बन्चरेडाँडा जाने फोहरमैला यसरी कम गरिँदै

बन्चरेडाँडा जाने फोहरमैला यसरी कम गरिँदै


काठमाडौं उपत्यकाबाट नुवाकोटको बन्चरेडाँडास्थित ल्याण्डफिल साइटमा जाने फोहरको परिमाणलाई कम गर्न स्थानीय तहसँग समन्वय गरिने भएको छ । शहरी विकासमन्त्री धनबहादुर बुढाले काठमाडौं उपत्यकाको फोहरमैलाको वर्गीकरण गरी बन्चरेडाँडा पुग्ने फोहर कम गरिने धारणा राखेका छन् ।

मन्त्रालयमा बुधबार भएको बैठकमा मन्त्री बुढाले बन्चरेडाँडामा फोहर बिर्सजन गरिरहेका सबै स्थानीय तहलाई यथाशीघ्र फोहरमैला वर्र्गीकरण गरी ल्याण्डफिल साइटमा जाने फोहरको परिमाण कम गर्न सङ्घीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयमार्फत परिपत्र गर्ने व्यवस्था मिलाउन निर्देशन दिएका छन् ।

काठमाडौं उपत्यकाको फोहर व्यवस्थापनका लागि अल्पकालीन र दीर्घकालीन कार्ययोजनासमेत कार्यान्वयन गर्न पनि मन्त्री बुढाले निर्देशन दिएका छन् । दीर्घकालीन कार्ययोजनाअन्र्तगत ल्याण्डफिल साइट प्रभावित क्षेत्रको विकासका लागि आगामी आर्थिक वर्षमा आवश्यक बजेट तथा कार्यक्रम विनियोजनमा प्राथमिकता दिन सामान्य प्रशासन मन्त्रालयलाई आग्रह गरिने मन्त्री बुढाको धारणा छ ।

बैठकले बन्चरेडाँडा ल्याण्डफिल साइट प्रभावित क्षेत्र सरोकार समितिले घोषणा गरेको आन्दोलनका कार्यक्रम तत्काल फिर्ता लिन र वार्ताबाट समाधान खोज्न समेत आग्रह गरेको छ ।