नेपाली सेनाले अन्तर्राष्ट्रिय जगतमा देश र सेना दुवैको साख बढाएको छ : रक्षमन्त्री उप्रेती

नेपाली सेनाले अन्तर्राष्ट्रिय जगतमा देश र सेना दुवैको साख बढाएको छ : रक्षमन्त्री उप्रेती


नेपाली सेनाले विश्व शान्ति स्थापनार्थ गरिरहेका कार्यहरुले अन्तर्राष्ट्रिय जगतमा नेपाल र नेपाली सेना दुवैको साख बढाएको साथै सैन्य कूटनीति प्रवर्ध्दन एवम् अन्तर्राष्ट्रिय सम्बन्ध विस्तारमा समेत सकारात्मक प्रभाव परेको रक्षामन्त्री हरिप्रसाद उप्रेतीले बताएका छन् ।

उनले संविधानले दिएको जिम्मेवारी तथा नेपाल सरकारबाट विधिसम्मत ढङ्गले प्राप्त विकास निर्माणलगायत विविध जिम्मेवारी समयमानै पूरा गर्न नेपाली सेना सदैव कटिवद्ध रहेको बताए । उनले भने, ‘सेनाले जिम्मेवारीहरू पूरा गर्ने क्रममा आई पर्ने चुनौतीहरूलाई नियमसम्मत रूपमा रक्षा मन्त्रालयबाट सम्बोधन हुँदै आइरहेको र सोको प्रभावकारी निरन्तरता हुनेमा विश्वस्त रहेको छु ।’

‘संयुक्त राष्ट्रसंघसँगको सहकार्यलाई थप मजबुत र बृहत् बनाउन राष्ट्रिय रूपमै एकीकृत नीति÷रणनीति अख्तियार गर्न आवश्यक रहेको छ, बाह्य तथा आन्तरिक सुरक्षा प्रणालीलाई सुदृढ बनाई राष्ट्रको आधारभूत मूल्यमान्यताको रक्षा एवम् जनताको विकास र समृध्दिको अभिलाषालाई पूरा गर्नसमेत नेपाली सेनाको समयानुकूल आधुनिकीकरण गर्दै लैजान आवश्यक रहेको छ’- रक्षामन्त्री उप्रेतीले भने ।

रक्षा मन्त्री उप्रेतीले नेपाली सेनाको मुख्यालयको भ्रमण गर्दै सोमबार उक्त कुरा बताएका हुन् । रक्षामन्त्रीमा नियुक्त भएपछि उनले सैनिक मुख्यालय पुगेर नेपाली सेनाको बारेमा औपचारिक जानकारी लिएका छन् । रक्षामन्त्री उप्रेतीसमक्ष नेपाली सेनाको सङ्गठनात्मक स्वरूप, तैनाथी, स्वदेश र अन्तर्राष्ट्रिय क्षेत्रमा नेपाली सेनाले सञ्चालन गरिरहेका विविध गतिविधिहरूका बारे जानकारी गराइएको थियो ।

रक्षामन्त्री उप्रेतीले राष्ट्रिय स्वतन्त्रता, सार्वभौमिकता, भौगोलिक अखण्डता, स्वाधीनता तथा राष्ट्रिय एकताको रक्षार्थ नेपाली सेनाले निर्वाह गर्दै आएको अहम् भूमिकाको साथै विकास निर्माण, विपद् व्यवस्थापन, नागरिक सहयोग, खेलकुद एवम् विश्व शान्ति स्थापना मार्फत अन्तर्राष्ट्रिय क्षेत्रमा नेपालको पहिचान स्थापित गराउन नेपाली सेनाले निर्वाह गरेका विविध गतिविधि एवम् पहलता सम्बन्धी विस्तृत जानकारीका लागि धन्यवाद दिए ।