सरकारले तोक्यो चैतेधानको मूल्य

सरकारले तोक्यो चैतेधानको मूल्य


सरकारले चैतेधानको समर्थनमूल्य तोकेको छ । मन्त्रिपरिषद्को आजको बैठकले चालु आर्थिक वर्ष २०८०/८१ को लागि १८ प्रतिशतसम्म चिस्यान भएको चैते धानको प्रतिक्विन्टल रु दुई हजार सात सय सात २८ पैसा न्यूनतम समर्थन मूल्य तोकेको हो ।

साथै, १८ प्रतिशतभन्दा बढी चिस्यान भएको चैतेधानको हकमा एक प्रतिशत चिस्यानका लागि प्रतिक्विन्टल १२०० ग्रामका दरले हुन आउने तौल घटाइ कायम हुन आउने तौलका आधारमा न्यूनतम् समर्थन मूल्य कायम गर्ने निर्णय भएको छ ।

बैठकले आव २०८१/८२ को लागि प्रदेश र स्थानीय तहलाई उपलब्ध गराउने राजस्व बाँडफाँटको ढाँचा र हिस्सा बमोजिम अनुमानित राजस्व सात प्रदेशको लागि रु ७७ अर्ब ५० करोड र स्थानीय तहका लागि रु ७७ अर्ब ५० करोड स्वीकृत गर्ने निर्णय गरेको छ । यस्तै वित्तीय समानीकरण अनुदानको परिमाण सात प्रदेशको लागि रु ६० अर्ब र स्थानीय तहको लागि रु ८८ अर्ब स्वीकृत गर्ने निर्णय गरेको छ ।

मन्त्रिपरिषद्ले आव २०७९/८० को वार्षिक प्रतिवेदनलाई स्वीकृत गरी राष्ट्रपतिसमक्ष पेश गर्ने निर्णय गरेको छ । नेपाल पर्यटन बोर्डको कार्यकारी समितिको रिक्त तीन सदस्य पदमा ऋषिराम भण्डारी, राजेन्द्रबहादुर लामा र रामप्रसाद सापकोटालाई मनोनयन गर्ने बैठकको निर्णय छ ।

यस्तै नेपाल प्रशासन सेवा समूहीकरणतर्फको राजपत्राङ्कित विशिष्ट श्रेणीको रिक्त सचिव पदमा डा. हरिप्रसाद लम्साललाई बढुवा गर्ने निर्णय गरेको छ ।