मान्छेलाई नै दुष्मन ठान्ने ‘राजनीति’ र ‘धर्म’ !

मान्छेलाई नै दुष्मन ठान्ने ‘राजनीति’ र ‘धर्म’ !


राज्य एउटा कल्याणकारी स्थायी संस्था हो, यसले देशमा अभिभावकीय जिम्मेवारी निर्वाह गर्नुपर्ने हुन्छ । तर कम्युनिष्टहरू राज्यसत्तामा पुगेपछि पनि सबैको अभिभावकत्व ग्रहण गर्न अस्वीकार गर्छन् । तिनका विचारमा आफ्नो पार्टी र पक्षका मानिसले मात्र न्याय र सम्पूर्ण अवसरको अधिपति बन्न पाउनुपर्छ ।
✍ देवप्रकाश त्रिपाठी

प्राणीको जीवनमा शत्रुको विशेष स्थान रहँदै आएको छ । मानिसबाहेकका अन्य प्राणी तिनलाई आफ्नो शत्रु मान्ने गर्दछन्, जसले जीवन खतरामा पार्ने गर्छ । तर मानिस, मानिसलाई नै सबैभन्दा ठूलो शत्रु ठान्दछन् र, मानिसबाट बच्न जीवनभरि प्रयास गरिरहेका हुन्छन् । देशहरूले रक्षाका नाममा अर्बौं खर्ब रूपैयाँ खर्च गर्ने गर्दछन्, त्यो खर्च केवल मानिसबाट जोगिनका निम्ति मात्र हुने गर्दछ । शत्रु को हो ? शत्रु कसरी पैदा हुन्छन् ? कसलाई शत्रु मान्ने ? कसैलाई किन शत्रु मान्ने ? शत्रु बन्न कति योग्यता पुगेको हुनुपर्छ ? यस्ता आदि प्रश्नमा विचार नहुँदै मानिसले कसै न कसैलाई शत्रु ठान्न थालिसकेका हुन्छन् र, शत्रुचाहिँ मानिसलाई नै ठानिएको हुन्छ ।

मानिसले मानिसलाई नै किन शत्रु मान्ने गर्दछन् भन्नेबारे स्पष्ट हुनुअघि मानिसमा निहित एउटा सर्बब्यापी चाहनाबारे प्रष्ट हुन आवश्यक हुन्छ, त्यो के हो भने ‘सुख’ । सुखको चाहना पृथ्वीका हरेक मानिसले राखेका हुन्छन्, कसै-कसैमा सुखप्राप्तिको चाहनाभन्दा माथिल्लो तहको चेतना हुन्छ भने तिनले सुख छोडेर आनन्दको चाहना राखेका हुन सक्छन्, त्यो अपवादका ब्यक्ति या घटनामा पर्दछन् । सुख देहसँग सम्बन्धित हुन्छ भने आनन्दको सम्बन्ध चैतन्यसँग रहन्छ । हो, यही सुखको चाहनाले नै मानिसमा शत्रुभाव र मित्रभावको उत्पत्ति गराएको हुन्छ । ‘सु’ भन्नाले अनुकुल र ‘ख’ भन्नाले सम्पूर्ण आकाश भन्ने बुझाउँछ । सिङ्गै आकाश आफ्नो अनुकुल बनाउने सोच र अवस्थालाई सुख भनिन्छ र, हरेक मानिस सुखको खोजिमा भौँतारिइरहेका हुन्छन् । यसरी सुख खोजको यात्रामा रहेका मानिस तिनलाई शत्रु ठान्न थाल्छन्, जसले आफ्नो यात्रामा अड्चन पुऱ्याउँछ । सिङ्गै आकाशलाई आफ्नो अनुकुल बनाउने (सुख खोज्ने) चाहना नै शत्रुको बीउ भन्ने हेक्का नराखिकन मानिस सुखको खोजिमा निस्कन्छन् र, पाइला-पाइलामा शत्रु भेट्दै, शत्रुसङ्ग जुध्दै या छलिँदै अघि बढिरहेका हुन्छन् ।

सनातनी सभ्यताले नकारात्मक प्रवृत्तिलाई मानिसको शत्रु ठानेको छ र, कुनै पनि पाठ पूजा या अनुष्ठान गर्दा सबैभन्दा खराब आत्मा अर्थात् भुतलाई पन्छाएर मात्र शुभकार्यको थालनी गर्ने परम्परा बसेको छ । मानव सभ्यताको विकाश क्रममा अनेकौँ धर्म, पन्थ, संस्कृति र परम्परा विकाश भएको जानकारी हामी सबैमा छ । तर केही खास धार्मिक सम्प्रदायले आफ्नो धार्मिक मान्यताभित्रै शत्रु खडा गरेर शत्रुविरुद्ध सक्रिय रहन अनुयायीहरूलाई प्रेरित गर्ने गरेको छ भने सनातनी सभ्यताभित्र उत्पत्ति भएका धर्म-संस्कृतिले चाहिँ मानिसलाई शत्रुका रूपमा स्वीकार गरेको छैन । आफूले अवलम्बन गरेको धर्म नमान्ने सबै मानिसलाई सैतान ठान्ने, सैतानलाई शत्रु मान्ने र, शत्रुलाई भौतिक रूपमै सिध्याउँदा स्वर्ग प्राप्त हुन्छ भन्ने मान्यता कसैले ग्रहण गरेका छन् भने त्यसलाई धर्म भनिँदैन/मानिँदैन, तर भन्ने र मान्ने गरिएको छ ।

वास्तवमा धर्म कल्याणको अर्को नाम हो, नियम र नीतिको अभ्यास हो । सबै प्राणी, वनस्पति र प्रकृतिप्रति करुणा र प्रेमको भाव राख्नु नै धर्म हो । जो अर्को प्राणीप्रति वैरभाव राख्छ, त्यस्ता मानिसलाई धार्मिक मानिँदैन, आफूजस्तै मान्छेलाई जन्मजात शत्रु ठान्नेहरू झन् कसरी धार्मिक हुन सक्लान् !? सम्पूर्ण जगतको कल्याण नसोच्ने/नखोज्ने नीति, नियम, आचार, ब्यवहारलाई धर्म ठानियो भने वास्तविक धर्मलाई चाहिँ के नामले सम्बोधन गर्ने भन्ने समस्या पैदा हुनसक्छ । त्यसैले सर्बकल्याणको भाव र त्यसअनुरुपको निष्ठापूर्ण ब्यवहारलाई मात्र धर्म भन्न सकिन्छ ।

सुख खोजको यात्रामा रहेका मानिस तिनलाई शत्रु ठान्न थाल्छन्, जसले आफ्नो यात्रामा अड्चन पुऱ्याउँछ । सिङ्गै आकाशलाई आफ्नो अनुकुल बनाउने (सुख खोज्ने) चाहना नै शत्रुको बीउ भन्ने हेक्का नराखिकन मानिस सुखको खोजिमा निस्कन्छन् र, पाइला-पाइलामा शत्रु भेट्दै, शत्रुसङ्ग जुध्दै या छलिँदै अघि बढिरहेका हुन्छन् ।

सनातनी बाहेकको आस्थालाई होच्याउने या अपमान गर्ने नियत यहाँ राखिएको होइन, तर खास-खास धार्मिक समुदायले मानवलाई (भिन्नधर्मी समुदायलाई) शत्रु ठानेर आफ्ना नित्यकर्म अगाडि बढाएजस्तै राजनीतिमा पनि एउटा पक्षलाई स्थायी शत्रु थापेर मानिस भड्काउने र, समाजलाई सधै अस्तब्यस्त तुलाइरहने/जुधाइरहने एउटा पक्षको जन्म भएको छ । राजनीतिमा शत्रु र मित्र दुवै क्षणिक कालका निम्ति हुनसक्छन्, तर मार्क्सवादी विचारले राजनीतिमा शोषक र शासितका रूपमा छुट्ट्यार स्थायी शत्रुको परिकल्पना गरेको छ । त्यसैले फलानो धार्मिक आस्थाका मानिस जस्तै खाँटि कम्युनिष्टहरू पनि सधैं आक्रामक, सधैं नकारात्मक र, तीव्र आवेगमा रहेका हुन्छन् । जसले कसैलाई शत्रु थापेर अगाडि बढेको हुन्छ, उसको शैली, गति र भाव नै बेग्लै हुने गर्दछ । त्यसैले राजनीतिमा कम्युनिष्ट र धर्ममा फलानो आस्थाका मानिसलाई सधैं आक्रामक रवैयाका साथ भेटिने गर्दछ ।

मार्क्सवादीहरू राज्यलाई शोषणको साधन र, पूँजिपति अर्थात् धनाढ्यहरूलाई वर्गशत्रु ठान्दछन् । धनी बन्नुलाई नै अपराध ठान्ने र, शत्रुका रूपमा प्रहार गर्ने जुन विचारको प्रादुर्भाव भयो, त्यसयता विश्वमा कथित क्रान्तिका नाममा करोडौँ मानिसले ज्यान गुमाएका छन् । अर्को आस्थाका मानिसलाई शत्रु थाप्ने कथित धर्म र भिन्न विचारका मानिसलाई वर्गशत्रु मान्ने कम्युनिष्ट आन्दोलनका नाममा जति मानिस मारिए, त्यति शायद प्रथम र द्वितीय विश्वयुद्धको समयमा पनि मारिएनन् । भिन्न आस्थाका मानिसलाई शत्रु ठान्ने/शत्रु थाप्ने- धर्म होस् या राजनीति, मानव सभ्यताका निम्ति दुवै पक्ष चुनौती हुन् ।

नेपालकै इतिहासको अध्ययन गर्दा यहाँ देशको एकीकरणका क्रममा एक हज्जार मानिस मारिएको प्रमाण भेटिन्न । निकै वीभत्स घटनाको रूपमा चित्रित कोतपर्व र भण्डारखालपर्वमा गरि शयजना मानिस मारिएका थिएनन् । तर, कम्युनिष्टको नाममा प्रजातन्त्रविरूद्ध सञ्चालित हिंसात्मक क्रियाकलापले करिव सत्र हजार मानिसको ज्यान लियो र, त्यसरी हज्जारौँ निर्दोष मानिस मारिएको घटनाप्रति माओवादी दर्जाका कम्युनिष्टहरू गौरवानुभूति गर्दछन् ।

राज्य एउटा कल्याणकारी स्थायी संस्था हो, यसले देशमा अभिभावकीय जिम्मेवारी निर्वाह गर्नुपर्ने हुन्छ । तर कम्युनिष्टहरू राज्यसत्तामा पुगेपछि पनि सबैको अभिभावकत्व ग्रहण गर्न अस्वीकार गर्छन् । तिनका विचारमा आफ्नो पार्टी र पक्षका मानिसले मात्र न्याय र सम्पूर्ण अवसरको अधिपति बन्न पाउनुपर्छ । भिन्न विचार समूहका मानिसलाई शत्रु ठान्ने र तिनलाई निषेध गर्ने साम्यवादी सङ्कीर्णताबाट नेपाल केही दशकयता प्रताडित रहँदै आएको छ । नेपालप्रति वैरभाव राख्ने विदेशी शक्तिको आड लिएर भिन्न आस्थाका स्वदेशीजनमाथि प्रहार गर्न नहिच्किचाउने विचार समूहको जगजगी बढेका कारण मुलुकमा तनाव र विवाद एवम् अराजकता र अस्थिरताले स्थायित्व पाएको यथार्थलाई स्वीकार नगरिदासम्म हामी हाम्रो राष्ट्रिय समस्याको पहिचान गर्न असमर्थ रहने छौँ, समस्या (रोग)को पहिचान नभएसम्म समाधान (उपचार)को सम्भावना असम्भव हुनेछ, जुन नियति हामी ब्यहोर्दै छौँ ।

खास-खास धार्मिक समुदायले मानवलाई (भिन्नधर्मी समुदायलाई) शत्रु ठानेर आफ्ना नित्यकर्म अगाडि बढाएजस्तै राजनीतिमा पनि एउटा पक्षलाई स्थायी शत्रु थापेर मानिस भड्काउने र, समाजलाई सधै अस्तब्यस्त तुलाइरहने/जुधाइरहने एउटा पक्षको जन्म भएको छ । राजनीतिमा शत्रु र मित्र दुवै क्षणिक कालका निम्ति हुनसक्छन्, तर मार्क्सवादी विचारले राजनीतिमा शोषक र शासितका रूपमा छुट्ट्यार स्थायी शत्रुको परिकल्पना गरेको छ ।

नेपालीको शत्रु गरिबी हो, अनियमितता र भ्रष्टाचार हो, अराजकता र अस्थिरता हो ! बाह्य चासो र हस्तक्षेप नेपालीका मूल समस्या हुन्, तर हाल राज्यसत्ताका कारणवश स्वामित्व पाएकाहरू आफूसँग असहमत नेपालीलाई प्रमुख शत्रु ठान्छन् र, बाह्यशक्तिको आड लिएर आफ्नै देशवासीहरूमाथि निरन्तर कठोर प्रहार गर्न सङ्कोच मान्दैनन् । परस्पर शत्रुतापूर्ण ब्यवहारले राष्ट्रको एकता र अखण्डतामा समेत गम्भीर असर पारेको छ । आपसमा बढेको आशङ्का र अविश्वासले भविष्यमा कुनै अनिष्टकारी सङ्कट उत्पन्न भएको अवस्थामा कसले समन्वयकारी जिम्मेवारी सम्हाल्न सक्ला भन्ने चिन्ताजनक प्रश्न खडा गराएको छ । राष्ट्र एउटा परिवार हो र, सरकारले अभिभावकीय जिम्मेवारी पूरा गर्नुपर्छ भन्ने मान्यताका विपरीत सरकारमा पुग्नेहरूले नै जनतामध्येको एउटा कित्तालाई दुष्मनको रूपमा बुझ्ने र तीप्रति असमान व्यवहार गर्ने हो भने त्यस्तो राज्यमा कहिले शान्ति र स्थिरताको स्थिति बन्नसक्ला भन्ने चिन्ता पनि थपेको छ ।

देशलाई केन्द्रमा राखेर व्यवहार गर्ने हो भने एउटा नेपालीले अर्को नेपालीलाई शत्रु ठान्नुपर्ने भाव र अवस्था कसैमा पनि पैदा हुनेछैन । सत्तालाई केन्द्र मानेर दृष्टिकोण तय गर्दा मात्र आफ्नै मुलुकभित्र यत्रतत्र शत्रु नै शत्रु देखापर्छन् । देशवासीलाई नै शत्रु ठान्ने साम्यवादी सोचका कारण सत्तामा पुगिसकेका कम्युनिष्टहरू पनि बारम्बार देशवासीहरू विरूद्ध डुक्रिरहेका हुन्छन् । आफूसँग असहमतलाई शत्रु ठान्ने र तिनको अस्तित्व मेटिदिने सोच ब्यवहारमा अनुबाद हुँदा माओको सांस्कृतिक क्रान्तिकालमा ६ करोडभन्दा बढी निर्दोष मानिस मारिएका थिए ।

विघटित सोभियत सङ्घका कम्युनिष्ट शासक स्टालिनले पार्टीभित्र आफूसँग असहमति जनाउने चौरान्नब्बे हजार नेता-कार्यकर्ताको हत्या गराएको तथ्य इतिहासमा पढ्न पाइन्छ । कम्बोडियाका पोलपोट, उत्तर कोरियाका किम ‘राजबङ्श’ र क्युबाका फिडेल क्यास्त्रोका करतुतहरू विश्व इतिहासको दुर्दान्त घटनाका रूपमा अङ्कित छन् । जुन देशको राजनीतिमा कम्युनिष्ट बामपन्थीहरूको बलियो उपस्थिति रहन्छ, त्यस्तो देशमा शान्ति, स्वतन्त्रता, स्थायित्व, एकता, मेलमिलाप, अनुशासन र समृद्धिको कल्पना गर्न सकिँदैन । शान्ति, स्थायित्व र समृद्धि प्राप्त हुन देशमा राष्ट्रिय एकता सबल हुनुपर्ने हुन्छ, तर वामपन्थी कम्युनिष्ट बलियो भएको मुलुकमा प्राकृतिक चरित्रको राष्ट्रिय एकता असम्भवप्रायः मानिन्छ । आफ्नै देशवासीलाइ शत्रु थापेर गरिने राजनीतिको अन्त्य नहुँदासम्म देश समृद्ध बन्ने आशा राख्नु ब्यर्थ हुनेछ, जय मातृभूमि !!