मार्फाखोलाको बाढीले बेनी-जोमसोम सडकमा यातायात प्रभावित

मार्फाखोलाको बाढीले बेनी-जोमसोम सडकमा यातायात प्रभावित


मुस्ताङको घरपझोङ गाउँपालिका-३ मा रहेको मार्फाखोलामा बेमौसमी बाढी आउन थालेपछि बेनी-जोमसोम सडकमा यातायात सेवा प्रभावित हुन थालेको छ । पछिल्लो एक हप्तायता साँझपख खोलामा पानी र बाढीको सतह बढेर आउन थालेको छ । मोटरेबल पुल निर्माणमा ढिलासुस्ती भएको र बाढी आउन थालेपछि जोखिम बढेको हो ।

गण्डकी प्रदेशसभा सदस्य विकल शेरचनले मार्फाखोलाको बाढीले बेनी-जोमसोम सडकमा यात्रा गर्ने स्थानीयवासी, पर्यटक र तीर्थयात्रीलाई सास्ती भएको बताए । खोलामा बाढी आउँदा सवारीसाधन वारपार गर्न नसक्ने, खोला तार्ने क्रममा फसिने, इञ्जिन बिग्रने, बाढीले मोटरसाइकल, स्कुटरलाई बगाएर दुर्घटना हुने जोखिम बढेको उनको भनाइ छ ।

धवलागिरि दोस्रो र टुक्चेचुली हिमालको बीचमा पर्ने धम्पुसचुली हिमाल फेदमा पर्ने काशीघन क्षेत्रमा रहेको हिउँ दिउँसोको चर्को घामले पग्लँदा ठाडो खहरे खोलामा बाढी आएको हो । ठाडो खहरे खोलामा कालो लेदो माटोसहितको बाढी आएपछि सवारीसाधन वारपार गर्न सक्दैनन् । छायाँवृष्टि हुने सुक्खा बलौटे भूगोल भएको मुस्ताङमा पछिल्ला वर्ष बाढीपहिरोले दुःख दिन थालेको छ ।

बेनी–जोमसोम–कोरला सडक योजनाका सूचना अधिकारी विष्णु चापागाईंले बाढी आउँदा सवारी वारपार गर्नका लागि अस्थायी पुल बनाउने तयारी गरेको बताए । आयोजनामार्फत मार्फाखोलामा एक सय २० मिटर लामो पुल बनाउन पाँच वर्षअघि हिमदुङ एण्ड थोकर इमोटल कन्ट्रक्सनले रु २१ करोड ६० लामा ठेक्का सम्झौता गरेको थियो ।

पुलका तीनमध्ये दुईवटा स्पाम ढलान भएको छ । बीचको स्पाम ढलान गर्न र पहुँचमार्ग बनाउने काम बाँकी छ । निर्माण व्यवसायीलाई पुल निर्माणलाई गति दिन ताकेता गरिएको इन्जिनियर चापागाईंले जानकारी दिए ।

तस्बिर : रासस