्रोसँग हराउने सबैले अड्कल काटेका थिए । विश्वकपको दाबेदार टोलीबाट यस्तो अपेक्षा राख्नु स्वाभाविकै थियो पनि । स्पेनले दर्शकहरूको अनुमान र अड्कलमा खरो उत्रिन सोचेअनुरूपकै प्रदर्शन पनि गर्‍यो । दुर्भाग्य, पूरा खेल आफ्नो कब्जामा राखेर थुप्रै गोल गर्ने सुवर्ण अवसर पाउँदासमेत स्पेनले गोल गर्न सकेन । अग्रता लिन एकपछि अर्को आक्रमण गरे पनि स्पेन असफल भएको थियो । जसले गर्दा निकै दबाबमा परेको स्पेनको कमजोरीको फाइदा उठाउँदै स्वीस खेलाडी गेल्सन फर्नान्डेज पहिलो गोल गर्न सफल भएका थिए । पछि उक्त गोल निर्णायक गोल सावित भएको थियो । स्पेनमाथि फर्नान्डेजले गरेको गोलप्रति सबै फुटबलप्रेमीहरूले आश्चर्य प्रकट गरिरहेको अवस्थामा स्वयम् फर्नान्डेजले पनि उक्त गोल कसरी भयो भन्ने कुरामा आफैं चकित परेका छन् । उनले आफूले त्यो गोलको बारेमा सोच्न नसकेको बताउँदै त्यो गोलले मुलुकको शान बढाएकोमा आफू निकै खुसी भएको बताएका छन् ।