चिसापानी पुलबाट हाम फाल्ने युवकको शव सनकट्टी घाटमा फेला पऱ्यो

चिसापानी पुलबाट हाम फाल्ने युवकको शव सनकट्टी घाटमा फेला पऱ्यो


कैलालीको चिसापानी पुलबाट कर्णाली नदीमा हाम फाल्दा बेपत्ता भएका युवकको शव फेला परेको छ ।

कैलालीको लम्की-चुहा नगरपालिका-३ का ३० वर्षीय लोकेन्द्र शाही गत सोमबार दिउँसो होली खेल्ने क्रममा कर्णाली पुलबाट हाम फालेका थिए । घटनालगत्तै नेपाल प्रहरी र सशस्त्र प्रहरी बलको टोलीले बेपत्ता शाहीको खोजी थालेको थियो । उनको खोजीका लागि सशस्त्र प्रहरीको वैद्यनाथ बाहिनी अत्तरियाबाट सात जनाको गोताखोर टोली परिचालन गरिएको थियो ।

शाहीको शव बिहीबार टिकापुर नगरपालिका-२ सनकट्टी घाटमा फेला परेको जिल्ला प्रहरी कार्यालय कैलालीका प्रवक्ता कुलदीप चन्दले जानकारी दिए । होली खेलिरहेका युवाहरु फोटो खिच्ने भन्दै कर्णाली पुलमा पुगेका र त्यहाँबाट अकस्मात हाम फालेका थिए । सो पुलबाट हामफालेका अरु युवाहरु भने पौडी खेलेर पार लागेका थिए ।