विपन्न परिवारलाई ‘बिउ पुँजी’स्वरुप ९० जोडी परेवा

विपन्न परिवारलाई ‘बिउ पुँजी’स्वरुप ९० जोडी परेवा


जीवन विकास लघुवित्त वित्तीय संस्था विराटनगरले नौ परिवारलाई बिउ पूँजी स्वरुप दश/दश जोरका दरले ९० जोड परेवा प्रदान गरेको छ । परम्परागत सीपमार्फत उद्यमशीलता विकासका लागि धनपालथान गाउँपालिका-३ बेतौनाका अति विपन्न नौ परिवारलाई दश जोरका दरले ९० जोडी परेवा प्रदान गरेको हो ।

मोरङ क्षेत्र नम्बर ५ का प्रतिनिधिसभा सांसद योगेन्द्र मण्डलले अति विपन्न परिवारलाई परेवाको बच्चा हस्तान्तरण गरे । विपन्न परिवारलाई परेवा हस्तान्तरण गर्दै सांसद मण्डलले परेवा पालनलाई उद्योगको रुपमा विकास गर्न आग्रह गरे । एक सय जोडी परेवा पाल्दा मासिक ४५ हजारसम्म आम्दानी हुने बताउँदै उनले भने- ‘यो दश जोडी परेवालाई बीउ पूँजी मानेर उद्योगको रुपमा बिस्तार गर्नुहोला !’

विपन्न परिवारको आर्थिक हैसियत उकास्ने मुख्य आधार उद्यमशीलता नै भएको बताउँदै उनले थोरै लगानीमा उद्यमशीलता विकासको आधार तयार हुने भएकाले विपन्न परिवारका लागि परेवा पालन व्यवसाय फलदायी हुने बताए । व्यवसायिक रुपमा परेवा पालनबाट राम्रो आम्दानी हुने भएकाले आफ्ना क्षेत्रका अन्य जनतालाई पनि पालनका लागि प्रोत्साहन गरिरहेको उनको धारणा थियो ।

लघुवित्तले धनपालथान गाउँपालिका–३ र ४ मा पर्ने बेतौनालाई इको भिलेज बनाउने अभियानअन्तर्गत काम गरिरहेको छ । सोही अभियानअन्तर्गत अति विपन्न परिवारलाई परेवा बिउ पूँजी प्रदान गरिएको लघुवित्तका उद्यमशीलता विकास प्रमुख मनोजकुमार शर्माले जानकारी दिए । विपन्न परिवारलाई परेवा हस्तान्तरण गर्नुअघि लघुवित्तले परेवाको खोर निर्माण गर्न लगाएको थियो । पहिलो चरणमा खोर निर्माण गरेका नौ परिवारलाई परेवा हस्तान्तरण गरिएको उनले बताए ।

परम्परागत सीपमार्फत उद्यमशीलता विकासका लागि पाएको परेवा संरक्षणका लागि परिवारले चासो दिनुपर्ने लघुवित्तका जोखिम व्यवस्थापन विभाग प्रमुख शिवकुमार रामको धारणा छ । स्थानीय आफै सचेत भएमात्रै परेवा व्यवसाय फस्टाउने सुझाव पनि उनले दिए ।

स्थानीय धामो आधारभूत विद्यालयका प्रधानाध्यापक कृष्णप्रसाद मण्डलले गाउँका अतिपन्न परिवारले परेवा पालन विस्तार गरे आफ्नो आर्थिक हैसियत उकास्न सक्ने बताए भने लघुवित्तका कर्सीया शाखा प्रमुख गायत्री पोखरेलले उद्यमशीलता विकासका लागि प्रदान गरिएको परेवापालनको अवस्थाका बारेमा लघुवित्तले अनुगमन गर्ने प्रतिबद्धता जनाइन् ।