ठूलो मात्रामा डलर र भारु बरामद

ठूलो मात्रामा डलर र भारु बरामद


नेपालबाट अवैध रूपमा भारततर्फ लाँदै गरेको ठूलो परिमाणमा डलर र भारु प्रहरीले बरामद गरेको छ ।

इण्डिगो एयरलाइन्सको उडानद्वारा काठमाडौंबाट दिल्ली हुँदै क्यानडा जान लागेका नेपाली मूलका क्यानेडियन नागरिकहरू ५१ वर्षीय पेमा दोर्जे दोथार, ३४ वर्षीय तेन्जिङ देलेक र नेपाली नागरिक ७२ वर्षीया नग्वाङपाल्मु लामाका साथबाट प्रहरीले रकम बरामद गरेको हो ।

उनीहरूलाई त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा चेकिङ गर्ने क्रममा ह्याण्ड ब्यागमा विभिन्न दरका गरी २७ हजार ४ सय २८ अमेरिकी डलर, विभिन्न दरका गरी जम्मा १ हजार ४ सय ८० क्यानेडियन डलर र नेपालमा प्रतिबन्धित भारतीय रूपैयाँ ५ सय दरका १ सय १० थान गरी जम्मा ५५ हजार भारतीय रूपैयाँ फेला पारेको प्रहरी जनाउँछ ।

उनीहरूलाई थप अनुसन्धान एवम् कानूनी कारवाहीका लागि राजश्व अनुसन्धान विभाग हरिहरभवन पुल्चोक ललितपुर पठाएको प्रहरीको भनाइ छ ।

डुबेर दुई जनाको मृत्यु

दैलेख र धनुषामा खोला र पोखरीमा डुबेर दुई जनाको मृत्यु भएको छ । दैलेखको भैरवी गाउँपालिका-३ सालपानी बस्ने १९ वर्षीय ज्ञानु तिरूवा कामीको सोही गाउँपालिका–३ स्थित छामघाट खोलामा पौडी खेल्ने क्रममा डुबेर बुधबार दिउँसो मृत्यु भएको हो ।

धनुषाको जनकपुर उपमहानगरपालिका–४ स्थित गंगा सागर पोखरीमा डुबेर महोत्तरी एकडाडा गाउँपालिका–३ घर भइ हाल सोही उपमहानगरपालिका–८ बलुवा टोल डेरा गरी बस्ने ३५ वर्षीय लक्ष्मण झा को बुधबार दिउँसो मृत्यु भएको छ । डुबेर गम्भीर घाइते भएका उनको प्रादेशिक अस्पताल जनकपुर धनुषामा उपचारको क्रममा मृत्यु भएको प्रहरीले जनाएको छ ।