प्रसाईंको बिएण्डसी कलेजलाई सम्बन्धन दिन आदेश

प्रसाईंको बिएण्डसी कलेजलाई सम्बन्धन दिन आदेश


आदेश पाएर पनि हारे दुर्गा !

विवादित मेडिकल व्यवसायी दुर्गा प्रसाईंको मेडिकल कलेजलाई सम्बन्धन दिन सर्वाेच्च अदालतले आदेश दिएको छ । झापाको विर्तामोडमा रहेको बिएण्डसी मेडिकल कलेजलाई सम्बन्धन दिन सोमबार सर्वाेच्च अदालतले आदेश दिएको हो ।

सर्वाेच्चका न्यायाधीश डा. कुमार चुडाल र सारङ्गा सुवेदीको संयुक्त इजलासले प्रक्रिया पुऱ्याएको भए बीएण्डसी मेडिकल कलेजलाई सम्बन्धन दिन आदेश जारी गरेको सर्वाेच्च अदालतले जानाएको छ । ‘रिट निवेदनमा जे मागदाबी थियो, अहिले इजलासले गरेको आदेश हेर्दा सोअनुसारकै रिट जारी भएको देखिन्छ’- सर्वाेच्चले भनेको छ ।

मेडिकल व्यवसाय हुँदै राजनीतिक कनेक्सन बनाएका दुर्गा प्रसाईंले खोलेको उक्त मेडिकल कलेजको सम्बन्धनलाई लिएर लामो समयदेखि विवाद जारी छ । आफूले सबै पूर्वाधार तयार गर्दा पनि सम्बन्धन नपाएको भन्दै विवादित मेडिकल व्यवसायी प्रसाईंले काठमाडौं विश्वविद्यालय, चिकित्सा शिक्षा आयोगलगायतका निकायलाई विपक्षी बनाएर सर्वोच्च अदालतमा रिट निवेदन दर्ता गरेका थिए ।

प्रसाईंले बैंकहरूबाट मेडिकल कलेजले स्वीकृति पाएपछि र विद्यार्थी भर्ना सुरुसँगै लिएको ऋणको किस्ता तथा ब्याज तिर्ने काजग बनाएर अर्बाैं रुपैयाँ ऋण लिएका छन् । सर्वाेच्चको यो फैसलापछि प्रसाईं उल्टै समस्यामा पर्ने देखिन्छ । तत्काल विद्यार्थी भर्ना गर्न नसकिने तर बैंकहरुलाई तत्कालै किस्ता र ब्याज तिर्न शुरु गर्नुपर्ने बाध्यताका कारण उनलाई थप समस्या हुने देखिन्छ ।

‘मेडिकल कलेजको स्वीकृतिका लागि आवेदन दिएकै समयमा स्वीकृति दिएको भए विद्यार्थी भर्ना हुँदै कलेजले आम्दानी गरिहेको हुने थियो र, बैंकको ब्याज तथा किस्ता तिर्न सहज हुन्थ्यो’- एक जानकार भन्छन्, ‘ढिलो न्याय पाउनु पनि नपाउनुसरह हो भने झैँ सर्वाेच्चको यो फैसला प्रसाईंलाई घाँडो हुने देखिन्छ ।’

अन्ततः यो फैसलाले प्रसाईंलाई जित भन्दा पनि हराएको अनुभूति हुने अनुमान गर्न सकिन्छ । किनकि,, अब बैंकहरुसँग उनले गरेका कागजातका आधारमा तत्कालबाटै किस्ता र ब्याज तिर्नुपर्छ, जो उनका लागि घातक हुने नै छ ।