गाउँबाट उठेको महिलावादी आन्दोलन

गाउँबाट उठेको महिलावादी आन्दोलन


महिलावादीहरूले ‘स्वाभिमान’लाई मुख्य केन्द्रमा राखेर अपनत्व, अन्तरपुस्ता हेरचाह, सहअस्तित्व, सहनिर्णय, सहनेतृत्व, ऐक्यबद्धता, जवाफदेहिता, पारदर्शिता, सहकार्य, सहिष्णुता, सामूहिक सद्भाव र अहिंसालाई आफ्नो आचार संहिता मानेर अघि बढ्ने उद्घोष गरेका छन् ।
✍ बबिता बस्नेत

नेपालमा महिलावाद र महिलावादीलाई कि त अतिवाद र अतिवादीका रूपमा लिने गरिएको या त हँसिमजाकमा उडाउने गरिएको सन्दर्भमा एउटा फरक महिलावादी आन्दोलनमा भाग लिने अवसर मिल्यो । यही २०८० सालको चैत्र ८ देखि १० सम्म नवलपुरको मध्यविन्दुमा सम्पन्न देशब्यापी महिलावादी अनुपम अभियानमा भाग लिनका लागि विभिन्न जिल्लाबाट महिलाहरू आफ्नै घरको मकै-भटमास, गुन्द्रुक, चिउरा, आलुका चाना खाँदै लामो बस यात्रा गरेर आएका थिए । कुनैपनि यात्रा नेपाली महिलाका लागि आफैमा फरक हो, किनभने महिलाको यात्राको पृष्ठभूमि घर-माइती गर्दाको बाटो हो नकि स्वतन्त्रता र आत्मसम्मानपूर्ण आफ्नै मर्जीको यात्रा !

‘अनुपम बस यात्रा’ नाम दिइएको महिलावादी यात्रामा समानतामा विश्वास गर्ने र समानता प्रवर्द्धन गर्न चाहने महिला तथा केही पुरुषजनको सहभागिता रहेको थियो । एउटा यात्रा पूर्व मेचीदेखि सुरु भएको थियो भने अर्को पश्चिम महाकालीदेखि । बसमा नाच्दै, हाँस्दै, गीत गाउँदै बीच-बीचमा ओर्लिएर महिलावादको अर्थ बुझाउँदै, छलफल र कार्यक्रमहरू गर्दै महिलावादीहरूले यात्रा गरेका थिए । अन्तरपुस्ता महिलावादी मञ्च (इन्टर जेनेरेशनल फेमिनिष्ट फोरम) ले आयोजना गरेको उक्त कार्यक्रममा विभिन्न उमेर समूह तथा जात, जाति, धर्म, समूदाय, पहिचान र पेशा, ब्यवसायका महिलाहरू सहभागी थिए । अन्तरपुस्ता महिलावादी मञ्च टेवा तथा नागरिक आवाज संस्थाकी संस्थापक रीता थापाको नेतृत्वमा स्थापित साझा मञ्च हो, जसको सहसंयोजकको जिम्मेवारीमा अहिले स्टेला तामाङ र लक्ष्मी घलान हुनुहुन्छ । अनुपम महिलावादी आन्दोलनकी अवधारणाकार पनि रीता थापा नै हुनुहुन्छ, जसले परमुखी विकासलाई पन्छाएर नेपाली आफै आत्मनिर्भर भइ मुलुकमा विकासको कुलो फर्काउने सपना देख्नुभएको छ । प्रत्येक वर्ष नेतृत्व हस्तान्तरण हुने यो मञ्चले छोटो समयमा धेरै महिलावादी नेतृत्व जन्माइसकेको छ । नेतृत्व स्थापित गर्ने यात्रा जारी छ ।

नेपालको महिला आन्दोलनले विगतदेखि वर्तमानसम्ममा विभिन्न उपलब्धिहरू हासिल गरेपनि अहिले एकबद्ध भएर अघि बढ्न नसकिरहेको परिप्रेक्ष्यमा अन्तरपुस्ता महिलावादी सन्जालले देशभरी एउटा लहर ल्याएको छ । यो लहरको प्रमुख उद्देश्य आगामी निर्वाचनमा महिलाको सहभागिता र भूमिका देशभरी फैलाउनु हो । नवलपुरको मध्यविन्दुमा भेला हुन गाउँ-गाउँबाट आएका महिलाले नेताहरूलाई लक्षित गर्दै ‘तिमीहरू झगडा गर, काम हामी गर्छौं, हामी गोलीले होइन बोलीले परिस्थिति ठिक गर्छौं, तिम्रो घर त मैले चलाइदिएकी छु भने देश किन चलाउँदिन ? देशलाई अब महिलावादी नेतृत्व चाहियो’ लगायतका नाराहरू लगाएका थिए । कार्यक्रममा महिलावादी गीत गाउनुको साथै महिलावादीहरूले अपनाउनुपर्ने संहिताका बारेमा पनि चर्चा गरिएको थियो । महिलावादीहरूले ‘स्वाभिमान’लाई मुख्य केन्द्रमा राखेर अपनत्व, अन्तरपुस्ता हेरचाह, सहअस्तित्व, सहनिर्णय, सहनेतृत्व, ऐक्यबद्धता, जवाफदेहिता, पारदर्शिता, सहकार्य, सहिष्णुता, सामूहिक सद्भाव र अहिंसालाई आफ्नो आचार संहिता मानेर अघि बढ्ने उद्घोष गरेका छन् ।

महिलावाद के हो ?

दक्षिण एशियाकी चर्चित महिलावादी नेतृ कमला भसिनका अनुसार, ‘महिलावाद एउटा अवधारणा हो, यस्तो अवधारणा जसले समानतालाई प्रवर्द्धन गर्छ । महिलावादको त्यस्तो कुनै परिभाषा छैन, जुनसुकै ठाउँमा लागु हुन सक्छ । अवस्था अनुसार यसलाई लागु गर्नुपर्ने हुन्छ । पितृसत्ताको विरुद्ध रहने जो कोही महिलावादी हो ।’ हो, भेदभाव विरुद्धको आन्दोलन नै महिलावाद अर्थात् नारीवाद हो । पुरुष पनि महिलावादी हुनसक्छ जो समानतामा विश्वास गर्छ र महिला पनि महिलावादी नहुन सक्छन् जसले पितृसत्तालाई प्रवर्द्धन गर्छन् । हामीकहाँ महिलावादी हुनुको अर्थ पुरुषको विरोध गर्नु हो झैँ गरी स्थापित गरिएको छ । महिलावादी हुनुको अर्थ पुरुषको विरोध होइन पितृसत्ताको विरोध हो । पितृसत्ता यस्तो संरचना र प्रणाली हो जसले पुरुषको सर्वोपरी नेतृत्व र हितको परिकल्पना गर्छ ।

नारीवादको पृष्ठभूमि :

जङ्गली युग, ढुङ्गेयुग हुँदै अदिम साम्यवादी युगसम्म मानिसहरू समूहमा बस्थे । समूहमा बस्दा महिला पुरुषबीच विभेद थिएन । सन्तान जन्माउने हुँदा महिलाहरू शक्तिशाली ठानिन्थे । कुन बच्चा कसको हो भनेर महिलाले नै छुट्याइदिन्थे भन्ने छ । समूहमा बस्दै जाँदा एकार्कामा झगडा र लडाइँ भयो, जित्नेहरू मालिक बने हार्नेहरू दास । त्यसबेलादेखि नै दास-मालिक युगको सुरुवात र अभ्यास भयो भनिन्छ । दासका नाममा मानव-मानवबीच शोषणको श्रृङ्खला त्यतिबेलादेखि नै सुरु भएको हो । त्यसपछि सामन्तवादी युगको सुरुवात भयो यो युगदेखि नै महिलाहरूलाई दोश्रो दर्जामा राखियो । पूँजीवादी युगमा आएर उद्योगहरू सचालनमा आए । पुरुषहरू काममा जान थाले, महिलाहरूलाई घरमा सीमित गरियो । धेरै पछि महिलाहरू मजदुरका रूपमा उद्योगहरूमा काम गर्न थाले ।

समयक्रममा पितृसत्तालाई समर्थन गर्ने खालका धर्मग्रन्थहरू लेखिए । लेख्ने पुरुष नै थिए जसले पुरुष नै सर्वेसर्वा हुने परिकल्पना गरे । जिससक्राइष्ट, मोहम्मद, देवादीदेव महादेव शिव सबै पुरुष (खै कसरी हो हिन्दु धर्ममा चाहिँ शक्तिशाली महिला भगवानको परिकल्पना गरिएको छ) । धर्मले बाँधेर समाज अघि बढ्दै जाँदा शिक्षा, कानून सबै पुरुषको अधिनमा गए, त्यहीअनुरूपका नियमकानूनहरू बने । सुरक्षाका लागि प्रहरी, आर्मी जस्ता अवधारणाहरू बने । जे-जति अवधारणहरू आए ती पुरुषलाई नै लक्षित गरेर आए । सबै पुरुषकै लागि बनाइए र पुरुष नै त्यसमा सहभागी बने ।

पुरुषका लागि बहुविवाह छुट भयो । महिलाहरू घुम्टोमा राखिए । पुरुषहरूले सार्वजनिक जीवन सुरु गरे । महिलाहरूलाई घरमा सीमित गरियो । महिलाको यौनिकतामाथि सधैं प्रश्न उठाइयो र नियन्त्रणका प्रयासहरू सुरुदेखि नै भए । श्रीमान्को परिभाषा साथी होइन, नियन्त्रण गर्ने ब्यक्तिका रूपमा गरियो र मालिकको दर्जा दिइयो । अझै पनि हाम्रा गाउँघरमा कतिपय आमाहरूले आफ्ना पतिलाई मालिक नै भन्ने गर्छन् । यसरी जताततै पितृसत्ता अर्थात् पुरुषको सत्ता फैलँदै गएपछि नारीवादको जन्म भएको हो । सन् १८८४ मा न्युजिल्याण्डका महिलाहरूले आन्दोलनको सुरुवात गरे । सामान्य अधिकारहरू प्राप्त गर्नका लागि उनीहरूले धेरै ठुलो सङ्घर्ष गर्नुपऱ्यो । अन्य मुलुकमा पनि यो क्रम बढ्यो । सन् १९११ को ८ मार्चदेखि अन्तर्राष्ट्रिय नारी दिवस मनाउन थालियो । महिला र पुरुषबीच रोजगारीमा भेदभाव भएकाले यही मुद्दालाई नारी दिवसमा उठाइयो । न्युयोर्कमा पहिलोपल्ट महिलाहरू भेला भइ समान ज्यालाको मागबाट नारी दिवसको सुरुवात भएको हो । नेपालमा नारी दिवस वि.सं. २००३ सालदेखि मनाउन सुरु गरिएको हो । नेपालमा महिला अधिकारसँग जोडेर नारी दिवसको थालनी गरिएको थियो ।

फरक-फरक धारका महिलावाद :

महिलावादको अवधारणा बनेपछि विभिन्न किसिमका महिलावादीहरू भए, जसले नारीवादलाई आ–आफ्नै प्रकारले परिभाषित गरे । चार थरी सिद्धान्तमा केन्द्रित भएर नारीवादको सिद्धान्त र ब्यवहार अघि बढ्यो । उदारवादी नारीवादी (लिवरल फेमिनिष्ट) हरूले महिला र पुरुषको समान अवसरलाई महत्व दिए । अतिवादी (ऱ्याडिकल) फेमिनिष्टहरूले महिला र पुरुष एकअर्काका शत्रु हुन् भने र सोहीअनुसारका ब्यवहार गरे । मार्क्ससिस्ट फेमिनिष्टहरूले कार्ल मार्क्सको सिद्धान्तलाई ब्याख्या गर्दै वर्गको कुरा अघि बढाए । सोसलिष्ट फेमिनिष्टहरूले समाजशास्त्र, अर्थशास्त्र, राजनीतिशास्त्र, मानवशास्त्र र मनोविज्ञानसँग सम्बन्धित कुराहरूलाई लिए । विश्वमा अहिले पनि करिब-करिब यिनै चार सिद्धान्तमा रहेर महिलावाद अघि बढिरहेको छ ।

लिबरल फेमिनिष्टहरू पुरुषहरूको घर ब्यवहारमा उत्तरदायित्व र महिलाहरूको घरबाहिरको काममा समान सहभागिताको निम्ति वकालत गर्छन् । महिलाको आत्मनिर्णयको अधिकार, आत्मविश्वास र आत्मनिर्भरतालाई जोड दिन्छन् । महिला र पुरुषको शारीरिक भिन्नतालाई नभएर सामाजिक भिन्नतालाई महत्व दिन्छन् । यता ऱ्याडिकल अर्थात् अतिवादी फेमिनिष्टहरू महिला र पुरुषबीचको द्वन्द्व सेक्सको हो जुन पुरुषको शक्तिमा आधारित छ भन्छन् । उनीहरू पुरुषको अत्याचारको विरोध गर्छन् र महिला र पुरुष एकअर्काका शत्रु हुन् भन्छन् । पेरिसमा भएको ब्रा बर्निङ आन्दोलन अतिवादी नारीवादीहरूले नै गरेका थिए । नारीवाद बदनाम हुनुमा ऱ्याडिकल फेमिनिष्टहरूकै भूमिका महत्वपूर्ण छ । नेपालमा २०५१/५२ सालतिर चर्चामा आएको ‘चरित्रहीन चेलीहरू’ भन्ने अभियान पनि ऱ्याडिकल फेमिनिज्म नै हो । अतिवादी फेमिनिष्टहरूका केही ब्यवहारलाई लिएर हामीकहाँ ‘यी नारीवादीहरू’ भन्ने गरिएको छ । तर हामीकहाँ लिवरल महिलावादीहरूको सङ्ख्या ठुलो छ, जसले कुनैपनि भेदभावको विरोध गर्दै समनताको प्रवर्द्धन गर्छन् । पुरुषको होइन, पितृसत्ताको विरोध गर्छन् ।

अनुपम महिलावादी अभियान :

महिलावाद समानता र आत्मसम्मानसँग सम्बन्धित छ न कि एकार्काबीचको द्वन्द्वसँग । अनुपम महिलावादी अभियानले स्वभिमानलाई केन्द्रमा राखेर आफ्नो अभियान अघिबढाएको छ । सबैभन्दा सवल पक्ष यसले गाउँलाई केन्द्रित गरेको छ । गाउँ-गाउँबाट स्वस्फुर्त रूपमा महिलाहरू यो अभियानमा जोडिएका छन् । महिलावाद र महिलावादीलाई हेर्ने दृष्टिकोण फरक भइरहेका बेला यसले समानतामा विश्वास गर्ने र समानता चाहने जो-कोही महिलावादी हो भन्ने सन्देश फैलाइरहेको छ । महिलावादी पुरुष पनि छन्, हुन सक्छन् भनेर समानतामा विश्वास गर्ने पुरुषलाई पनि अभियानमा जोडिन आह्वान गरिरहेको छ । महिलावाद महिलाको मात्रै संसार बनाउन नभइ पितृसत्तालाई विस्थापित गर्नका लागि हो । महिलावाद पश्चिमबाट आएको या पश्चिमा संस्कृति होइन । हाम्रा महाभारतकालीन विद्रोहहरू नै उदाहरणका लागि काफी छन् । समानता न्यायसँग सम्बन्धित छ । समानताको पक्षधर हुनु भनेको न्यायिक हुनु हो । समतामुलक समाजका लागि लैङ्गिक न्याय आजको आवश्यकता हो ।