कतारमा मधेशी एकता समाजले परम्परागत तरिकाले मनायो होली

कतारमा मधेशी एकता समाजले परम्परागत तरिकाले मनायो होली


मधेशी एकता समाज कतारले राजधानी दोहामा चैत्र १२ गते सोमबार होली महोत्सव धुमधामका साथ मनाएको छ ।

तराई/मधेशमा होली मनाइएको दिनको अवसर पारेर एकता समाजले परम्परागत तरिकाले रंगहरुको पर्व मनाएको हो ।

मुस्लिमहरुको पवित्र रमजान महिना अहिले जारी रहेकोले होलीसँगै उनीहरुले इफ्तार कार्यक्रम समेत राखेका थिए ।

होली कार्यक्रमको मुख्य आकर्षणको रुपमा उनीहरुले एक अर्कालाई रंग अबिर दलेर शुभकामना आदान प्रदान गरेका थिए । यस्तै उनीहरुले परम्परागत बाजाको तालमा जोगिरा र होली गीत गाएका थिए । त्यस अवसरमा मालपुवा, पुरी, तरकारी, चटनी र तरुवालगायका मधेशका परिकार उनीहरुले पकाएर खाएका थिए ।

एकता समाज कतारका अध्यक्ष शिवकुमार महतोले होली कार्यक्रमको अध्यक्षता गर्नुभएको थियो भने महासचिव चन्द्रवीर यादवले कार्यक्रम संचालन गर्नुभएको थियो ।

मनिष यादव, लालबाबु साह, तेजीलाल मण्डल, विशेश्वर यादव, चन्द्रवीर यादवले सबै अतिथि तथा सहभागीहरुलाई स्वागत गरेका थिए ।