महिला गाइडलाई ‘रेस्क्यु’ तालिम

महिला गाइडलाई ‘रेस्क्यु’ तालिम


नेपाल पर्यटन बोर्डले २५ जना महिला गाइडलाई रेस्क्यूसम्बन्धी तालिम दिएको छ । सीपयुक्त जनशक्तिको विकास नगरेसम्म गुणस्तरीय पर्यटन प्रवर्द्धन सम्भव नहुने भन्दै नेपाल पर्यटन बोर्डले पासाङ ल्हामु पर्वतारोहण प्रतिष्ठानसँगको सहकार्यमा यही चैत्र ७ गतेदेखि महिला गाइडहरुलाई सात दिने रेस्क्यू तालिम दिएको हो ।

माउन्टेन गाइड बन्नका लागि आवश्यक पर्ने पाठ्क्रममा आधारित रहेर पदयात्रा र हिमाल आरोहणका क्रममा दुर्घटनाबाट बचाउन र उद्धार गर्ने सीपहरु उक्त तालिमका क्रममा सिकाइएको थियोे । नेपाल पर्वतारोहण प्रशिक्षक संघको प्राविधिक सहयोग रहेको यस तालिम काठमाडौंको जकडोल जंगलमा गराइएको थियो ।

उद्धारसम्बन्धी ब्यवहारिक तालिम आवश्यक रहेको हुँदा नेपाल पर्यटन बोर्डले यस तालिमको आयोजना गरेको बोर्डका वरिष्ठ निर्देशक हिक्मतसिंह ऐर बताउँछन् । चालु आर्थिक वर्षमा पर्यटन जनशक्ति सुदृढ बनाउन बोर्डले रेस्क्यु, बारिस्ता, मौलिक बाजाहरूको प्रशिक्षण, पर्यटनमैत्री ब्यवस्थापनका लागि तालिमको आयोजना गरिरहेको पनि उनले जानकारी दिए । सरकारले राखेको पर्यटन दशक (२०२३-२०३३) को उद्देश्य पुरा गर्न समेत यस्ता सीपयुक्त जनशक्ति विकास गर्नुपर्ने आवश्यकता भएको उनले बताए ।

तालिमका क्रममा भीर र खोँचमा फसेका व्यक्ति, आरोहणका क्रममा क्रिभास भित्र पसेका व्यक्तिलाई सहज रुपमा उद्धार गर्न र सुरक्षित स्थानमा पुऱ्याउने लगायत सक्ने गरी तालिममा अभ्यास गराइएको थियो ।