नेपाली विमानलाई कोरिया प्रवेशमा अवरोध पैदा गरेवापत अर्बाैं कमिसन !

नेपाली विमानलाई कोरिया प्रवेशमा अवरोध पैदा गरेवापत अर्बाैं कमिसन !


  • सुरेन्द्र सुवेदी, काठमाडौं

राज्य संयन्त्रको महत्वपूर्ण जिम्मेवारीमा रहेका केही व्यक्तिको निजी लाभका कारण नेपाली वायु सेवाको विमानले दक्षिण कोरियासम्मको उडान भर्ने योजना अलपत्र परेको छ । कोरियाली विमान कम्पनीको तर्फबाट दैनिक करोडौँ रुपैयाँ अनुचित आम्दानी हुने भएकोले नेपाली राष्ट्रिय ध्वजावाहकको कोरियासम्मको सम्भावित सेवामा नियोजितरूपमै अवरोध खडा गरिएको हो ।

यसरी सेवा सञ्चालन योजनामा अवरोध सिर्जना गर्नेहरूमा नागरिक उड्डयन प्राधिकरणका महानिर्देशक प्रदीप अधिकारी, प्रधानमन्त्री प्रचण्डकी पुत्री गंगा दाहाल, पर्यटन मन्त्रालयका सहसचिव बुद्धिसागर लामिछाने र कुख्यात सिताराम प्रसाईंका छोरा तथा कोरियन एयरलाइन्सका जिएसए परासर प्रसाईंको नाम अग्रपङ्क्तिमा आउँछ ।

दक्षिण कोरियामा अहिले नेपाली कामदारको संख्या गत वर्षसम्म ५५ हजार रहेकोमा यो वर्ष अर्थात् सन् २०२४ मा २५ देखि ३० हजार थपिने देखिन्छ । यी कामदारहरू नेपाल आउने-जाने क्रममा कोरियन एयरको एकलौटी बजार कायम गरिएको छ । नेपाल वायुसेवाको विमानले सेवा दिन थालेमा नेपाली कामदारहरूको रोजाइमा नेपाली ध्वजावाहक नै पर्ने भएकोले कोरियन एयरलाइन्सतर्फबाट ठूलो धनराशि खर्च गरेर नीतिगत कारण देखाउँदै नेपाली विमान सेवालाई रोक लगाएको देखिन्छ ।

कोरियाबाट भारतसम्मको ८ घण्टा लामो दूरीमा कोरियन एयरले प्रतिटिकट ७ सय ५० अमेरिकन डलर भाडा लिने गरेको छ । कोरियाबाट नेपालको यात्रा समय साढे ६ घण्टामात्र लाग्छ । तर, कोरिया-नेपालको भाडा ८ सय ९५ अमेरिकन डलर तोकिएको छ । यसमा प्रति टिकेट यात्रु ३ सय ३५ डलर कमिसन माथि उल्लखित व्यक्तिले कुख्यात सीतारामका छोरा परासरमार्फत ग्रहण गरेको बुझिन्छ ।

कोरियाबाट भारत पुग्ने जहाजको सिट सङ्ख्या २ सय १८ छ भने नेपाल आउने जहाजको सिट सङ्ख्या २ सय ७२ छ । यो जहाजमा दैनिक उडान भर्ने नेपाली कामदार यात्रीको सङ्ख्या कम्तीमा १ सय ४० जना रहने गरेका छन् । कोरिया-नेपाल उडानमा जहाज सधैं भरिभराउ हुने गर्छ । २ सय ७२ जनाको ३ सय ३५ अमेरिकन डलर कसिमनका हिसाबमा एक वर्षमा ४ अर्ब ३९ करोड १ लाख ६१ हजार ६ सय रुपैयाँ परासरले बुझ्ने गरेको पाइन्छ ।

नेपाली जहाज कोरिया उडान भर्न विभिन्न निकायले प्रयास गरिरहेका छन् । नेपालको कोरियास्थित दूतावासले नेपाल सरकारलाई पटक-पटक नेपाली ध्वजावाहकले कोरिया उडान भर्ने व्यवस्थाका लागि पत्राचार गरिरहेको छ, तर सुनुवाई भएको छैन ।

कोरियाले सुरुमा आइकाओ र युरोपिएन युनियनको ‘सेफ्टी लिस्ट’लाई आधार बनाएर नेपाली विमानलाई कोरियाली आकाशमा उडान भर्न अनुमति दिने भनेता पनि सोलस्थित नेपाली दूतावासले अनेक प्रयास गरेपछि ‘अडिट टोली’ पठाएर नागरिक उड्ड्यान प्राधिकरण प्राधिकरणको ‘अडिट’ गर्न अनुमति पाए नेपाली विमानलाई उडान अनुमति दिने निश्कर्षमा पुगेको छ । तर, सार्वभौम सत्ताका नाममा कोरियन टिमलाई अडिट गर्न हालसम्म दिइएको छैन । कमिसनका कारण मतियारहरूले अडिट गर्न कोरियन टिमलाई रोक्दै आएको बुझिएको छ ।

सन् २०१८ मा कोरियाबाट नेपाल आउने पर्यटकको संख्या ३७ हजार थियो । गत वर्ष यो संख्या घटेर २७ हजारमा सीमित रह्यो । यसको मुख्य कारण जहाज भाडा महँगो हुनु हो । भाडाकै कारण कोरियन पर्यटकहरू नेपाल आउन छोडेर भारततर्फ मोडिने गरेका छन् । प्रधानमन्त्री प्रचण्डले कडा निर्देशन दिने हो भने यो तत्काल खुल्ने देखिन्छ ।

तर, प्रधानमन्त्रीकै छोरी गंगा, प्रदीप अधिकारी र लामिछानेसँग अनियमिततामा संलग्न भएकोले उनी पनि नेपाली ध्वजावाहकलाई कोरिया उडान भर्न नदिने मनस्थितिमा भएको आशंका गरिएको छ ।

नीतिगत र अन्य कारण देखाउँदै नेपाली विमान सेवाको कोरिया प्रवेशलाई रोक्न मन्त्रालयका सहसचिव बुद्धिसागर लामिछानेले हरतरहका ‘बुद्धि’ लगाउने गरेका छन् भने उड्ड्यन प्राधिकरणका प्रदीप अधिकारीको खलनायकी भूमिका लामिछानेको भन्दा खतरनाक मानिन्छ । कोरियन एयरलाई एकलौटी बजार उपलब्ध गराएवापत प्राप्त हुने अर्बाैं कमिसनवापतको रकम उच्च तहका राजनीतिकर्मीसम्म पुर्‍याउने काम जिएसए परासर प्रसाईंले गरिरहेको बताइन्छ । भनिन्छ, प्रदीप अधिकारीलाई प्राधिकरणको डिजी बनाउन पनि प्रसाईंले १२ करोड रुपैयाँ खर्च गरेका थिए ।