गत तिहारमा भएको सामान्य विवादले जन्मायो ‘ढोलाहिटी’ घटना

गत तिहारमा भएको सामान्य विवादले जन्मायो ‘ढोलाहिटी’ घटना


पाँच जनालाई ज्यानमुद्धा

  • सुरेन्द्र सुवेदी, काठमाडौं

गत तिहारमा सामान्य भएको विवादले होलीको दिन राति ललितपुरको ढोलाहिटी घटना बन्न पुगेको पाइएको छ । गत आइतबार राति करिव १० बजे ललितपुर महानगरपालिका-२६, ढोलाहिटीमा रहेको डि पोपिना रेष्टुरेण्टमा दुई समूहका युवाबीच छुरी हानाहान हुँदा दुई जनाको मृत्यु भएको थियो ।

मृत्यु हुनेमा पाँचथरको मिक्लाजुङ-६ घर भएका २७ वर्षीय पुजन राई र सुनसरीको धरान उपमहानगरपालिका-१३, जिरोपैण्टका २८ वर्षीय रेवस राई छन् ।

रेस्टुरेण्ट संचालक विजय राईसमेतले रेष्टुरेन्टको भान्सामा रहेको धारिलो हतियार (चक्कु) ले प्रहार गर्दा पुजन राईको बायाँ तिग्घ्रामा गहिरो चोट लागेको र उनी गम्भीर घाइते भएपछि उपचारको लागी धापाखेलमा रहेको सुमेरू अस्पतालमा लगिएको थियो । यस्तै रेवस राईको छाती र कोखामा चोट चक्कुले लागेर गम्भीर घाइते भएपछि उनलाई पाटन अस्पताल लगिएकोमा अधिक रक्तश्रावले दुवैजनालाई चिकित्सकले मृत घोषित गरेका थिए ।

होलीको दिन होली खेलिसकेपछि युवाहहरू उक्त रेष्टुरेण्टमा खाजा खान गएका थिए । त्यहाँ खाजा खानेक्रममा दुई समूहमा भएका युवाबीच विवाद बढेको र अन्ततः चक्कु प्रहारसम्म भएको थियो । ललितपुर प्रहरी परिसरले मंगलबार पुजन र रेवस हत्यामा संलग्न पाँच जनालाई कर्तव्य ज्यान मुद्धा चालउने जानकारी दिएको छ ।

परिसर प्रमुख प्रहरी वरिष्ठ उपरीक्षक (एसएसपी) शेखर खनालका अनुसार खोटाङको साकेला-२ का ३१ वर्षीय विजय राई र ३० वर्षीय सुलभ राई, भोजपुरको ट्याम्केमयुङ-२ का ३८ वर्षीय विशालहाङ मुकारुङ राई, काठमाडौंको गोकर्णेश्वर-११ का २५ वर्षीय छेङ्वीहाङ राई र फरार एकजना विरुद्ध कर्तव्य ज्यान मुद्धा लगाउने तयारी भएको छ ।

खोटाङको दिप्रङ-१ का २६ वर्षीय सुशील राई र दिप्रङ-१ का ३२ वर्षीय प्रदीप राई, धनकुटाको शहिदभूमी-१ का नाम्नुहाङ राई तथा झापाको गौरादह-५ का २७ वर्षीय अनन्त राईमाथि अनुसन्धान भइरहेको ललितपुर प्रहरीका प्रवक्ता प्रहरी उपरीक्षक (एसपी) नरेशराज सुवेदीले घटना र विचारलाई बताए । यस्तै खोटाङको जन्तेढुंगा-१ का २६ वर्षीय विराट राई, सुनसरीको धरानका २९ वर्षीय अनिष राई, धरानकै २१ वर्षीय चिराक राई र धरानकै २९ वर्षीय साहिल श्रेष्ठमाथि थप अनुसन्धान भइरहेको प्रवक्ता सुवेदीको भनाइ छ ।

ढोलाहिटी घटनामा प्रहरीले १८ जना नियन्त्रणमा लिएको थियो । घटना रेष्टुरेण्ट भित्र भएको र त्यहाँको सटर पनि बन्द भएकोले छिमेकीहरुले समेत घटनाको जानकारी पाउन सकेका थिएनन् । मृतकहरुलाई पाटन र सुमेरु अस्पताल पक्राउ परेका युवाहरुले लगेका र अस्तालबाट खवर आएपछि प्रहरी परिचालन भएको परिसर जनाउँछ । राति नै प्रहरीले घटनामा संलग्न १८ जनालाई नियन्त्रणमा लिएपनि एक जना अझै फरार छन् ।