प्रचण्डलाई विश्वास गर्न सकिँदैन, महरा छुटाउन उनकै हात छ : दीक्षित

प्रचण्डलाई विश्वास गर्न सकिँदैन, महरा छुटाउन उनकै हात छ : दीक्षित


‘जनताले रवि लामिछानेमाथि शंका गर्न थालिसके’

नागरिक समाजका अगुवा डा. सुन्दरमणि दीक्षितले सुन तस्करी प्रकरणमा पक्राउ परेका नेकपा (माओवादी केन्द्र) का उपाध्यक्ष कृष्णबहादुर महरा छुट्नुमा प्रधानमन्त्री प्रचण्डको हात रहेको दाबी गरेका छन् । राजधानीमा आयोजित एक कार्यक्रममा उनले प्रचण्डलाई विश्वास गर्न नसकिने बताए ।

साथै, उक्त प्रकरणमा उपप्रधान एवं गृहमन्त्री रवि लामिछानेले अडान लिन नसकेको उनले बताए । उनले भने, ‘आज रविलाई कुनै पनि डर थिएन प्रचण्डसँग । आज रविको पार्टी प्रचण्डलाई चाहिएको छ, यो सरकार टिकाउनका लागि । आज रविले होइन यो म मान्दिनँ, महरालाई म छोड्दिनँ भन्न सक्नुपर्थ्यो, त्यो भएन ।’

साथै, राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) सरकारमा जानु नै गलत भएको उनको टिप्पणी छ । जनताले रवि लामिछानेसँग धेरै अपेक्षा गरेपनि त्यो पूरा नहुने निश्चित भएको उनको भनाइ छ । रास्वपाले प्रतिपक्षमा बसेर सरकारका गलत कामको प्रतिवाद गरोस् भन्ने जनताको चाहना पूरा नभएको उनले बताए ।

‘रवि लामिछानेको विषयमा कस्तो पऱ्यो भनेदेखि म अलिकति दुःखी छु । हामीले त्यो पार्टी र व्यक्तिबाट धेरै-धेरै आशा गऱ्यौँ ।’ उनले भने, ‘जब उहाँ निर्वाचित भएर आउनुभयो, हाम्रो कुरा के थियो भने- तपाईं सरकारमा नगइदिनुस् । प्रतिपक्षमा बसेर सरकारले गरेको नचाहिँदा काममा प्रश्न उठाउनुस् । २१ सिट छ, तपाईं सक्नुहुन्छ भन्यौं पनि । तर, सरकारमा जानुभयो । सरकारमा नगई कसरी काम गर्ने भन्नुभयो ?’

गृहमन्त्री लामिछानेले आफू प्रतिपक्षमा बस्दा उठाएका कुराको विरुद्धमा काम भइरहेको बताए । लामिछानेले प्रतिपक्षमा रहँदा सहकारी ठगी गरी फरार रहेका जीबी राईलाई ७ दिनभित्र पक्रिएर कानुनी कारवाहीको दायरामा ल्याउँछु भने पनि उनी सरकारमा गएपछि काम नगरेको दीक्षितको भनाइ छ । साथै, सहकारी ठगी काण्डमा लामिछानेले आफ्नोबारे प्रष्ट पार्न आवश्यक रहेको उनले बताए । जनताले लामिछानेमाथि शंका गर्न थालिसकेको उनको भनाइ छ । ‘सहकारीमा यसरी रवि लामिछाने मुछिए, उनले भन्छन् होइन, पीडित भन्छन् हो । आम नागरिकले शंका गरिसके । छिनोफानो त गर्नुपऱ्यो नि’- उनले भने ।

file photo