प्रविधिमैत्री हुँदै खानेपानी उपभोक्ता समिति

प्रविधिमैत्री हुँदै खानेपानी उपभोक्ता समिति


  • सुरेश सुवेदी, काठमाडौं

‘असल नेतृत्व भयो भने सकसपूर्ण काम पनि सहज हुन्छ’ भन्ने उदारण बनेको छ ‘बृहत फस्कू खानेपानी तथा सरसफाई उपभोक्ता समिति’ । काठमाडौं जिल्ला नागार्जुन नगरपालिका वडा नं. ६ फस्कू सेवा क्षेत्रमा रहेको यस उपभोक्ता समिति २०६८ मा स्थापना भएको हो ।

यसअघि पिउने पानीको समस्या विकराल थियो । सानो दुईवटा धाराले खनाल गाउँ, कार्की गाउँ तथा नयाँ बस्तीलाई पुऱ्याउनु पर्थ्यो । पानीको अभावका कारण स्थानीयहरुबीच प्रायस: झगडा हुने सुनाउँछिन् स्थानीय गोमा विक । विगतबारे जानकारी दिँदै उनले आफ्ना आफन्त र छिमेकीसँग वर्षौसम्म पनि बोलचाल नहुनेगरेको स्मरण गरिन् ।

व्यवस्थपिका संसदमा समानुपातिक सदस्य रहेकी गोमाको बुझाइमा असल र सक्षम नेतृत्वको कारण नै जटिल परिस्थिति सहज भएको हो ।

हाल ४ सय ७५ घर धुरीलाई पानी वितरण गर्दै आएको यस उपभोक्ता समितिले स्वस्च्छ पानीका साथै सामुदायिक सरसफाईको क्षेत्रमा पनि महत्वपूर्ण काम गर्दै आएको छ । आर्थिक वर्ष २०८०/८१ को लागि साधारण सभासमक्ष प्रस्तुत नीति तथा कार्यक्रम प्रस्तुत गर्दै उपभोक्ता समितिका अध्यक्ष नवराज कार्कीले प्रविधिमैत्री व्यवस्थापन गरिने जानकारी दिए ।

उपभोक्ता समितिले हासिल गरेको सफलतामा राजनीतिक दलहरुबीचको हार्दिकता र सामूहिकभावले काम गरेको यो एउटा अनुपम उदारण हो । समितिको कार्यशैलीबारे प्रशंसा गर्दै बाग्मती प्रदेशका पूर्वमन्त्रीद्वय केशव पोखरेल र उध्दव थापाले विकासका लागि एकजुट हुन प्रेरित गर्ने बताए ।

प्रविधि मैत्री व्यवस्थापन

निर्माण हुँदै गरेको कार्यालय भवन र समितिको क्षेत्रभित्र सिसि क्यामेरा जडानको लागि पहल गरिने जानकारी दिँदै अध्यक्ष कार्कीले भने, ‘पानीको महसुल भुक्तानी प्रक्रियालाई मोवाइल बैकिङ पद्बतिमा लैजान आवश्यक कार्य अगाडि बढाइनेछ ।’

समितिको कार्यक्षेत्रभित्र आगलागीको जोखिम कम गर्न ठाउँ ठाउँमा अग्निनियन्त्रणको लागि फायर हाइड्रेण्डको व्यवस्थापन गरिनेछ । साथै प्रत्येक उपभोक्ताको घरमा अग्निनियन्त्रणको लागि छुट्टै पानीको लाइनको व्यवस्था समितिकै लगानीमा गरिनेछ ।

समितिले जमिनमूनिको पानीको लागि विभिन्न उपायहरु स्वरुप प्रत्येक सदस्य एक रिचार्ज पिट निर्माणको अवधारणालाई अग्रगतिमा अगाडि बढाएको छ । कार्कीले भने, ‘रिचार्ज पिट निर्माणको लागि १८ सदस्यहरुलाई अनुदान सहयोग उपलब्ध गराइसकेको छ ।’ हाल प्रदेश सरकारको तर्फबाट १० लाख विनियोजन भएको छ ।

खानेपानी शुद्धताप्रति विश्वसनिय गराउन समितिको तर्फवाट प्राविधिकसहितको व्यवस्थापन गरी हरेक महिनामा पानी जाँच गरिनेछ ।

सार्वजनिक स्नानस्थलको संरक्षण

परापूर्वकालदेखि सञ्चालनमा रहेको सार्वजनिक स्नानस्थल जुन हाल समितिको कम्पाउण्डभित्र रहेको छ उक्त स्थानलाई उचित व्यवस्थापन गर्ने, साथै समितिको तर्फवाट जडान भएको तातोपानी सहितको स्नान क्षेत्रलाई उचित व्यवस्थापनसहित व्यवस्थित गरिनेछ ।

सरसफाइको अभियानअन्तर्गत सडक चोकमात्र होइन उपभोक्ताको ट्याङ्कीसम्म नै गर्दै आएको छ । अब फोहोर व्यवस्थापनको क्षेत्रलाई व्यवस्थित गर्दै जाने योजना रहेको छ ।

यसैगरी, दिनानुदिन बढ्दै गएको जनघनत्वको कारण सृजित खानेपानी समस्यालाई व्यवस्थित गर्न फस्कू चोकस्थित सार्वजनिक स्थानमा समितिले एक थान डिप बोरिङ गरिनेछ । यसका लागि विभिन्न निकायहरुसंग समन्वय गर्दै अन्य आयोजनाहरु सञ्चालनको पहल गरिने कार्कीको योजना छ ।

आर्थिक वर्ष २०८०/८१ को नीति तथा कार्यक्रममा ओमकारेश्वर महादेव मन्दिर अगाडि रहेको समितिको खानेपानी ट्यांकी र फस्कू सामूदायिक वन उपभोक्ता समूहको भवनको छेउमा रहेको खानेपानी ट्यांकी संरक्षण गर्ने र त्यसबाट स्थानीय बस्तीलाई हुनसक्ने जोखिम न्यूनिकरण समेतलाई ध्यानमा राखी पर्खाल निर्माण गर्नुपर्ने भएको हुँदा विभिन्न संघरसंस्था तथा स्थानीय निकायसंग समन्वय गरी वाल निर्माण गर्नको लागि पहल गरिने उल्लेख छ ।